पुस १० गते सिन्धुलीको कमलामाई नगरपालिका-४ की शारदा थापामाथि लेनदेनको विषयमा बिजुली पोलमा बाँधेर बेहोस हुनेगरी कुटपिट भयो।
निर्घात कुटिएकी शारदालाई सिन्धुली प्रहरीले उद्धार गरी उनका श्रीमानसहित सात जनालाई नियन्त्रणमा लियो। श्रीमानबाट घरेलु हिंसा भएपछि उनले सम्बन्ध बिच्छेदको प्रक्रिया अगाडि बढाएकी थिइन्।
सम्बन्ध बिच्छेदको प्रक्रिया अगाडि बढाएको थाहा पाएर शारदालाई उनका श्रीमानले बिजुलीको पोलमा बाँधेर निर्घात कुटेका थिए। घटनामा संलग्नहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ।
केही दिनअघि म्याग्दीमै २८ वर्षीया रेखा घर्ती श्रीमानबाट मारिइन्। उनका श्रीमानले जुत्ताको तुनाले घाँटी कसेर रेखाको हत्या गरेका थिए।
मधेसमा महिला हिंसाको अवस्था अझै कहालीलाग्दो छ। त्यहाँ शिक्षित भनिएकाहरूबाट महिलाहरू प्रताडित हुने गरेको विभिन्न घटनाहरूले पुष्टि गर्छ।
गत वर्ष महोत्तरीमा एक जना डाक्टरले दाइजोको निहुँमा आफ्नी श्रीमतीमाथि निर्घात कुटपिट गरी घरबाटै निकालिदिएको विषय देशव्यापी बनेको थियो।
आफू हिंसामा परेको महसुस गरेर केही महिलाहरू प्रशासन गुहार्न जान्छन् तर समयमै न्याय नदिएर प्रशासनले उनीहरूको पीडामा नुनचुक थप्छ।
जनकपुरकी एक महिलाको मुद्दा ६/७ महिनादेखि जिल्ला अदालतमा विचाराधीन छ। दाइजो नल्याएको भन्दै श्रीमान र सासूबाट दिनदिनै कुटिन परेपछि गत जेठमा प्रहरी उजुरी दिएकी थिइन्। प्रहरीले ज्यान मार्ने उद्योगमा अनुसन्धान गरी सरकारी वकिलमार्फत् अदालतमा मुद्दा दर्ता गरे पनि अहिलेसम्म पेसी तोकिएको छैन।
यी सबै प्रतिनिधि घटना हुन्। पछिल्लो समय महिलामाथि हुने हिंसा भयानक बन्दै गएको महिला अधिकारकर्मी तथा अनुसन्धानकर्ता रिता शाह बताउँछिन्।
‘जातीय आधारमा महिलामाथि हुने हिंसा अझै डरलाग्दो छ,’ उनले भनिन्।
यस्ता घटनामध्ये ४० प्रतिशत पनि प्रहरीमा नपुग्ने उनी बताउँछिन्।
केही महिलाहरू हिम्मत गरेर न्याय खोज्न सम्बन्धित निकायमा पुगे पनि लामो कानुनी प्रक्रियाका झन्झट ब्यहोर्नुपर्ने, त्यसबीचमा उनीहरूले समाजबाट कयौं आरोप खेप्नुपर्ने र बहिस्कारसम्म हुनुपरेको राष्ट्रिय महिला आयोगकी प्रवक्ता कृष्णकुमारी पौडेल बताउँछिन्।
‘सहनै नसकेपछि अन्तिम अवस्थामा मात्र पीडित प्रहरी वा आयोग आउँछन्,’ उनले भनिन्। पौडेलका अनुसार आयोगमा आउने महिलाहरू आफैंमाथि भएको घटना पनि साथीमाथि भएको भनी ढाँटेर परामर्श लिन्छन्।
आयोगमा आइपुगेका महिलालाई उनीहरूमाथि भएका हिंसा र घटनाबारे बुझेर मेलमिलाप र कानुनी लडाइँका लागि सहकार्य र समन्वय गरिदिने उनले जानकारी दिइन्।
उनका अनुसार सिन्धुलीमा महिलामाथि त्यसरी निर्घात कुटपिट हुनु महिला कमजोर हुन्छन् भन्ने मानसिकताले हो। उनी महिला कमजोर हुन्छन्। कानुनी लडाइँ लड्न सक्दैनन् भन्ने सामाजिक संरचना भत्काउन नसकेकाले पनि यस्ता घटना बढ्दै गएको छ। तर आयोगमा थौरै संख्यामा मात्र पीडित आउने गरेको उनी बताउँछिन्।
आयोगको तथ्यांक अनुसार, चार वर्षयता महिला हिंसाका ६७६ उजुरी आएका छन्। तीमध्ये आर्थिक वर्ष ०७६/७७ मा १४०, आर्थिक वर्ष ०७७/०७८ मा २२०, आर्थिक वर्ष ०७८/७९ मा १४६ र ०७९/ ८० मा १७० उजुरी दर्ता भएका छन्।
