२०८१ जेष्ठ ४ शुक्रबार

क्यानडा बस्ने विद्यार्थीहरू सावधान !

– राजन रेग्मी

हामी २१औँ शताब्दीका मानव । हामीलाई आधुनिक विज्ञानले के चीज पो दिएको छैन ? केही नबुझेको कुरा आयो कि मोबाइल निकालेर गुगलमा खोज्छौँ । कुनै नयाँ ठाउँमा जान पर्‍यो भने उक्त स्थानमा कसरी पुग्ने भनेर हेर्नका लागि पनि मोबाइल नै चाहियो ।

हातैपिच्छे कम्तीमा एउटा त मोबाइल त हुर्नैपर्‍यो । मोबाइलमा टिकटक भएपछि त झन् सुनमा सुगन्ध । धेरैलाई टिकटक आफ्नो प्रतिभा प्रस्फुटन गर्ने माध्यम बनेको छ, कतिलाई आफ्नो पसल, व्यापार–व्यवसायको प्रचार–प्रसारको माध्यम बनेको छ त कतिलाई गलत सूचना प्रवाह गर्ने माध्यम बनेको छ, टिकटक ।

हजुरबुबाले एउटा उखान सुनाउनुहुन्थ्यो, ‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड’ । त्यस्तै भएको छ भन्दा पनि फरक नपर्ला । टिकटकमा आफ्नो प्रतिभा देखाएर कति त राष्ट्रिय कलाकार बनिसकेका उदाहरण छन् त कतिपयलाई गलत सूचना प्रवाह गरी भ्रममा पार्ने काम पनि भैरहेकै छन् । टिकटक बनाउने भिडमा युवाहरू नै धेरै छन् । भर्खरै क्यानडा आएका भाइबहिनीहरू पनि यो भिडमा मिसिएका छन् ।

क्यानडा आएका नयाँ भाइबहिनीहरू पनि कोही नाचेर टिकटक बनाइरहेका छन् त कोही शैक्षिक परामर्शदाताजसरी नयाँ आउनेहरूलाई आफूलाई लागेको कुरा नै सही हो भनेर परामर्श गरिरहेका छन् । के नयाँ आएका विद्यार्थीहरूले परामर्शदाताजसरी टिकटक बनाएर पोस्ट गरेका भिडियोहरू विश्वासिला छन् त ? उनीहरूले टिकटकमा भनेका कुराहरू कत्तिको उपयोगी होलान् त ? भनिन्छ नि थोरै ज्ञान विनाशकारी हुन्छ । यस विषयमा केही उदाहरणसहित चर्चा गरौँ ।

‘द मेन क्यारेक्टर’ नामको टिकटक अकाउन्टबाट अगस्ट ३१ तारिखमा ‘अफ क्याम्पस वर्क पोलिसी’ थम्बनेल राखेर भिडियो राखिएको छ । भिडियोमा क्रियटरले क्यानडा सरकारले विद्यार्थीहरूका लागि २० घन्टाभन्दा बढी काम गर्न दिएको बारेमा गरेको सर्वेक्षणसँग सम्बन्धित छ ।

भिडियोमा कुनै समस्या थिएन तर मेरा आँखा कमेन्टमा पुगे । जहाँ एक टिकटक प्रयोगकर्ताले आफूले अक्टोबर २०२२ मै भिसा पाइसकेको तर कारणवश अहिले मात्र क्यानडा आएको र आफूले २० घन्टाभन्दा धेरै काम गर्न पाउने कि नपाउने भन्दै कमेन्टमा प्रश्न गरेका छन् । सो कमेन्टको क्रियटरले प्रतिक्रिया दिएका छन्, ‘२०२२ डिसेम्बर ३१ सम्म क्यानडा प्रवेश गरेकाले मात्र पाउँछ, अरुले पाउँदैन ।’ यस्तो त हुनु नपर्ने हो भन्दै मैले विभिन्न माध्यमबाट सूचना संकलन गर्न लागिपरेँ ।

क्यानडा सरकारको वेब तथा २०२२ अक्टोबर महिनामा आएका यससँग सम्बन्धित समाचारहरू पढेँ । तर, केही पनि उक्त क्रियटरले उल्लेख गरेजस्तो प्रवेश मितिको बारेमा लेखिएको थिएन । जानकारी होस् कि अक्टोबर ७, २०२२ र सो समयअगाडि क्यानडा सरकारले विद्यार्थी भिसाको आवेदन प्राप्त गरेको खण्डमा विद्यार्थीले कुनै रोकावटबिना नै २० घन्टाभन्दा बढी काम गर्न पाउँछन् । तर, डिसेम्बर ३१, २०२२ भित्र क्यानडा प्रवेश गर्नेले मात्र २० घन्टाभन्दा बढी काम गर्न पाउने नियम कहीँकतै पनि उल्लेख छैन ।

