आव २०७९/८० मा मात्रै भेटीबाट ३ करोड १९ लाख १६ हजार आम्दानी गरेको पाथीभरा मन्दिर पूर्वी पहाडको एउटा यस्ताे तीर्थस्थल बनेको छ जसले यातायातकर्मी, होटल व्यवसायी, मान्छे बाेक्नेदेखि पूजा सामग्री व्यवसायी हजारौंलाई राेजगारी दिएको छ
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिरलाई आव २०७९/८० मा भेटीबापत ३ करोड १९ लाख १६ हजार रुपैयाँ आम्दानी भएको छ । यो वर्ष २ लाख १ हजार ४ सय ४८ तीर्थयात्री दर्शनका लागि आएका थिए ।
मन्दिरमा आएका भक्तजनको संख्या र भेटी रकम हिसाब गर्ने हो भने एक जनाले औसत १ सय ५८ रुपैयाँ ४३ पैसा मन्दिरमा चढाएको पाइन्छ । यो रकमले पाथीभरा क्षेत्र विकास समितिले १७ जना कर्मचारी करारमा राखेको छ । उनीहरुका लागि वार्षिक ५७ लाख ५४ हजार रुपैयाँ खर्च हुन्छ । उनीहरुले सरसफाइ र तीर्थयात्रीलाई सहयोग गर्ने लगायत काम गर्छन् । बाँकी रकम यहाँको विकास निर्माण लगायतमा खर्च हुन्छ ।
पाथीभरा पुग्ने तीर्थयात्रीको ठूलो खर्च यातायात र होटलमा हुन्छ । धेरैजसो तीर्थयात्री एक रात मन्दिर नजिकैको माथिल्लो फेदी, काफ्ले पाटी वा सदरमुकाम फुङलिङमा बस्छन् । माथिल्लो फेदीमा बस्नेले सादा खाना खाए ३ सय रुपैयाँ तिर्नु पर्छ । बेलुका र बिहान मन्दिरबाट फर्किएपछिको खाना खर्च ६ सय रुपैयाँ हुन्छ । कमन रुममा सुते प्रतिव्यक्ति एक रातको दुई सय रुपैयाँ शुल्क छ । मासु, मदिराको प्रयोग नगरी खाना, खाजा, पानी मात्रै गर्दा एक जनाले १२ सय रुपैयाँसम्म खर्च गर्ने माथिल्लो फेदी होटल व्यवसायी महासंघका अध्यक्ष इन्द्रनारायण भट्टराई बताउँछन् । अर्डर अनुसारको खान पाइने भएकाले चाहनेले भने क्षमता अनुसारको खर्च गर्छन् । अहिलेसम्म झापाको चारआलीदेखि मेची राजमार्ग भएर दर्शनार्थी आउँछन् । चारआलीदेखि इलाम, फिदिम हुँदै सदरमुकाम फुङलिङसम्म आउँदा गाडी भाडा १४ सय रुपैयाँ तिर्नुपर्छ । फुङलिङदेखि सुकेटार हुँदै काफ्ले पार्टी सम्मको भाडा चार सय रुपैयाँ छ । चारआलीदेखि मन्दिर पुगेर फर्कंदा एक जनाले ३६ सय रुपैयाँ भाडाबापत बुझाउनु पर्छ ।
समितिका कार्यकारी निर्देशक मनमणि काफ्ले झापाको बिर्तामोडदेखि मन्दिर पुगेर फर्कंदा सामान्यतया ५ हजार ५ सय रुपैयाँ खर्च हुने बताउँछन् । ‘यात्राको क्रममा खाजा पनि खानुपर्यो । मन्दिरमा जानेले चढाउने प्रयोजनका लागि प्रसाद पनि बोक्नु हुन्छ,’ उनले भने, ‘उहाँहरुले गरेको लगानीबाट यातायात व्यवसायी, होटल सञ्चालक र तिनमा आबद्ध धेरैलाई रोजगारी पनि मिलेको छ ।’ चालक, सहचालक, सवारीधनी, सवारीसाधन मर्मत गर्ने, धान लगायतका अन्न बाली, तरकारी उत्पादन गर्ने र भरियासम्मलाई अप्रत्यक्ष रुपमा रोजगारी भएको भट्टराई बताउँछन् । पाथीभरा आउनेलाई लक्षित गरी फुरुम्वु, फावाखोला, लिंखिम लगायतका क्षेत्रका किसानले साग, आलु, कोपी लगायतका तरकारी बाली लगाउँछन् भने कुखुरा, बोकापालनसमेत गरेको उनले बताए ।
दूध बिक्रीका लागि पैदलमार्ग आसपासमा गाई र भैंसीका गोठ पाल्ने डेढ दर्जन बढी परिवार छन् । उनीहरु बाहेक गाउँबाट जर्किनमा बोकेर काफ्ले पाटी र माथिल्लो फेदीमा बिहानै दूध पुर्याउने सयौं छन् । उनीहरुले व्यवसायिक रूपमै दूध बोक्छन् । यो वर्ष आएको तीर्थयात्रीको संख्या र बिर्तामोडदेखि काफ्ले पाटीसम्मको भाडादरलाई हेर्ने हो भने यातायातको क्षेत्रमा मात्रै वार्षिक ७२ करोड ५२ लाख १२ हजार रुपैयाँ आम्दानी हुन्छ ।
