
काठमाडौं । त्रिशूली नदीमा भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला परेको छ ।
आज बिहान एउटा गाडी नदीमा खसेको सूचना पाएपछि परिचालित गोताखोरको टोलीले भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला पारेको हो । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा गाडी खसेको सूचना पाएपछि गोताखोरको टोली परिचालन गरिएको थियो ।

तर कस्तो खालको गाडी हो र कहाँबाट कहाँ जाँदै थियो भन्ने केही खुलेको थिएन । डुंगासहित त्रिशूली नदीमा परिचालन गरिएको गोताखोरको टोलीले भारतीय नम्बर प्लेटेको बोलेरो गाडी फेला पारेको सशस्त्र प्रहरी बलका डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उनले मानिस भने फेला नपरेको बताए । गाडी खोज्न कुरिनटारस्थित सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन तालिम शिक्षालयबाट सात जनाको गोताखोरसहित १० जनाको टोली र १७ नम्बर गण चितवनबाट १३ जनाको टोली परिचालन गरिएको थियो ।
त्रिशूली नदीको पानी मुनि गएका सहायक हबल्दारद्वय डिल्ली भट्टराई र मेखबहादुर गुरुङले बोलेरो गाडी रहेको र मान्छे नभएको पत्ता लगाएका हुन् । उक्त गाडीलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ । अनलाइन खबर