
झापा । झापामा डेंगी रोगको संक्रमण बढ्न थालेको छ । गर्मी र वर्षा मौसममा झापामा डेंगी रोगको संक्रमण बढ्दै गएको हो । करिब एक महिनामा बिर्तामोडमा ६ जनामा डेंगी रोगको संक्रमण देखिएको बिर्तामोड नगरपालिकाका सिनियर अहेब दीपक सापकोटाले बताए । केही दिनअघि एक महिलाले एडभान्स ल्याबमा परीक्षण गराउँदा डेंगी पुष्टि भएको उनले बताए ।
स्वास्थ्य कार्यालय झापाका अनुसार जेठ महिनामा जिल्लाका ३८ जनामा डेंगी संक्रमण देखिएको छ । त्यस्तै वैशाखमा ५१ , चैतमा ४० , फागुनमा ४३ , माघमा २६ , पुसमा ३४ , मङ्सिरमा ४४ , कात्तिकमा १३० , असोजमा १३४ , भदौमा १०७ जनामा संक्रमण पुष्टि भएको थियो ।

डेंगी सङ्क्रमणबाट गत असोजमा दुई जनाको मृत्यु भएको थियो । स्वास्थ्य कार्यालय झापाका परिवार नियोजन अधिकृत भद्रपुर ७ सरस्वती टोल निवासी ५७ वर्षीय शशिकुमार भट्टराईको डेंगी सङ्क्रमणबाट मृत्यु भएको थियो । त्यस्तै बिर्तामोड – ३ निवासी एक महिलाको बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । काठमाडौँको सरस्वती क्याम्पसको लाइब्रेरी शाखामा कार्यरत ५२ वर्षीया निशा छेत्रीको डेंगीबाट मृत्यु भएको हो । डेंगीको संक्रमण बढ्दै गएपनि त्यसको सबै रिपोर्ट नआउने गरेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चूडामणि लुइँटेलले बताए ।
कोशी प्रदेशमा नै डेंगी रोगको संक्रमण फैलन थालेको हो । चार वर्ष पहिले महामारीको रुपमा फैलिएको डेंगी रोगको संक्रमण पुनः फैलिन थालेको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । निर्देशनालय स्रोतका अनुसार कोशी प्रदेशका सुनसरी र सङ्खुवासभामा सबैभन्दा बढी बिरामी फेला परेका छन् ।