२०८० फाल्गुन १६ बुधबार

कवितासँग विश्वप्रकाश शर्माको रोचक जीवनयात्रा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा जति शालीन देखिन्छन्, त्यत्तिकै उनको बोलीको पार्टीपंक्तिमा प्रशंसा हुने गरेको छ । मिठो आवाजमा बोलेर प्रभावित पार्न सक्ने उनको बेजोडको खुबी छ । राजनीतिक रूपमा जसरी अघि बढिरहेका छन्, शर्माको पारिवारिक जीवन पनि निकै रोचक र चाखलाग्दो छ ।

दृढ इच्छाशक्ति भए सिर्जनशील काम गर्न समयले रोक्दैन भन्ने कुरा उनकी श्रीमती कविताको जीवनशैलीलाई हेरेर जो कसैले बताउन सक्छ । उनले घरपरिवारलाई व्यवस्थित बनाएकी छन् । विभिन्न जिल्ला तथा संघसंस्थामा पुगेर व्यक्तित्व विकास र सकारात्मक सोचका विषयमा प्रशिक्षण पनि दिने गरेकी छन् । कविताले गीत–संगीत सिक्दै, गाउँदै, छोराछोरीलाई आफूजस्तै ज्ञानी, संस्कारी बनाएकी छन् । उनले श्रीमान‍्को काममा सधैँ साथ त दिएकी छन् नै ।

विश्वप्रकाशको परिवारमा ‘मिटिङ’ बस्ने चलन छ । बिहेको तीन महिनापछि विश्वप्रकाशले घरमा माइन्युट नै लेखेर बैठक बस्ने परिपाटी बसाए । महिनामा एकपटक उनीहरूको पारिवारिक मिटिङ बस्छ, माइन्युट गरिन्छ ।

कहिले घरमा त कहिले बाहिर रेस्टुरेन्टमा गएर महिनाभरि परिवारभित्र एकार्कालाई राम्रा र नराम्रा लागेका कुरा या गुनासालगायत विषयमा छलफल गर्ने गरिएको कविता बताउँछिन् । केही समयअघिसम्म कविताले बैठकको अध्यक्षता गर्थिन् । अहिले उनीहरूका छोरी स्वीकृतिले बैठकको अध्यक्षता गर्छिन् । महिनाभरि कसको के कमजोरी भयो ? केके सुधार हुँदै छ र कसले केके राम्रो काम गरे भन्ने बारेमा एकापसमा छलफल गरिन्छ । गल्ती गरेको भए नदोहोर्‍याउने लिखित निर्णय नै गर्ने गरिएको उनको भनाइ छ ।

शर्माको निवासमा ठूलो स्वरमा कसैले बोल्दैन । छोराछोरीलाई गाली गरिँदैन । यो अभ्यासले घरमा कहिल्यै अशान्ति भएन । कविता भन्छिन्, “घर भनेको आनन्द मिल्नुपर्ने स्थान हो । दिनभरि बाहिर काम, दौडधुप र तनावमा हुन्छौँ, घरभित्र छिरेपछि घरको माहोल शान्त, आनन्दमय भयो भने ती थकानहरू सबै हराउँछ । अनि, काममा पनि उत्साह बढ्छ ।”

उनको बुझाइमा मान्छेलाई सबैभन्दा आवश्यक भनेको मनको शान्ति हो । घरमा शान्ति भए व्यक्तिले समाजमा ‘आइडल’का रूपमा काम गर्न सक्ने उनी बताउँछिन् । विश्वप्रकाश शालीन, मधुर बोलीवचन हुनुमा कविताको अहम् भूमिका छ । घरमा शान्त माहोल बनाएर उनले विश्वप्रकाशमा ऊर्जा प्रदान गरिरहेकी छन् ।

शर्मा दम्पतीका छोरी स्वीकृति र छोरा शीर्षक मोबाइल, इन्टरनेटमा झुम्दैनन् । उनीहरूको संसार आध्यात्मिक र सिर्जनात्मक छ । उनीहरूको हरेक बिहान ओमकारबाट सुरु हुन्छ । विश्वप्रकाश आफैँ पनि गीत–संगीतमा रुचि राख्ने व्यक्ति हुन् । उनले धेरै गीत लेखेका छन् । एल्बम पनि निकालेका छन् । नेपाल जेसिजको जेसिजगान विश्वप्रकाशले नै लेखेका हुन् ।

