५८ वर्षमा १८६००१ लाइसेन्स जारी

पुष्प खड्का

झापा । मेची अञ्चलबाट १ लाख ८६ हजार एक वटा सवारी चालक अनुमति पत्र (लाइसेन्स) जारी भएको छ । गत ५८ बर्षको अवधिमा उक्त संख्यामा लाइसेन्स जारी भएको हो ।

अञ्चल प्रहरी कार्यालयबाट २०२० सालदेखि २०६० साल फागुन २ गतेसम्म १५ हजार १९४ वटा लाइसेन्स जारी भएका थिए । २०६० साल फागुन ३ गतेबाट सवारी चालक अनुमति पत्र जारी गर्ने अधिकार यातायात व्यवस्था कार्यालयले पाएको थियो । सो समयदेखि २०६८ साल जेठ २६ गतेसम्म ६८ हजार ८३१ वटा लाइसेन्स जारी भएको यातायात व्यवस्था कार्यालय झापाको अभिलेखमा उल्लेख छ ।

ड्राइभिङ लाइसेन्स दर्ता प्रणालीलाई २०६८ जेठ २७ गतेबाट सफ्टवेयरमा राख्न सुरु भएदेखि २०७४ साउन २६ गतेसम्म ४५ हजार ८६९ वटा लाइसेन्स जारी भएको यातायात व्यवस्था कार्यालय मेचीका निमित्त कार्यालय प्रमुख हरिप्रसाद लामिछानेले जानकारी दिए ।

२०७४ साल माघ १७ गतेदेखि इडीएलआरएस सफ्टवेयरमा स्मार्ट लाइसेन्स दर्ता शुरु भएदेखि यही पुस १८ गतेसम्म यातायात व्यवस्था कार्यालय झापा बिर्तामोडबाट ४३ हजार ७२७ वटा नयाँ र ११ हजार ९९२ वटा वर्ग थप गरी ५५ हजार ७१९ वटा लाइसेन्स जारी गरिएको लामिछानेले बताए ।

कोरोना कहरकैबीच गएको आर्थिक बर्षमा मात्र कार्यालयले ५ हजार १९२ वटा नयाँ र १ हजार ४७६ वटा लाइसेन्समा वर्ग थप गरेको थियो । सो बापत ९३ लाख ७० हजार ५ सय रुपैँया राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

लामिछानेका अनुसार कार्यालयबाट चालु आर्थिक बर्षको पुस १८ गतेसम्ममा ४ हजार ३५६ जनाले प्रयोगात्मक परीक्षा (ट्रायल) उत्तीणर् गरेको र १ हजार ३८४ जनाले वर्ग थप गरेका छन् ।

यो अवधिमा ‘ए’ क्याटागोरी अन्तर्गत मोटरसाइकल, स्कुटर र मोपेडको २ हजार ३७९ जनाले नयाँ र १३२ जनाले वर्ग थप गरेका छन् । ‘बी’ क्याटागोरी अन्तर्गत कार, जीप र डेलिभरी भ्यानको ८६५ जनाले नयाँ र ८८९ जनाले वर्ग थप गरेका छन् । ‘सी’ क्याटागोरी अन्तर्गत टेम्पो र अटो रिक्साको २०३ जनाले नयाँ र १२४ जनाले वर्ग थप गरेका छन् ।

‘सी-१’ क्याटागोरी अन्तर्गत इलेक्ट्रिक रिक्साको ९ जनाले नयाँ र ५ जनाले वर्ग थप गरेका छन् । ‘इ’ क्याटागोरी अन्तर्गत ट्याक्टरको ९२ जनाले नयाँ र १० जनाले वर्ग थप गरेका छन् । ‘के’ क्याटागोरी अन्तर्गत स्कुटर र मोपेडका लागि ७३३ जनाले नयाँ ट्रायल पास गरेका छन् भने १४ जनाले वर्ग थप गरेका छन् ।

त्यस्तै, ठूला निर्माण उपकरणका साधनको लाइसेन्सका लागि ‘एल-१, एल-३, जे-१ र जे-२’ क्याटागोरी अन्तर्गत क्रेन, फायर व्रिगेड, लोडर, एस्काभेटर, ग्रेडर र व्याकहो लोडरका लागि ७५ जनाले नयाँ र ३० जनाले वर्ग थप गरेका छन् ।

यो तथ्यांकलाई हेर्दा क्याटागोरी ‘ए’ अन्तर्गत मोटरसाइकल, स्कुटर र मोपेडको लाइसेन्स लिनेको संख्या उच्च देखिन्छ । कार्यालयले सो अवधिमा १० हजार ४७९ वटा नवीकरण गरेको छ भने ४४१ वटा प्रतिलिपी जारी गरेको छ । त्यस्तै, नविकरण र प्रतिलिपी ४९२ वटा जारी गरेको छ ।

त्यस्तै, २०७१ साल मंसिरबाट सञ्चालनमा आएको यातायात व्यवस्था सेवा कार्यालय इलामले यही कात्तिक २७ गतेदेखि लाइसेन्सको अनलाइन आवेदन सुरु गरेको थियो । सेवा कार्यालयले सञ्चालन गरेको प्रयोगात्मक परीक्षा (ट्रायल) मा मंसिर मसान्तसम्म ३८८ जनाले उत्तीणर् गरेको कार्यालय प्रमुख छवि खतिवडाले जानकारी दिए । स्मार्ट कार्ड प्राप्त गर्न समय लाग्ने भएकाले ट्रायल उत्तीणर् गरेर राजश्व जम्मा गरेको भौचरलाई ट्राफिकले मान्यता दिँदै आएको छ ।

यातायात व्यवस्था कार्यालय झापाले चालु आवको पुस १८ सम्म नयाँ लाइसेन्सबापत ७२ लाख ७७ हजार र वर्ग थपबापट ७ लाख ७७ हजार रुपैँया राजश्व संकलन गरेको कार्यालय प्रमुख हरिप्रसाद लामिछानेले जानकारी दिए ।

मंसिर मसान्तसम्म कार्यालयले ३१ लाख ९७ हजार ४७ हजार ७१५ रुपैयाँ राजश्व संकलन गरेको छ । कार्यालयले गत आर्थिक बर्षमा ८३ करोड ६२ लाख ६२ हजार ३८० रुपैँया राजश्व संकलन गरेको जनाएको छ ।

चालु आवको पाँच महिनाको अवधिमा ९ हजार ८२२ वटा निजी र २८ वटा सरकारी गरी हालसम्म कार्यालयमा १ लाख ४५ हजार २१८ वटा मोटरसाइकल दर्ता भएका छन् ।

त्यस्तै, हालसम्म साना, ठूला र टेम्पोसमेत गरी २१ हजार ३२ वटा निजी सवारी कार्यालयमा दर्ता भएका छन् । भाडाका साना, ठूला र टेम्पोसमेत गरी १७ हजार ८ सय वटा सवारी दर्ता भएका छन् । सरकारी कार्यालयका साना र ठूला गरी ३०९ वटा र संस्थानका २९ वटा सवारी दर्ता भएका छन् ।