बन्धक युवाको उद्धार गरिँदै । तस्बिर सौजन्य : किन इण्डिया
चाँदनी हमाल/गोकर्ण दयाल

काठमाडौँ, असार १० गते । अनलाइन ठगीसहितको सङ्गठित मानव तस्करीमा परेर भारतमा सात सयभन्दा बढी नेपाली नागरिक बन्धक बन्न पुगेका छन् । बन्धक बनाइएका एक नेपाली युवाको कुटपिटबाट मृत्यु भएको छ । भारतको उत्तराखण्डस्थित उद्यमसिंहनगर र रुद्रपुरका विभिन्न स्थानमा सयौँ नेपाली नागरिकलाई बन्धक बनाएर ठगी गरिएको छ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ का २८ वर्षीय सोम लिम्बूको बन्दी अवस्थामा कुटपिटपछि मृत्यु भएको घटना बाहिरिएपछि यो तथ्य सार्वजनिक भएको हो । लिम्बूको मृत्युपछि उनीसँगै रहेका ताप्लेजुङकै अन्य दुई जना युवाले राति भागेर ताप्लेजुङ जिल्ला प्रशासनमा उजुरी हालेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । ताप्लेजुङ प्रशासनमा परेको निवेदन अनुसार करिब सात सय जना नेपाली त्यसरी बन्धक बनाइएका छन् । फसिनेमा पूर्वी नेपालदेखि सुदूरपश्चिम नेपालसम्मका नागरिक रहेको बताइएको छ ।
यसरी फसाइएका थिए
ताप्लेजुङकै २२ वर्षीय भाग्य लिम्बू र २० वर्षीय विजय लिम्बूलाई फेसबुक म्यासेन्जरमा ताप्लेजुङ मिक्वाखोला घर बताउने मन्त्री भान्जा र सुनसरी देउराली घर बताउने समीर राईले भारत रुद्रपुरमा कपडा पसलको हिसाबकिताब गर्दै बिल काट्ने काममा जागिर खुलेको र तलब पनि राम्रो रहेको भन्दै फकाए ।
उनीहरूले म्यासेन्जरमा भने, “नेपालका विभिन्न जिल्लाबाट थुप्रै नेपालीले काम गरिरहेका छन्, यस्तो मौका बारम्बार पाउँदैनौँ, तिमीहरूलाई पनि जागिर खाने भए लगाइदिन सक्छु ।” यस्तो विश्वास दिलाएपछि दुई जना अन्य साथीसहित २०८१ चैत २० गते विजय र भाग्य लिम्बू रुद्रपुर पुगे । तर, त्यहाँ उनीहरूले भनेजस्तो कुनै कम्पनी वा उद्योग थिएन । पुगेलगत्तै कोठामा थुने । भएका रकम लिए र तनाव दिन थाले ।
बारम्बारको कुटपिटपछि सोम लिम्बूको बन्धक अवस्थामै मृत्यु भयो । कुटपिट र यातनाको विरोध गरेपछि उनलाई बढी कुटपिट गरिएको थियो । आफ्नै अघि साथी मारिएको देखेपछि भाग्य र विजयले मर्नुभन्दा बहुलाउनु निको ठाने । र, राति लुकीछिपी जङ्गलको बाटो हुँदै भागे । गाउँ पुगेपछि सोम लिम्बूबारे जानकारी दिँदै शव झिकाउनका लागि प्रशासनमा घटनाको विस्तृत जानकारीसहित उजुरी दिए । जसमा सोही गाउँकै अन्य तीन युवा गौरव फुरुम्बू (१७), वर्ष १८ का सुरज लिम्बू र वर्ष १९ का पूर्ण लिम्बूसहित करिब सात सय जना बन्धक बनाइएका थिए । उनीहरूका परिवारले उद्धारका लागि थप निवेदन दिए । घटनापछि मृतकको शव झिकाउन र बन्धक बनाइएकालाई छुटाउन गृह र परराष्ट्र मन्त्रालयसँग समन्वय थालिएको जानकारी प्रमुख जिल्ला अधिकारी शर्माले दिनुभएको छ ।
उहाँले भन्नुभयो, “जो जहाँबाट पुग्थे उनीहरूलाई गाउँका अरू साथीलाई बोलाउन दबाब दिन्थे, मानव तस्करीको जालै बनाएर उनीहरूले लगेका रकम लुटपाट गरिएको पाइयो ।”
५७ जनाको उद्धार
बन्धक बनाइएका नेपाली नागरिक उद्धारका लागि भारतीय प्रहरी र सामाजिक संस्था आफन्त भारत (केआइएन इन्डिया) को सहयोगमा अभियान सुरु भयो । केआइएन इन्डियाका संयोजक इन्द्रराज भट्टराईका अनुसार उद्धार गर्नु सजिलो छैन ।
घटना थाहा पाएपछि मानव अधिकारवादी संस्थाका रूपमा आफूहरू उद्धारका लागि तयार भएको उहाँले जानकारी दिनुभयो । जसमा पहिलो चरणमा गत शुक्रबार ३५ जना र आइतबार २२ जना गरेर हालसम्म ५७ जनाको उद्धार भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डम्बरबहादुर विश्वकर्माले भने ३२ जनाको उद्धार भएको जानकारी दिनुभएको छ । पछिल्लो २२ जनामा नौ जना १८ वर्षमुनिका नाबालक रहेका छन् ।
पहिलो चराणको उद्धारक्रममा बन्धक बनाउनेमध्ये एक नेपालीसहित दुई भारतीय नागरिकलाई भारतीय प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । भट्टराईले भन्नुभयो, “तस्करले पिरामिड शैलीको अनलाइन स्क्याम सञ्जालै बनाएका छन्, एकलाई बोलाएपछि अर्कोलाई बोलाउँदै जाने र रकम लुट्दै जाने गर्ने गरेका छन् ।” त्यसरी जानेलाई ३० देखि ६० हजार भारतीय रुपियाँ तालिम र आधार कार्डका लागि लिएर आउन भन्ने गरेका थिए । त्यस अनुसार करोडौँको ठगी गरिसकेको अनुमान उहाँले गर्नुभयो । उद्धार गरिएकालाई दिल्ली ल्याएर बयान लिने क्रमसँगै नेपाल फर्काउने प्रक्रिया जारी रहेको भारतस्थित नेपाली दूतवासले जनाएको छ ।गोरखापत्र अनलाइन
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



