अमेरिकाविरूद्ध रोहितले बनाए कीर्तिमान

काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरूद्ध अर्धशतक प्रहार गरेका मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेलले एकदिवसीय खेलमा नेपालका लागि बढी अर्धशतक बनाउने कीर्तिमान बनाएका छन् ।

सोमबार राति अमेरिकाविरूद्ध रोहितले नटआउट ६२ रन जोडेका थिए । उनले ८७ बलमा २ चौका र ३ छक्का हिर्काएका थिए । खेलमा नेपालले ५ विकेटको जित हात पारेको थियो ।

अमेरिकाविरुद्ध रोहितले करिअरको तेस्रो अर्धशतक प्रहार गरेका हुन् । नेपालका लागि एकदिवसीय खेलमा बढी अर्धशतक प्रहार गर्ने खेलाडीको सूचीको दोस्रो स्थानमा कप्तान ज्ञानेन्द्र मल्ल छन्। उनले दुई अर्धशतक हिर्काएका छन् ।

नेपालले एकदिवसीय खेलमा अहिलेसम्म १२ अर्धशतक र एक शतक प्रहार गरेको छ ।

रोहितले नेपालका लागि एकदिवसीय खेलमा लगातार दुई अर्धशतक बनाउने कीर्तिमान पनि बनाए । यसअघि रोहितले पपुवा न्युगिनीविरुद्धको खेलमा ८६ रन जोडेका थिए ।

अमेरिकाविरुद्धको खेलमा रोहितले आफ्नो नाममा थप एक कीर्तिमान लेखाउन सफल भए । उनले नेपालका लागि पाँचौ विकेटको सर्वाधिक ठूलो साझेदारी गर्ने क्रममा विनोद भण्डारीसँग मिलेर ८३ रन जोडे ।

रोहित र ज्ञानेन्द्रको नाममा एकदिवसीय खेलमा नेपालका लागि सर्वाधिक रनको साझेदारी गर्ने कीर्तिमान पनि छ । रोहित र ज्ञानेन्द्रले चार दिन अघि पपुवा न्युगिनीविरुद्ध तेस्रो विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए ।