बबई (बर्दिया), वैशाख १४ गते । बर्दियामा बढ्दो विद्युतीकरणसँगै बर्दियाका कृषक नगदे बाली मकै खेतीतर्फ आकर्षित हुन थालेका छन् ।
कुनै समय अन्नको भण्डार भनेर चिनिएको बर्दिया जिल्लामा धान खेती हुने गरेको थियो । पर्याप्त सिँचाइ नभएका कारण हिउँदे खेती नगर्ने कृषक केही वर्षयता बढ्दो विद्युतीकरणसँगै हिउँदे र बसन्ते मकै खेतीतर्फ पनि आकर्षित हुन थालेका हुन् ।

पहिला पहिला दुई सिजन मात्र खेती हुने गरेको बर्दियामा अहिले हिउँदको समयमा मात्र दुई सिजन मकै खेती हुने गरेको छ । खेत खेतमा सिँचाइ सुविधा भएपछि कृषकले मङ्सिर र माघमा दुई पटक मकै खेती गर्ने गरेका छन् । वर्षाको समयमा लगाइने मकैभन्दा हिउँदको समयमा लगाइने मकैको उत्पादन बढी हुने भएपछि कृषकले हिउँदे मकै लगाउन थालेका हुन् ।
गाउँ गाउँमा बिजुली बत्तीको विकाससँगै यतिबेला बर्दियाको खेतबारीमा हरियो मकै देख्न सकिन्छ । बर्दियामा मङ्सिरमा ११० हेक्टर र माघमा चार हजार १७० हेक्टर जमिनमा मकै खेती हुने गरेको छ ।
पहिले धान खेतीमा निर्भर हुने गरेका कृषक खेतबारीमा बिजुली पुगेसँगै मकै उत्पादनमा लागेको गुलरिया नगरपालिका–४ का स्थानीय गोपाल ओलीले बताउनुभयो । गुलरिया नगरपालिका–६ का स्थानीय अनिल पौडलले पर्याप्त पानी भएमा खेतबारीमा मकै उत्पादन राम्रो हुने र एउटै बोटमा पनि तीन/चार वटासम्म घोगा लाग्ने र उत्पादन भएको मकै सजिलै बिक्री पनि हुने भएकाले आफूहरूले हिउँदे मकै खेती गर्न थालेको बताउनुभयो ।
बर्दियामा कात्तिकमा लगाइने मकैलाई हिउँद र माघमा लगाइने मकैलाई बसन्ते मकै भनेर परिभाषित गरिन्छ । कृषकले उत्पादन गरेको मकै बिक्री र सिँचाइमा समेत सहयोग गर्दै आएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख सागर ढकालले बताउनुभयो । बिजुलीकरण र सिँचाइ सुविधाका लागि बर्दियाका स्थानीय तहले समेत काम गर्दै आएका छन् । हिउँदे बालीतर्फ पनि आकर्षित गर्न बढ्दो बिजुलीकरणसँगै कृषकलाई सिँचाइ सुविधाका लागि निःशुल्क मोटर वितरण गरिएको गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले बताउनुभयो ।गोरखापत्र अनलाइन
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



