
झापा । भारत अहिले एउटा बलियो गणतन्त्रात्मक विश्व शक्तिको रुपमा स्थापित भइसकेको मुलुक हो । नेपालको सबैभन्दा नजिक र खुल्ला सिमाना भएको भारत विश्वकै सबैभन्दा ठूलो लोकतन्त्रका रुपमा भारतको सफलता संसदीय राजनीतिक स्थायित्वको एक उदाहरण बनेको छ ।
भारतले अपनाएको संसदीय पद्धतिले हाम्रो जस्तो विकासोन्मुख मुलुकलाइ पनि अनेकौं सम्भावनाहरुको खोजी गर्न, विकासको पथमा अघि बढ्न कयौं बाटाहरु देखाइरहेको छ । अनन्तकालदेखि विविध सांस्कृतिक चेतनाको अद्भुत श्रोतको रुपमा रहेको छ । भारतले यो तमाम सांस्कृतिक परम्पराहरुलाई सम्मान र निरन्तरता दिँदै आइरहेको छ ।
विकासको कुरा गर्ने हो भने भारतले प्रविधिको विकासमा लामो फड्को मारेर समुन्द्रदेखि अन्तरिक्षसम्मको नेतृत्व गर्न सकिरहेको छ । एउटा शक्तिशाली आधार स्तम्भको रुपमा उभिएर भारतले आफुलाई त्यसै अनुरुप प्रस्तुत गर्दै आइरहेको छ । भारतले नेपाललाई गरेको सहयोग साथै सामाजिक, आर्थिक तथा सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन चालेका कदमहरुले नेपाललाई प्रभावकारी रुपमा अगाडि बढ्न मदत गरिरहेको विश्लेषण हुने गरेको छ । भारत नेपाल लगायत दक्षिण एसियाली मुलुकहरू सँगसँगै मिलेर काम गर्नुपर्ने पक्षमा रहँदै आइरहेको छ ।

त्यही अनुरुप नै भारतले छिमेकी राष्ट्रसँगको सहकार्यमा जोड दिँदै आइरहेको छ । लामो समयदेखि साझा सपना र सफलताको आकांक्षासहित सम्बन्ध स्थापित गरेको नेपाल–भारत सम्बन्ध सौहार्दपूर्ण गतिमा छ, जुन नेपालका लागि हित अनुकुल छ । सदियौँ बर्षदेखि नै नेपाल–भारत सम्बन्धको महत्व निरन्तर बढ्दो छ । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी र एक विकास साझेदार राष्ट्र हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, साँस्कृतिक तथा आर्थिक सम्बन्धहरु नेपालका लागि महत्वपूर्ण रहँदै आएका छन् ।
यो परम्परा अक्षुष्ण रहँदै अहिले झन् व्यापक र बलियो बन्दै गइरहेको छ । यही परम्परालाई चीरकालसम्म अझ विस्तार विकास गर्दै लानु र सम्बाद संस्कृतिको निरन्तरतालाई अझ बलियो बनाउँदै लैजानु दुवै मुलुकको अपरिहार्यता बनेको छ । भारतीय प्रधानमन्त्रीले गरेका नेपाल भ्रमण र ती अवसरमा ब्यक्त गरेका नेपाल सँगको सम्बन्ध बारेका विचारहरुले दुबै मुलुकको घनिष्ठतालाई थप उचाइमा पुर्याउन मद्दत पुगेको छ । द्विपक्षीय सहयोग अन्तर्गत शैक्षिक पूर्वाधार, अस्पताल, विमानस्थल, सडक सञ्जाल, रेलवे, बिजुली प्रशारण, उर्जा विकाससहित आधुनिकीकरणका सबै क्षेत्रमा उल्लेख्य उपलब्धी हासिल भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन राजमार्ग, पूर्व पश्चिम राजमार्ग, हुलाकी सडक, कोशी ब्यारेज, कर्णाली पुल, जनकपुर–जयनगर रेल, एकीकृत भन्सार चौकी, नेपाल–भारत पेट्रोलियम पाइप लाइन, नेपाल–भारत विद्युत प्रसारण लाइन, अरुण तेस्रो परियोजना, ट्रमा सेन्टर, जयनगर–कुर्थ रेल आयोजना आदि नेपालको विकासमा भारतले लगानी गरेका केही उल्लेखनीय परियोजना हुन् ।
विद्यालय तथा अस्पताल भवन, खानेपानी प्लान्ट, लघु उर्जा परियोजना जस्ता सामुदायिक विकास परियोजना अन्तर्गत नेपालमा अहिलेसम्म भारतको आर्थिक सहयोगमा ४६४ वटा पूर्वाधारको निर्माण सम्पन्न भइसकेको छ भने ६८ वटा आयोजनाहरु निर्माणाधीन छन् । छिमेकी देशको नीति अनुसार भारतले नेपाललाई सधैँ प्राथमिकतामा राखेको छ, चाहे त्यो विकास परियोजनामा होस् या प्राकृतिक विपत्तिको बेला होस् भारत नेपाललाई सहयोग गर्न सबैभन्दा अगाडि नै रहेको छ ।
नेपाल र भारत बीचको सम्बन्ध नेपालले भारतलाई के दियो बदलामा भारतले नेपाललाई के दियो भन्ने प्रश्नका आधारमा मूल्यांकन गरिने सम्बन्ध होइन । नेपाल र भारतको सम्बन्ध सदियौंदेखिको परम्परामा र भाइचारामा निरन्तर चलिरहेको छ । नेपालले जे जति उपलब्धी हासिल गरेको छ, त्यसको लागि भारतको सदा सहायता र सुभेक्षा सबै कुरामा रहँदै आएको छ । यसैको बलमा नेपालले थप प्रगति र विकासलाई निरन्तरता दिन जरुरी छ । भारतसँगको भाइचारा सम्बन्धलाई थप बलियो बनाउँदै लैजानु नेपालको विकासको हितमा छ ।