कोरोनाले फेरि प्रभावित

कनकाई माइमा लाग्दै आएको मेला यसपाली पनि कोरोना जोखिमले असर गरेको छ । हरेक वर्ष माइमा मेलासहित स्नान गर्ने प्रचलन रही आएको छ । तर, यसपालि स्नान मात्रै गर्न पाइनेछ । भीडभाड हुनसक्ने भएकाले मेला नलगाउन निर्देशन जारी गरेर कडाइ गरिएको छ । मेला भन्ने बित्तिकै मानिसको चहलपहल ह्वात्तै बढ्ने गर्दछ । सुरक्षाको हिसाबले पनि मेला नियन्त्रण गर्न नसक्ने अवस्था विगतमा नभएका होइनन् । त्यसैले जुन निणर्य भएको छ, यो एकदमै सही छ ।

हिन्दु धर्म अनुसार माघ १ गते स्नान गर्नु राम्रो मानिन्छ । शरीरमा भएको लुतो र अन्य चिलाउने रोगहरु पखालिने जनविश्वास रही आएको छ । स्वास्थ्यको दृष्टिले पनि स्नान गर्नु फाइदाजनक मानिन्छ । त्यसैले पनि हिन्दु धर्मावलम्बीहरु मेला भर्न आउने गर्दछन् । कनकाई माइमा मेला भर्न लाखौँ धर्मावलम्बीको घुइँचो लाग्ने गर्दछ । यस हिसाबले पनि कनकाई माइमा भीड बढ्ने नै भयो । तर, धर्मका नाममा मेला भर्नु यो समय ठीक होइन । तसर्थ, धार्मिक विश्वासलाई आत्मसाथ गर्दै नजिकैको खोला तथा तलाउमा स्नान गरेर पूण्य कमाउन पनि सकिन्छ ।

कोरोनाले सबै क्षेत्र प्रभावित बनेका छन् । आर्थिक क्षेत्र चलायमान अझै बन्न सकेको छैन । पर्व मनाउनु नेपालीको लागि बाध्यता नै बनेको अवस्था छ । तर, यसलाई कसरी मनाउने भन्ने विषयमा नेपालीले सोच्न जरुरी छ । आफ्नो आर्थिक क्षमता अनुसार मनाउनु पर्छ । साथै, कोरोनाको विषम परिस्थितिलाई मध्यनजर गर्दै स्वास्थ्य सावधानी अपनाउनुको विकल्प छैन । तबमात्रै ‘स्वस्थ जीवन, स्वस्थ संस्कृति’ बन्न सक्छ ।