छोरी स्वीकृति गाउँछिन् । उनको रुचि देखेर प्रभुराज ढकालसँग गायन सिक्न पठाए । स्वीकृतिले सिकिरहेको बेलाको सदुपयोग गर्न भन्दै कविताले पनि गायन कक्षा सुरु गरिन् । साथमै हुने सानो छोरा समेत त्यसमै झुम्मिएको देखिन् । त्यसपछि सुरु भयो, शीर्षकको गायन कक्षा । यसरी उनीहरू एउटै गुरुसँग गायन कक्षा लिन पुगे ।

हिजोआज मानिससँग मोबाइल, ल्यापटप, आइप्याडलगायत ग्याजेटहरू हुनु सामान्य नै हो । विश्वप्रकाशको घरमा पनि स्वाभाविक रूपमा ग्याजेट र इन्टरनेटको सुविधा छ । तर, चलाउने नियम छ । दिनमा केही समय सबैलाई ग्याजेट चलाउने छुट छ । त्यसमै दिन बिताउने छुट कसैलाई छैन ।

कविता मोबाइलमै घोरिएर बस्दिनन् । छोराछोरी पढिरहँदा आफू पनि लेखपढ वा हार्मोनियम र तानपुरा बजाउँदै गीत गाउने अभ्यास गर्छिन् । छोराछोरी फुर्सदमा गीत गाउने, चित्र कोर्ने, कथा, कविता लेख्ने गर्छन् ।

कोरोनाको समयलाई उनीहरूले यसैगरी सदुपयोग गरे । सपरिवार जनचेतनामूलक नाटक खेले । त्यही समयमा कविता र छोरी स्वीकृतिले कभर गीतहरू गाए । संगीत शिक्षालाई त्यो बेला उनीहरूले अनलाइनबाटै निरन्तरता दिए ।

विश्वप्रकाश राजनीतिक कार्यक्रममा व्यस्त भए पनि संगीत साधना र गीत रचनाका लागि समय मिलाइरहेकै हुन्छन् । उनी परिवारका हरेक कार्यक्रममा जसरी पनि उपस्थित हुन्छन् । सन्तानले पनि संस्कार सिकेका छन् । व्यवहारमा लागु गरेका हुन् ।

को हुन् कविता शर्मा ?

झापाको शनिश्चरेस्थित बारागाउँमा जन्मिएकी कविता चार दिदीबहिनी र चार दाजुभाइमा कान्छी हुन् । सात कक्षासम्म गाउँमै पढिन् । आठदेखि पढ्न बजार (शनिश्चरे) आइन् । कविताको पारिवारिक पृष्ठभूमि पनि राजनीतिक नै थियो । उनका हजुरबुवा, बुवाकामा देव ओझा, सीपी मैनालीलगायत नेताहरू आउने–जाने गरेको र बैठक पनि बसेको उनलाई याद छ ।

उनी सानैदेख नाच्ने, गाउने गर्थिन् । राजेश हमाल, करिष्मा मानन्धर, कृष्टि केसीका चलचित्रका गीतहरूमा नाच्दै हुर्केकी हुन्, कविता । राजेश, करिष्मा, कृष्टिका चलचित्रहरू हलमा चल्थे । त्यसकै गीतहरूमा उनी स्टेजमा नाच्थिन् । गाउँमा नाटक प्रदर्शन हुँदा उनी पनि हेर्न जान्थिन् । साथीहरू जम्मा पारेर कबड्डी, खोपी, चुंगी, गुच्चा खेलेर उनको बालापन बित्यो ।

 

ठूलो भएपछि गायिका बन्छु भन्ने कविताले परिवारको साथ पाइनन् । परिवार र गाउँलेले गाएर जीवन चल्दैन भन्दै हतोत्साहित बनाए । त्यही कारण उनले सीएमए पढिन् ।

बिर्तामोडमा कलेज पढेपछि धुलाबारी हेल्थपोस्टमा काम गर्न थालिन् । त्यो विश्वप्रकाशको गाउँमै थियो । त्यही हेल्थपोस्टमा कविता र विश्वप्रकाशको भेट भएको थियो । गाउन रुचि भएकी उनी गीत, कविता र गजलका प्रतियोगिताहरूमा सहभागी भइरहने विश्वप्रकाशसँग नजिकिँदै गइन् ।

काठमाडौं आएपछि ०५६ सालमा उनले सत्य साई स्कुलको स्वास्थ्य विभागमा काम गर्न थालिन् । विश्वप्रकाश कवितालाई भेट्न त्यहीँ पुगेका थिए । मन परेको मान्छेले बिहेको प्रस्ताव राख्न आएको उनले सोचिन् । खुसी भइन् । तर, सोचेजस्तो भएन । कुरा गर्दै जाँदा कविताले ‘घरमा कोको बस्नुहुन्छ ?’ भनी सोधिन् । सपनामै नसोचेको उत्तर पाइन् । ‘म, आमा र मेरी श्रीमती अञ्जना’ भन्ने विश्वप्रकाशको उत्तर सुनेपछि कविता झसंग भइन् । तर, नर्मलझैँ लिइन् । अनुहार र व्यवहारमा फरक भाव देखाइनन् ।

