२०८१ बैशाख ११ मंगलवार

टी–२० लिगमा ‘स्पट फिक्सिङ’ गर्नेमाथि कडा कारबाही गर्न पारस खड्काको माग

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भइरहेको फ्रेन्चाइज लिग नेपाल टी–२० मा स्पट फिक्सिङको कुरा सार्वजनिक भएपछि पूर्वकप्तान पारस खड्काले यसबारे छानविन गरी दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।

पारसले मंगलबार सामाजिक सञ्जालमार्फत जारी लिगमा ‘स्पट फिक्सिङ’ देखिएकोमा आफू स्तब्ध रहेको बताउँदै यसको निष्पक्ष छानविन गरी दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गरेका हुन् ।

“नेपाली क्रिकेटले विभिन्न अध्याय, संघर्ष र खुड्किलाहरू पार गर्दै राम्रो स्वरूप लिने क्रम जारी थियो । यो अनवरत यात्रा र उतारचढावकै बीच नेपाल टी–२० लिगमा स्पट फिक्सिङ जस्तो गम्भीर अपराध भएको खबरले स्तब्ध बनाएको छ । खेलाडीहरूको वर्षौंदेखिको लगाव, खेलप्रेमीहरूको निस्वार्थ प्रेम र यस खेलमा समर्पित सरोकारवालाहरूको विश्वासलाई यस घटनाले यो खेलसँगै सम्बन्धित सबैमा चोट पु‍याएको छ । यो अपराधमा निष्पक्ष छानविन गरेर दोषीलाई कडा कारबाही गरियोस्,” पारसले फेसबुकमा लेखेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको प्रतियोगितामा सुरुदेखि नै फिक्सिङको आशंका गरिएपनि आज (मंगलबार) यसबारे लिगमा सम्बन्धित व्यक्तिले नै आफूले ‘स्पट फिक्सिङ’को अनुभव गरेका बताएका थिए ।

लिगको सुरुवातदेखि नै कमेन्ट्री टिममा रहेका सचिन तिमल्सिनाले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै आफूले लिगमा स्पट फिक्सिङको अनुभव गरेको बताउँदै प्रतियोगिताबाट आफू अलग्गिएको बताएका थिए ।

यस्तै, लिगकै एक टिम काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले पनि टिमका एक खेलाडीमा फिक्सिङको प्रस्ताव आएको र आफूहरूले यसबारे (एसीयू एन्टी करप्सन युनिट) मा छानविनका लागि जानकारी गराइसकेको बताएका थिए ।

यस्तै, लिगको रणनीतिक सहयोगीको रूपमा रहेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स सम्पर्कविहीन भएको, लिग खेलिहरेका क्लबहरूमध्ये केही क्लबका प्रतिनिधिहरू पनि सम्पर्कमा नआएको र खेलाडीले पारिश्रमिक नपाएको जस्ता कुराहरू सार्वजनिक भएपछि गृह मन्त्रालयले समेत यस विषयमा छानविनका लागि पत्र काटिसकेको छ ।

२०७९ पुष १९, मंगलवार प्रकाशित 1 Minute 262 Views

ताजा समाचार