काखे बच्चाको हकमा भने भाडा नलाग्ने व्यवसायी बताउँछन् । सबै तीर्थयात्री काफ्ले पार्टी र माथिल्लो फेदीमा बसे खानाबाट २४ करोड १७ लाख ३७ हजार रुपैयाँ आम्दानी हुन्छ । तर तीर्थयात्री सदरमुकाम फुङलिङ बसेर बिहानै मन्दिर जाने र बेलुका पुनः सदरमुकाम फर्कने पनि गरेका छन् । सदरमुकाम बस्नेको भने खाना र कोठामा बढी खर्च हुन्छ । काफ्ले पाटी र माथिल्लो फेदीमा दुई बेडको एउटा कोठा लिए एक हजारमा पाइन्छ । सदरमुकामका राम्रा होटलमा त्योभन्दा बढी पर्छ ।
पूजा सामग्रीका बिक्रेताले मात्रै पनि वार्षिक ४ करोड बढीको आम्दानी गर्छन् । ‘सबैभन्दा सानो पूजा सामग्रीको प्याक २ सय रुपैयाँको हुन्छ,’ पाथीभरा पूजा सामग्री भण्डारमा रमेश घिमिरेले भने, ‘थोरैको लानेने त्यही लान्छन्, धेरै लानेले १० हजारसम्मको सामग्री बोक्छन् ।’ दुई सयको प्याकमा अगरबत्ती, जनै-सुपारी, रातोसेतो कपडा, बाती, दियो लगायत हुने गरेको छ । लाख बत्ती बाल्ने र घण्टी, त्रिशूल लगायतका सामग्री चढाउनेले १० हजार बढीको सामान लैजाने गरेको आचार्य बताउँछन् । कतिपयले घरैबाट लिएर आएका भए पनि केही न केही छुट्ने र पसलमा देखेपछि किन्ने गरेको माथिल्लो फेदीका पसले मीना महत बताउँछिन । ‘बच्चाहरु धेरै आएका हुन्छन्, दोकानको झिलिमिली देखेपछि किनिदिन कर गर्छन् । त्यसले पनि पूजा सामग्री धेरै खपत हुन्छ,’ उनले भनिन् ।
रहर गरेर आएकाहरुमा कतिपय हिडेर उकालो उक्लन सक्ने हुँदैनन् । त्यस्ताका लागि पनि सेवा व्यवसाय छ । काफ्ले पाटीदेखि पाथीभरा मन्दिरसम्म मान्छे बोक्नेहरुको संख्या २ सय ५० भन्दा बढी छ । उनीहरुले एक जना बोके बराबर किलोको २ सयका दरले लिन्छन् । बढी तौल भएकालाई सामूहिक र कम तौल भएकालाई व्यक्ति/व्यक्तिले बोक्छन् । पाथीभरा तीर्थयात्री सहयोग समितिका सचिव रत्न कार्की वर्षभरीमा १ हजार ८ सय मान्छे बोकिने गरेको बताउँछन् । ‘औसतमा सिजनको बेला दैनिक १० जना बोकिन्छन् र महिनामा तीन सयको हाराहारी हुन्छन्,’ कार्कीले भने,‘वर्षमा ६ महिनालाई सिजन मान्दा १ हजार ८ सय जति बोकिने गरेका छन् ।’ बच्चा बोकेको न्यूनतम ३ हजार ५ सय र ठूलो मान्छेको १० हजार रुपैयाँसम्म लिन्छन् । यो तौल नगरी बोक्ताको रकम हो । औसतमा जनही ६ हजार रुपैयाँले हिसाब गर्दा बोक्नेले मात्रै पनि १ करोड ८ लाख बढी आम्दानी गर्ने गरेको रतन बताउँछन् । ‘ठ्याक्कै तथ्यांक राख्ने हो भने यो भन्दा बढी नै हुन्छ,’ उनले भने । गरीखानेबाहेक अहिलेसम्म मागेर खाने चाहिँ पाथीभरा क्षेत्रमा नभएको उनले बताए ।
झापाको चारआलीदेखि ताप्लेजुङको सुकेटारसम्म २ सय ४३ किलोमिटर सडक पक्की छ । सुकेटारदेखि काफ्ले पाटीसम्म १२ किमि कच्ची सडक छ । यहाँबाट मन्दिर पुग्न चार किलोमिटर पैदल हिंड्नु पर्छ । घोडा लगायतको वैकल्पिक व्यवस्था नभएकाले मान्छेलाई बोकेर पुर्याउनेमा मान्छेले राम्रो रोजगारी पाएका छन् । तीर्थयात्रीको संख्या बढे आम्दानी पनि बढ्ने भएकाले प्रचारलाई जोड दिइएको नागरिक स्तरबाट गठित पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बर्द्धन समितिका सदस्य सुरेश लिम्बू बताउँछन । एउटा मन्दिरको छत्रछायाले सयौंको संख्यालाई रोजगारी सृजना गरेको उनले बताए ।
पाथीभरामा भारतको सिक्किम, दार्जिलिङ, असम लगायत र नेपालका काठमाडौंदेखि देशभरिका दर्शनार्थी आउँछन् । सबैभन्दा बढी झापा, मोरङ, सुनसरी र बाँकी सबैजसो जिल्लाका बासिन्दा आइपुगेको तथ्यांकबाट देखिने पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेले वताए । मेची राजमार्गको अलावा सुनसरीको इटहरीबाट भेडेटारबाट तमोर नदीको किनारैकिनार बनेको तमोर करिडोरको बाटो भएर पनि तीर्थयात्री आउँछन् । तर करिडोरको पाँचथर, ताप्लेजुङ सडकखण्ड भने अहिले अवरुद्ध छ । धरानबाट धनकुटा, वसन्तपुर, गुफापोखरी भएर पनि आउन सकिन्छ । इ-कान्तिपुरबाट