
विराटनगर : राष्ट्रियसभा निर्वाचनमा कांग्रेसबाट सम्भावित उम्मेदवारको नाम कोशी प्रदेश समितिले सिफारिस गरेको छ।
प्रदेश समितिका सभापति उद्धव थापाको सभापतित्वमा बसेको बैठकले जिल्लागत रूपमा आएका सिफारिसलाई आधार बनाई केन्द्रीय समितिमा नाम सिफारिस गरेको हो।

कांग्रेस कोशी प्रदेश समितिको सूचना तथा सञ्चार समितिका संयोजक वासु कोइरालाले दिएको जानकारीअनुसार सिफारिस हुनेमा संघीय सरकारमा यसअघि मन्त्री रहिसकेका चारजना सिफारिसमा परेका छन्।
पार्टीका पूर्व महामन्त्री तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री महेश आचार्य, डा. मीनेन्द्र रिजाल र सुजाता कोइरालाको नाम सिफारिस भएको छ। यसैगरी पूर्व संघीय सांसद डिला संग्रौला, नेविसंघका पूर्व सभापति गुरुराज घिमिरे, उमेशजंग रायमाझी, आङ्गेलु शेर्पा र रुक्मिणी कोइरालाको पनि नाम सिफारिसमा परेको छ।
सञ्चार समिति संयोजक कोइरालाले भने, ‘तलबाट प्रक्रियागत रूपमा आएका नामहरूको विषयमा छलफल गरी केन्द्रलाई पठाउने निर्णय भएको हो।’ बैठकले प्रदेशस्तरीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको संयोजकमा कांग्रेस कोशी प्रदेश समितिका उपाध्यक्ष रमेशजंग रायमाझी नियुक्त भएका छन्।
बैठकले कांग्रेसको कोसी प्रदेश सम्मेलन विराटनगरमा गर्ने निर्णय गरेको छ। सम्मेलनको मिति तय नभए पनि माघ अन्तिमसम्म गर्ने तयारी रहेको जानकारी दिए।
राष्ट्रियसभामा रिक्त हुने पदपूर्ति गर्ने उद्देश्यले निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ। माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको कार्यतालिकाअनुसार मंसिर २४ गतेदेखि २९ गतेसम्म निर्वाचनमा भाग लिने राजनीतिक दलले दर्ता गरिसकेका छन्।
दलहरूलाई चुनाव चिह्न प्रदान गरी आयोगले पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यतालिका प्रकाशन गरेको छ। माघ ११ गते बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान कार्य गरिने आयोगले यसअघि जनाएको थियो। थाहा खबरबाट