२०८१ माघ २ बुधबार

सिंगो देशले जित्दा मात्र साझा जीत हुन्छ : सांसद् शर्मा

बाहुनडाँगी । संघीय सांसद विश्वप्रकाश शर्माले दल वा व्यक्ति विशेषले मात्रै चुनाव जित्दैमा सबैथोकमा जीत हासिल नहुने बताएका छन् ।

मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा आयोजित ऐतिहासिक मेचीनगर तरुल उत्सवको समापन सत्रलाई सोमवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“सिंगो देशले जितेको दिन मात्र साझा जीत हुनेछ” कार्यक्रमका प्रमुख अतिथि शर्माले भने, देशले जित्ने लक्ष्यका साथ संसद्मा पनि यही बोल्छु ।”

नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका उनले उत्सवलाई मनोरञ्जन मात्र नभई सामाजिक रुपान्तरणका लागि सबैले नवीन चिन्तन गर्ने मञ्चका रुपमा लिनुपर्ने धारणा राखे ।

“जे सकिन्छ त्यो इमान्दारीपूर्वक गर्ने हो, जुन पार्टीको भए पनि हामीले सर्वोपरि हितका लागि साझा संकल्प लिनुपर्छ” उनले भने, “तपाईंले विश्वास गरी जिताएको जनप्रतिनिधि हुनुका नाताले म यही भन्छु र गर्छु पनि ।”

उत्सवअन्तर्गत पर्या–पर्यटन, जैविक विविधता तथा हात्तीमैत्री पर्यटन प्रवद्र्धनका लागि सरोकारवाला पक्षसँग अन्तक्र्रिया भएको थियो ।

अन्तक्र्रियाका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य शर्माले हात्तीबाट जोगिन बाहुनडाँगीवासीहरुले हरेक प्रयत्न गर्नुपरेको चर्चा गर्दै मानव–हात्ती सह अस्तित्व कायम गर्दै बाँच्न आवश्यक प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने विचार राखे ।

त्यस्तै, उज्यालो नेपाल बर्दियाका प्रमुख रमेश थापाले हात्तीमा आधारित पर्या–पर्यटनलाई प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औंल्याए ।

बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व डीनसमेत रहेका उनले बर्दियामा हात्तीलगायत वन्यजन्तुमा आधारित पर्या–पर्यटनबाट पीडित पक्षको जीवनस्तर फेरिएको उदाहरण प्रस्तुत गरे । सो अवसरमा हात्तीमैत्री पर्यटनका सम्भावना र चुनौतिबारे वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो ।

अन्र्तक्रिया पर्यटन कार्यालय काँकरभिट्टाको आयोजना तथा मेचीनगर–४ नम्बर वडा कार्यालय र हात्तीमैत्री सामुदायिक होमस्टे मेचीनगर–४ को सहकार्यमा भएको थियो ।

आयोजक कार्यालयका प्रमुख प्रभात भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन कार्यालयका सूचना अधिकारी निरोज कट्टेलले गरेका थिए ।

त्यसक्रममा लोकप्रिय हास्यकलाकार राजा राजेन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, बाबुराम भट्टराई, माधवकुमार नेपाल, पूर्वराजा ज्ञानेन्द्र शाहलगायतको क्यारिकेचर गरी दर्शक हँसाएका थिए ।

उनले नेपाली राजनीतिलगायत विभिन्न क्षेत्रका विद्यमान विकृतिविसंगतिबारे तिखो व्यंग्य गर्दै दर्शकलाई मनोरञ्जन दिलाएका थिए । यसैबीच, उत्सवको सहआयोजक रहेको बाहुनडाँगी जेसीजले तीनवटा छुट्टाछुट्टै कार्यक्रम गरेको छ ।

उत्सवको दोस्रो तथा अन्तिम दिन सोमबार रक्तदान, चित्रकला तथा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको सहआयोजक जेसीजका अध्यक्ष देबु बानियाँले बताए ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा १० महिलासहित ३३ जनाले सहभागिता जनाएका थिए । अध्यक्ष बानियाँका अनुसार अस्पतालमा हुनसक्ने रगत अभावलाई पूर्ति गर्न टेवा पुर्याउने हेतुले रगत संकलन गरिएको हो ।

त्यस्तै, चित्रकलाको निर्माण, प्रदर्शनी तथा विक्रीवितरण गरिएको उनले जानकारी दिए । चित्रकार अर्जुन बस्नेतसहित विभिन्न विद्यालयका २५ जना विद्यार्थीहरुको समूहले चित्र कोरेको थियो ।

आगन्तुकको तत्काल चित्र निर्माण गरी तस्वीर बिक्री गरिएको थियो । सो अवसरमा अतिथि, उत्सवमा सहभागी स्थानीय, जीवजन्तुलगायतको चित्र तयार गरिएको थियो । सोही उक्त जेसीजले काँकरभिट्टा आँखा अस्पतालसँगको सहकार्यमा आँखा शिविर सम्पन्न गरेको छ ।

शिविरमा १ सय ८० जनाले आँखा जँचाएका अप्ट्रोमेटृस रोजल थापाले जानकारी दिए । त्यसमध्ये १७ जनाको शल्यक्रिया गर्नुपर्ने, ११ जनामा मोतियाविन्दु र ६ जनामा मासु पलाएको समस्या देखिएको प्राविधिक थापाले बताए । यसैगरी, ३७ जनामा चश्मा प्रयोग गर्न सुझाव दिइएको थियो ।

सो अवसरमा नेपाल तथा भारतका विभिन्न सांस्कृतिक टोलीले जातीय तथा सांस्कृतिक पहिचान उजागर गर्ने लोक नृत्य प्रस्तुत गरेका थिए ।

२०८० माघ १, सोमबार प्रकाशित 0 Minutes 188 Views

ताजा समाचार