समाजमा हुने हिंसाका केही प्रतिशतमात्र आयोगमा दर्ता हुन आउँछन्। त्यसकारण संख्यालाई हेरेर हिंसा घटेको वा बढेको भन्न नमिल्ने उनी बताउँछिन्।
‘चार/पाँच वर्षअघि महिनामा दुई सयदेखि तीन सयसम्म उजुरी दर्ता हुन्थे। तर, दुई वर्षयता भने दुईसय भन्दा कम घटना दर्ता भएका छन्।
आयोगमा गुनासो लिएर आउने र बुझ्न आउने संख्या धेरै भए पनि उजुरी नै दिने त कम देखिन्छ,’ प्रवक्ता पौडेलले भनिन्।
आयोगमा कुटपिट, जबरजस्तीकरणी, सम्बन्ध बिच्छेद, यौनहिंसा लगायतका उजुरी आउँछन्। उनीहरूलाई घटनाबारे जानकारी गराउन वा सोधपुछ गर्न आयोगले हटलाइन नम्बर पनि राखेको छ।
हिंसामा परेका महिलाका गुनासो सुन्नका लागि २०७४ देखि आयोगले ११४५ हटलाइन नम्बर समेत सञ्चालनमा ल्याएको छ। हिंसामा परेका महिलाले फोनमार्फत् पनि आफूमाथि भएको हिंसाको घटना सुनाउन र उनीहरूलाई फोनमार्फत् पनि समन्वय गर्न सकियोस् भनेर हटलाइन नम्बर राखिएको बताइन्।
‘हटलाइनमा दैनिक ३०/४० जनाको फोन आउँछ,’ उनले भनिन्, ‘फोन आएकामध्ये ५/१० प्रतिशत मात्र उजुरी दिन कार्यालयमै आउँछन्।’
उनका अनुसार हटलाइनमा आएको गुनासो नोट गरेसँगै नेपाल प्रहरीसँग समन्वय हुन्छ। आवश्यक परे प्रहरीलाई घटनास्थलमा पुग्नसमेत लगाइने गरिन्छ।
प्रहरीले संकलन गरेको तथ्यांक भने उकालो लाग्दै गरेको देखिन्छ।
चार वर्षयता महिला र बालबालिकासम्बन्धी हिंसा ७७ हजार ७१ दर्ता भएका छन्। प्रहरी प्रधान कार्यालयले संकलन गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६ देखि ०८० सम्म ७७ हजार ८१ महिला हिंसाका उजुरी दर्ता भएका हुन्।
आर्थिक वर्ष ०७६/७७ मा १५ हजार ७५६, ०७७/०७८ मा १८ हजार ९६१, ०७८/ ७९ मा २१ हजार ४५१ र ०७९/८० मा २० हजार ९१३ महिला हिंसाका उजुरी दर्ता भएको प्रहरीको तथ्यांक छ।
प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले महिलामाथि हुने घरेलु हिंसा (कुटपिट,गालीबेइज्जती) जघन्य अपराध, कर्तव्य ज्यान, बलात्कारका घटना बढ्दो क्रममा देखिन्छ।
उनका अनुसार यसरी घटना बढ्नुमा दुई कारण छ। समाजमा जनचेतना बढ्नु र स्थानीय तहमा प्रहरीको पहुँच पुग्नु हो।
‘हिजोका दिनमा आफूमाथि भएका हिंसाबारे कहाँ उजुरी गर्ने?, हिंसा भएको हो कि होइन भन्नेसमेत थाहा पाउँदैन थिए। अहिले त्यो अवस्था छैन,’ उनले भने।
आफूमाथि भएका घटनाबारे बोल्न सामाजिक सञ्जालले पनि सहयोग पुर्याएको प्रवक्ता कडायत बताउँछन्।
‘सामाजिक जनचेतनाकै कारण महिला हिंसाका घटना प्रहरी समक्ष आइपुगेका हुन,’ उनले भने, ‘घटना बढेका भन्दापनि हिजो समाजमा लुकेर बसेका केस बाहिर आएका हो।’
उनी प्रत्येक महिलाले आफूमाथि भएको हिंसाबारे आवाज उठाउन सके विस्तारै कम हुँदै जाने बताउँछन्। महिला हिंसा रोक्नका लागि आवश्यक कानुनी प्रावधान छ।
महिलाहरूले आवाज उठाए अझै त्यसलाई परिमार्जन वा परिवर्तन नै हुनसक्ने अवस्था छ। त्यसैले आफूमाथि हुने अपराध वा हिंसाबारे महिलालाई बोल्न प्रहरीले आग्रह गर्दै आएको उनी बताउँछन्। सेतोपाटी