२०८२ असार १० मंगलवार

विद्युतीय सवारी : आकर्षण बढ्दो, चालक अन्योल

अशाेक अधिकारी

चालकले मेकानिकल पार्टबारे बुझ्नु पर्छ । गियरवाला गाडी चलाएका चालकलाई नै विद्युतीय सवारीसाधन चलाउन दिइएको छ । विद्युतीय सवारीसाधन बढी शक्तियुक्त हुन्छन् । त्यसैले अनुभव र प्राविधिक ज्ञानको कमीले दुर्घटना भएको हो ।
काठमाडौँ, असार १० गते । विद्युतीय सवारीसाधनप्रति आकर्षण बढ्दो छ । पेट्रोलियम पदार्थबाट चल्ने निजी तथा सार्वजनिक सवारीसाधनलाई क्रमशः विद्युतीय सवारीसाधनले विस्थापन गर्दै छन् तर दक्ष र प्राविधिक ज्ञान नहुँदा विद्युतीय सवारीसाधन दुर्घटना भइरहेका छन् ।

चितवनको राप्ती नगरपालिका–४ मा असार ७ गते धनगढीबाट काँकरभिट्टा जान छुटेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको बस र मकवानपुरको हेटौँडाबाट नारायणगढका लागि छुटेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको विद्युतीय माइक्रोबस आपसमा ठोक्किएर दुर्घटना हुँदा सात जनाले ज्यान गुमाए । २४ जना घाइते भए ।

यो घटनाअघि पनि विद्युतीय सवारीसाधन दुर्घटना भइरहेका थिए तर चितवनको दुर्घटनापछि विद्युतीय सवारीसाधनबारे सामाजिक सन्जालमा टीकाटिप्पणी भएका छन् । सडक सुरक्षाविज्ञ एवं इन्जिनियर आशीष गजुरेलले विद्युतीय सवारीसाधनमा खराबी भएर दुर्घटना भएको भन्ने तर्क सत्य नभएको बताउनुभयो । उहाँका अनुसार पेट्रोल र डिजेलका गाडी कुदाइरहेका चालकलाई प्रशिक्षण नदिई स्टेरिङ दिँदाको परिणाम हो यो ।

उहाँले भन्नुभयो, “चालकले मेकानिकल पार्टबारे बुझ्नु पर्छ । बोलेरो, स्कोर्पियोसहितका गियरवाला गाडी चलाएका चालकलाई नै विद्युतीय सवारीसाधन चलाउन दिइएको छ । विद्युतीय गाडीमा ब्रेक र एक्सिलेटर मात्रै हुन्छ । विद्युतीय सवारीसाधन बढी शक्तियुक्त हुन्छन् । त्यसैले अनुभव र प्राविधिक ज्ञानको कमीले दुर्घटना भएको हो ।”

सडक सुरक्षाविज्ञ गजुरेलले मेकानिकल पक्ष थाहा नभएका चालकमा विद्युतीय गाडी चलाउने सामथ्र्य नहुने बताउनुभयो । उहाँले सडकमा लापर्बाहीपूर्ण तरिकाले चलाउने प्रवृत्तिका कारण पनि दुर्घटना भएको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “विद्युतीय सवारीसाधन द्रुत हुन्छन् । क्षमता पनि बढी हुन्छ । तीव्र जान्छ । नयाँ गाडी हुन् सबै । त्यसैले जनशक्ति दक्ष बनाउनु पर्छ । चालकलाई तालिम दिनु पर्छ । विद्युतीय सवारीसाधनको मेकानिकल पार्टबारे जानकारी दिनु पर्छ । गति नियन्त्रणबारे र यसको क्षमताबारे कक्षा दिएर मात्रै चालकलाई स्टेयरिङमा बसाउनु पर्छ ।”

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले पेट्रोल र डिजेलका सवारीसाधनसँगै विद्युतीय सवारीसाधन पनि दुर्घटनामा परेका छन् । उहाँले भन्नुभयो, “तर विद्युतीय सवारीसाधन मात्रै दुर्घटनामा परे भन्ने होइन । अरू पेट्रोलियम सवारीसाधन पनि दुर्घटनामा परेका छन् । समग्रमा दुर्घटना कसरी भइरहेका छन् भन्ने कुराको अध्ययन चाहिँ गर्नुपर्ने देखिन्छ ।”

कति भित्रिए विद्युतीय सवारी ?

आर्थिक वर्ष २०८१/८२ को १० महिनाको तथ्याङ्क अनुसार नेपालमा नौ हजार ८५९ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन् ।

भन्सार विभागका निर्देशक एवं सूचना अधिकारी किशोर बर्तौलाले ५० किलोवाटसम्मका नौ वटा, ५० किलोवाटसम्मका कार, जिप र भ्यान तीन हजार ३६९ वटा, ५० देखि १०० किलोवाटसम्मका कार र जिप पाँच हजार ५३४ वटा विद्युतीय सवारीसाधन भित्रिएको बताउनुभयो । उहाँका अनुसार १०१ देखि २०० सम्मका ९२७ वटा, २०१ देखि ३०० सम्मका १८ वटा र ३०० किलोवाटभन्दा माथिका दुई वटा सवारीसाधन भित्रिएका छन् ।

चार्जिङ स्टेसनको अभाव

नेपाल विद्युत् प्राधिकरणको तथ्याङ्क अनुसार नेपालमा अहिले ६२ वटा सार्वजनिक चार्जिङ स्टेसन रहेका छन् । प्राधिकरणका निर्देशक एवं प्रवक्ता राजन ढकालका अनुसार अरू चार्जिङ स्टेसन निर्माणाधीन छन् । सार्वजनिक यातायात सेवाप्रदायक साझा यातायातका अध्यक्ष सुशीलराज प्याकुरेलका अनुसार साझाले ४० वटा विद्युतीय बस सञ्चालन गरिरहेको छ । उहाँले भन्नुभयो, “डिजेल बस ७१ वटा छन् । ४० वटा विद्युतीय बसका लागि नेपाल विद्युत् प्राधिकरण र साझा यातायातकै गरी १३ वटा चार्जिङ स्टेसन छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा सय वटा विद्युतीय बस थप्ने भनेको छ । चार्जिङ स्टेसन पनि थप्नुपर्ने हुन्छ ।”

उहाँले यातायात व्यवस्था विभागसँगै रहेको ट्रली बसको जग्गा खाली रहेकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग जग्गा उपलब्ध गराउन अनुरोध गरिएको बताउनुभयो । सडक सुरक्षाविज्ञ गजुरेलले पनि विद्युतीय सवारीसाधनमा उपत्यकाबाहिर जाँदा चार्जिङ स्टेसन आवश्यक पर्ने भएकाले सरकारी निकायबाटै यो सुविधा उपलब्ध गराउनेतर्फ अग्रसर हुन आग्रह गर्नुभयो ।गोरखापत्र दैनिकमा खबर छ ।

 

२०८२ असार १०, मंगलवार प्रकाशित 1 Minute 16 Views

ताजा समाचार