२०८१ भाद्र २३ आईतवार

खुट्टीडाँगी वन समिति उत्रियो ‘एक्सन’मा

धुलाबारी, १७ असार । मेचीनगर-९ स्थित खुट्टीडाँगी सामुदायिक वन उपभोक्ता समूहले जथाभावी फोहोर फ्याँक्नेलाई ठाउँको ठाउँ कारवाही गर्ने भएको छ ।

वन क्षेत्रमा जथाभावी फोहोर फ्याँक्ने क्रम बढेपछि समिति एक्सनमा उत्रिएको हो । शनिबार स्थानीय संघसंस्था तथा उपभोक्ता समितिले सरसफाइ गरेको थियो । सरसफाइका क्रममा वन परिसर क्षेत्रमा फोहोरको डंगुर भेटिएको थियो । वरिपरि बस्ती भएकाले स्थानीय तथा बाहिरका व्यक्तिले वन परिसरलाई डम्पिङ साइट बनाएका छन् ।

सरसफाइका क्रममा वनको उत्तरी क्षेत्रमा वियरका बतल, प्लाष्टिजन्य वस्तु भेटिएको थियो । सरसफाइमा स्थानीय रिदम नेपालले पनि सहयोग गरेको थियो । क्लबका अध्यक्ष रुद्र रोक्का तथा कोषाध्यक्ष इन्द्र ढकालले वन क्षेत्रलाई सफा बनाउने अभियानमा जोडिएको बताए ।
वन समितिले जथाभावी फोहोर नफ्याँक्न आग्रह गरेको छ । वन क्षेत्रमा फोहोर फालेको भेटिए ५ हजारसम्म जरिवाना लिइने वन समितिका अध्यक्ष टंक बहादुर नेपालले बताए । उनले फोहोर फाल्ने व्यक्तिको सूचना दिनेलाई पुरस्कृत र फोहोर फ्याँक्नेलाई दण्डित गरिने बताए ।

पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको उक्त वनलाई सफा र हराभरा बनाउने समितिको उदेश्य छ । त्यसैले वन क्षेत्रको वातावरण स्वच्छ र सफा राख्न सबै पक्ष लाग्नु पर्ने वन समितिका कार्यालय सचिव राजु धिमालले बताए ।

२०८० असार १७, आईतवार प्रकाशित 1 Minute 288 Views

ताजा समाचार