२०८१ चैत्र १० आईतवार

मेचीनगरमा अब मापसे जस्तै लापसे पनि जाँचिने

मेचीनगर । अन्तराष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैद्य ओसारपसारविरुद्ध दिवसको अवसरबाट प्रहरीले मापसे जस्तै अर्को अभियान शुरु गरेको छ । लापसे अर्थात् लागुपदार्थ सेवन जाँच । मादक पदार्थ सेवन (मापसे) का साथै लागुपदार्थ सेवन गरेर सवारी चलाए नचलाएको जाँच गर्न थालेको हो ।

मादक पदार्थसँगै लागुऔषध प्रयोग गरेर पनि सवारी चलाउने क्रम बढेपछि यो अभियान शुरु गरिएको ट्राफिक प्रहरी नायव निरीक्षक लिला श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार सवारी चालकमा लागुपदार्थ प्रयोग गरे-नगरेको जाँच गरिएको छ । लागुपदार्थ सेवन गरेको नगरेको थाहा पाउन सक्ने किटको माध्यमबाट राजमार्गमै लापसे (लागुपदार्थ सेवन) चेकजाँकको अभियान शुरु गरिएको हो ।

लागुऔषध सेवन गरेर सवारी चलाउनाले देशैभर दुर्घट्नाको तथ्यांक बढिरहेको छ । जसलाई मध्यनजर गर्दै लागुऔषधकै क्षेत्र खुल्ला सीमा पूर्वीनाकामा सक्रिय सुरक्षाकर्मी, ट्राफिक प्रहरीलगायतको तदारुकतामा यस अभियानको शुरुवात भएको हो । दुर्घटनालाई न्यूनीकरण गर्नका लागि यो अभियानको प्रारम्भ गरिएको श्रेष्ठले बताए ।

नार्कोन नामक संस्थाले “ड्रग यूरिन टेस्ट” नामक पिसाब किटमा राखेपछि लागुऔषध प्रयोग गरे-नगरेको थाहा हुने उनको भनाई छ । ‘यदि कसैले लागुऔषध प्रयोग गरेको छ भने तत्कालै त्यसले देखाउँछ,’ श्रेष्ठले भने, ‘कुन लागुऔषधको प्रयोग गरेको हो त्यो पनि देखाउँछ ।’ उनका अनुसार लापसे जाँच गर्ने ५७ वटा किट काँकरभिट्टा खानेपानी र स्वतन्त्र मजदुर संघले संयुक्त रुपमा उपलब्ध गराएको थियो ।

जुन अभियान अन्तर्गतको पहिलो दिन हिजो (सोमबार) सार्वजनिक बस, म्याजिक, सिटि सफारी लगायतका चालकलाई लागुऔषध सेवन परिक्षण गरिएको थियो । जसमा दुई जना चालक लागुऔषध सेवन गरेर सवारी चलाएको अवस्थामा भेटिएका थिए ।

उनीहरुलाई आवश्यक कारवाही अघि बढाइएको ट्राफिक प्रहरी कार्यालय काँकरभिट्टाका इन्चार्ज लिला श्रेष्ठले जनसंसद्लाई जानकारी दिए ।

२०८० असार १२, मंगलवार प्रकाशित 1 Minute 2189 Views

ताजा समाचार