
पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा श्रीमान्ले खुकुरी प्रहार गर्दा श्रीमतीको ज्यान गएको छ ।
तुम्वेवा-४ घर भएका असफल कुरुम्बाङले ससुरालीमा आएर खुकुरी प्रहार गर्दा ३५ वर्षीया श्रीमती गोमा फियाकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सुमित कुश्वाहाले जानकारी दिए । खुकुरी हतियार प्रहार हुँदा छिमेकी महेन्द्र श्रेष्ठ र गोमाकी आमा कान्छीमाया फियाक घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि दमकतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बिहीबार साँझ ८ बजे घरायसी ससुराली घरमा विवाद मिलाउन छलफल भइरहेका बखत कुरुम्बाङले हतियार श्रीमती सासु र छिमेकीलाई हतियार प्रहार गरेका थिए । विवादको विषय भने खुल्न बाँकी छ । कुरुम्बाङ घटनापछि फरार रहेकाले खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
२०७६ जेठ ५ गते मिक्लाजुङ-३ आरुबोटेमै एक व्यक्तिले ९ जनालाई खुकुरी प्रहार गरेर हत्या गरेका थिए । इ-कान्तिपुरबाट