२०८१ जेष्ठ ६ आईतवार

‘गाईजात्रा’ लिएर देश डुल्दै मनोज गजुरेल : मदन भण्डारीदेखि एलन मस्कका हजुरबासम्मलाई कटाक्ष

काठमाडौं । हास्य कलाकार मनोज गजुरेल र शैलेन्द्र सिंखडाको समूहले पूर्वी नेपालको विराटनगरबाट गाईजात्रा कार्यक्रमको सुरुवात गरेको छ । शनिबार विराटनगरबाट सुरु भएको ‘८० सालको गाईजात्रा’ बर्दिबासमा पनि प्रस्तुत गरियो ।

सोमबार रौतहटको चन्द्रनिगाहपुरमा गाईजात्रा कार्यक्रम गरिंदैछ । भदौ १४ गतेदेखि १७ गतेसम्म काठमाडौं, २२ गते दाङ र २३ गते बुटवलमा कार्यक्रम हुँदैछ । यसअघि कोरोना महामारीका कारण भर्चुअल गाईजात्रा गरेका गजुरेलले यसपटक भने स्टेज कार्यक्रम गर्दै निरन्तरता दिएका हुन् ।

मनोज र शैलेन्द्रसहित समूहमा सुवोध गौतम, गायक टीका भण्डारी, कमेडी च्याम्पियनका सुन्दर खनाल र म्याक्सम गौडेल, कमेडियन सीता न्यौपाने, प्रभात लामा र रुबिना अधिकारी समेत छन् ।

यसपटक गजुरेलले राजनीतिज्ञ मदन भण्डारी, अमेरिकी धनाढ्य एलन मस्कका हजुरबा एलियन मस्क र गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिकामा प्रस्तुत हुँदै गाईजात्रा प्रस्तुति दिएका छन् । वर्तमान राजनीतिमा रहेको आदर्श र व्यवहारगत भिन्नता, राजनीतिज्ञ कसरी आदर्शबाट च्यूत हुँदै गएका छन् भन्ने सन्दर्भमा गजुरेलले भण्डारीको पात्रमार्फत कटाक्ष गरेका छन् ।

मदन भण्डारी र कांग्रेस संस्थापक बीपी कोइरालाबीच स्वर्गमा हुने कमेडी संवाद पनि प्रस्तुत गरिएको छ । ‘यसपटक मदन भण्डारी र बीपी कोइरालाबीच स्वर्गमा हुने मुलाकात निकै लोकप्रिय भएको छ । दर्शकले यो प्रस्तुति रुचाएका छन्,’ गजुरेलले  भने । बीपीको भूमिकामा काटीकुटी उनकै जस्तो अनुहार देखिने चक्र दवाडीले अभिनय गरेका छन् ।

युवापुस्तामा प्रविधिसँग जोडिएका कुरा प्रभावकारी हुन सक्छन् भन्ने उद्देश्यले गजुरेलले ट्वीटर, स्पेसएक्स र टेस्लाका मालिक धनाढ्य एलन मस्कका हजुरबा एलियन मस्कमार्फत अभिनय गरेका छन् । यो सन्दर्भमा उनले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा नेपाली वैज्ञानिक महावीर पुनसँग संवाद गरेका छन् । महावीरको भूमिकामा प्रभात लामा छन् ।

एलियन मस्कसँगको संवादमा अन्तरीक्षदेखि मंगल ग्रहसम्मको कुराकानी छ । पछिल्लो समय भ्रष्टाचारका काण्डबारे गजुरेलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिकामा समेत गाईजात्रा प्रस्तुति दिएका छन् ।

‘पहिला कोरोनाले भर्चुअल रुपमा हामी खुम्चिएका थियौं । तर अहिले संस्कृति, परम्परा जोगाउनुपर्छ भनेर गाईजात्रालाई लिएर देश दौडाहामा निस्किएका हौं,’ गजुरेलले भने, ‘कोरोना पछाडि पनि दर्शकले हाँस्न भुल्नु भएको छैन भन्ने देखिन्छ । तर टिकट हेर्दा दर्शकमा आर्थिक मन्दीको असर देखिन्छ । हामीले शीर्ष प्रायोजकबिनै कार्यक्रम चलाइरहेका छौं ।’

यसैबीच, भदौ १४ गतेदेखि सात दिनसम्म हिमालय टिभी एचडीमा गजुरेलले गाईजात्रा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।

२०८० भाद्र ११, सोमबार प्रकाशित 0 Minutes 236 Views

ताजा समाचार