मेचीनगर । अवैध रूपमा चोरीपैठारी गरिएका करिब १ करोड ३० लाख बराबरको सामान सशस्त्र प्रहरीले बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाले अढाई महिनाको अवधिमा भारतबाट राजश्व छलेर ल्याइएका सामान बरामद गरी मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाएको सशस्त्र प्रहरी गुल्मका प्रमुख डिएसपी निर्मलकुमार थापाले जानकारी दिए ।
गत बैशाखबाट गुल्मको कमाण्ड सम्हालेका थापाको टोलीले सीमाबाट हुने अवैध सामानको ओसारपसार रोक्न निकै कसिलो सुरक्षा तथा चेकजाँच गरेपछि यो परिमाणमा सामान बरामद गरेको हो । सीमा नाकामा कडाइ गर्न थालेपछि निकै विवादको सामना गर्दै आएको डिएसपी थापा बताउँछन् । यस अवधिमा सशस्त्र प्रहरीका दर्जनौ जवानदेखि सिनियर अफिसरसमेत निलम्बन र कारबाही परेका छन् ।
अढाई महिनाको अवधिमा अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको लत्ता कपडा, हार्डवयर, किराना सामानहरु, मोटरपार्टस, मरिच बरामद गरेको थियो । उक्त सामान मेची पुल, भन्सार चेकपोस्ट, जोर सिमल, सतिघटटा, पिंकीठ्याक, दुर्गा मन्दिर, नकलबन्दालगायतका सीमा नाकाबाट बरामद गरेको डिएसपी थापाले बताए ।
सशस्त्र प्रहरीले भन्सार नाकामा चेकजाचमा थप कडाइ गरेपछि यो नतिजा आएको हो ।
बिगतमा सामान सेटिङमा छोडेको आरोप खेप्दै आएको सशस्त्र प्रहरीले पछिल्लो समय कडाइ गरेको भन्दै विभिन्न विवादको सामना गर्नु परेको छ ।
सचेत नागरिकले प्रश्न उठाउँन थालेका छन् साच्चिकै अबका दिनमा यतिकै इमानदारी पूर्वक कार्य सम्पादन गर्ला तसशस्त्र प्रहरीले ? त्यो हेर्न बाँकि छ ।