 

आमा बिरामी भएर हतारमा बिहे गरेको विश्वप्रकाशले सुनाए । तर, श्रीमतीसँग आफ्नो ‘प्रकृति नमिलेको’ उनले बताए । त्यति बेला विश्वप्रकाशले ‘श्रीमतीसँग सम्बन्ध अघि नबढ्लाजस्तो भयो, के गरूँ ?’ भनेर सोधेको कविता सम्झिन्छिन् । बिहे गरिसकेको मान्छेलाई कविताले ‘मिलेर बस्नू’ भन्दा बढी केही भन्न सकिनन् ।

त्यो समयमा कविता होस्टेलमा बस्थिन् । होस्टेलमा पुर्‍याइदिएका विश्वप्रकाशले छुट्ट्निे बेलामा कवितालाई ‘अञ्जनाको ठाउँमा आफूलाई हेर्नू’ भन्दै गए । विश्वप्रकाशको स्पष्ट बोली–व्यवहारबाट उनी झनै प्रभावित भइन् । विश्वप्रकाश त्यति बेला नेपाल विद्यार्थी संघको अध्यक्ष थिए ।

कवितालाई न त बिहेअघि बुवाबाजे लागेको कम्युनिस्ट पार्टीतिर झुकाव भयो न बिहेपछि श्रीमान्को कांग्रेस पार्टीप्रति नै चासो छ । आफ्नो कारणले राजनीतिमा श्रीमान्प्रति औँला उठाउने काम कहिल्यै नहोस् भन्नेमा उनी सचेत छिन् ।

बिहेपछि काठमाडौंमा सानो कोठामा डेरा गरी बसेको यो दम्पतीको कहिल्यै ठूलो सपना भएन । मोबाइल, इन्टरनेटको जमाना थिएन । मनोरञ्जनको माध्यम एफएम, रेडियो, टेलिभिजन नै थिए । त्यसमा पनि नेपालमा हिन्दी सिरियलको दबदबा थियो । कविता बिहेअघिदेखि नै हिन्दी सिरियल हेर्थिन् । अरूको कोठमा गएर सिरियल हेरेको अनुभव पनि उनीसित छ । धेरैपछि मात्र उनीहरूले १४ इन्चको टेलिभिजन किने ।

०५८ सालमा चाबहिलमा ८०० रुपैयाँ प्रतिमहिना कोठा भाडामा बस्दा ढुंगेधारामा नुहाएको उनलाई अझै याद छ । एउटाबाट दुई कोठा र पछि छोराछोरी हुर्कंदै गएपछि फ्ल्याट लिएर बस्न थाले ।

कविताको जीवनमा हरेक कुरा विस्तारै हुँदै गयो । उनले सानो–सानो कुरामा खुसी हुन जानिन् । उनी भन्छिन्, “जब हामी एउटा कोठाबाट दुईवटा कोठामा सर्‍यौँ, ओहो, हाम्रो पनि दुइटा कोठा ! जस्तो लाग्यो । पछि फ्ल्याटै लिँदा पनि उस्तै खुसी भएँ । यदि, यो सबै कुरा पहिला नै भएको भए यस्तो खुसी कहाँ हुन्थ्यो !”

प्रेगनेन्ट भएपछि कविताले आफ्नो काम छाडिन् । बच्चालाई छोड्ने अवस्था थिएन । त्यसैले करियरलाई विश्राम दिइन् । उनले पढेको स्वास्थ्य विषय घरपरिवारमा पनि बडो काम लाग्यो । सासूआमा बिरामी हुँदा कविताले घरमै नर्सले झैँ स्याहार गरिन् ।

झापामा बस्न थालेपछि उनले धुलाबारी जेसिजको कार्यकारी उपाध्यक्ष भएर काम गरिन् । सन् २०१३ मा मेचीनगर लेडी जेसिजको फाउन्डर अध्यक्षका रूपमा कार्यभार सम्हालिन् । त्यहाँ उनले नेतृत्व र व्यक्तित्व विकासका विषयमा काम गरिन् । उनले सन् २०१५ देखि पब्लिक स्पिकिङ र एमसीका विषयमा समेत प्रशिक्षण दिँदै आएकी छन् । बाह्रखरीबाट

२०८० असार २५, सोमबार प्रकाशित 1 Minute 332 Views

ताजा समाचार