भिडियोमा कुनै समस्या थिएन तर मेरा आँखा कमेन्टमा पुगे । जहाँ एक टिकटक प्रयोगकर्ताले आफूले अक्टोबर २०२२ मै भिसा पाइसकेको तर कारणवश अहिले मात्र क्यानडा आएको र आफूले २० घन्टाभन्दा धेरै काम गर्न पाउने कि नपाउने भन्दै कमेन्टमा प्रश्न गरेका छन् ।

यसै क्रममा लामो समयदेखि क्यानडामै बसोबास गर्दै आउनुभएका अध्यागमन सल्लाहकार अशोक पौडेलसँग पनि सम्पर्क हुँदा २०२२ डिसेम्बर ३१ भित्र क्यानडा प्रवेश गर्नेले २० घन्टाभन्दा बढी काम गर्न पाउने नियम नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यति समयभित्र क्यानडा आएको भन्ने नियम त छैन तर क्यानडामा रहेका र नयाँ आएका विद्यार्थीहरूले यदि अक्टोबर ७ वा ७ भन्दाअगाडि विद्यार्थी भिसाको आवेदन प्राप्त गरेको छ भने २० घन्टाभन्दा धेरै काम गर्न पाउँछ ।’

पौडेलले टिकटकको भर पर्नुभन्दा यस्ता जटिल विषयमा अध्यागमन सल्लाहकारहरूसँग सल्लाह गर्नुपर्ने सुझाव दिनुहुन्छ । टिकटकको भर पर्दा भ्रममा परिने र पछाडि निकै अप्ठ्यारा समस्याहरू आइपर्न सक्ने उहाँ बताउनुहुन्छ ।

त्यसैगरी, टिकटकलगायतका सामाजिक सञ्जाल र फेसबुकका धेरै ग्रुपमा आफूले धेरै कष्ट गर्दा पनि कोठा, काम नपाएको र खोजीदिनका लागि हारगुहार गरिरहेको देख्न सकिन्छ । केहीपहिला आएका विद्यार्थीहरू भने टिकटकजस्ता सामाजिक सञ्जालमा काम र कोठा सहजै पाउने भन्दै भिडियो बनाइरहेका देखिन्छन् । के काम पाउनका लागि हालको अवस्थामा त्यति सहज छ त ? हालको श्रम बजारमा हाम्रो वास्तविकता र अपेक्षा मेल खान्छ त ? के टिकटक क्रियटरहरूले भनेजस्तो त्यति सहजै काम र कोठा पाइन्छ त ? आउनुहोस्, अब यस विषयमा पनि थोरै चर्चा गरौँ ।

कोरोनाकालमा क्यानडाको व्यापार व्यवसाय करिब ३ वर्ष ठप्प भयो । सो समयमा क्यानडा सरकारको करोडौँ डलर कोरोना नियन्त्रण र व्यवस्थापनमा खर्च भएको थियो । कोरोनाकाल सकिएपछि क्यानडा सरकारको आफ्नो आम्दानीको स्रोतको रूपमा लिएको अन्तर्राष्ट्रिय विद्यार्थीलाई अन्धाधुन्ध कुनै योजनाबिनै प्रवेशमा सहज बनाएको थियो । अहिलेको अवस्थामा पनि क्यानडामा हाउजिङ, श्रमबजारलगायतमा निकै ठूलो समस्या छ ।

ठूला कम्पनीका कामदारहरू पनि अहिले बेरोजगार भएर बस्नुपर्ने अवस्था रहेको क्यानडामा बसोबास गरिरहेका समाजसेवी सुदर्शन सापकोटा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘कोरोनाकाल सकिएपछि विद्यार्थीहरूलाई क्यानडाले भिसा दिन निकै सहज गरिरहेको छ । कुनै पनि योजना नबनाई विद्यार्थी भित्र्याइरहेको छ, जसको असर अहिले नै देखिन सुरु भइसकेको छ ।’

सापकोटा भन्नुहुन्छ, ‘अहिले हाउजिङमा निकै समस्या देखिएको छ । एउटै घरमा २०–२५ जनासम्म मिलेर बस्नुपर्ने अवस्था छ । महँगी बढेको छ । त्यति मात्र नभई पहिला काम गरिरहेका पुराना कर्मचारीहरूसमेत कामबाट निकालिएको अवस्था छ । अहिलेको अवस्थामा कुनै पनि हालतमा हाम्रो अपेक्षा र वास्तविकता मेल खाँदैन ।’

नयाँ आउने भाइबहिनीहरूलाई थोरै मात्र अपेक्षा गर्न र परिवारलाई पनि सोहीअनुसार मनाउनका लागि उहाँले आग्रह गर्नुभएको छ । केही महिनाअगाडि आएका विद्यार्थीहरूसमेत नेपालबाट पैसा मगाएर घरभाडा र सरसामान किन्नुपर्ने अवस्थामा रहेको उहाँले बताउनुभयो । टिकटक क्रियटरको कुरा सुनेर धेरै अपेक्षा गर्दा मानसिक रूपमा निकै समस्या पर्न सक्ने उहाँको भनाइ छ । शिलापत्र

(लेखक क्यानडामै बस्छन्)

२०८० भाद्र ३०, शनिबार प्रकाशित 0 Minutes 286 Views

ताजा समाचार