
मकवानपुर- जिल्ला प्रहरी कार्यालय मकवानपुरले पाँच सयका १ सय ८६ थान नक्कली नोटसहित हेटौँडा–८ का रामकृष्ण अधिकारीलाई पक्राउ गरेको छ ।
बिहीबार दिउँसो एक बजेको समयमा हेटौँडा-१५ स्थित प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गमा बर्दिबासबाट हेटौँडातर्फ आउँदै गरेको बा ३३ प ९९८३ नम्बरको मोटरसाईकलमा सवार रामकृष्ण अधिकारीको साथबाट नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

धादिङ जिल्लाको गंगाजमुना गाउँपालिका-२ स्थायी घर भई हाल हेटौँडा-८ बस्ने ४२ वर्षीय अधिकारीलाई नक्कली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
प्रहरीले अधिकारीलाई खानतलासी गर्ने क्रममा निजले बोकेको झोला भित्र लुकाई छिपाई ल्याईएको अवस्थामा नेपाली रु. ५००।– दरको नक्कली नोट १८६ थान (जम्मा रु. ९३,०००।-) फेला पारेको हो ।
उक्त नक्कली नोट बरामद गरी मुद्रा सम्बन्धी कसुर मुद्धामा जिल्ला अदालत हेटौडाबाट ७ दिनको म्याद अनुमति लिई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नयव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।नेपाल टिभी अनलाइनबाट ।