२०८१ जेष्ठ ८ मंगलवार

झापामा ट्रक र कार ठोक्किँदा बाबुछोरीको मृत्यु

झापा । झापामा अलगअलग घटनामा आज बिहान तीनजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हल्दिबारी गाउँपालिका–२ स्थित चिया बगानमा जंगली हात्तीको आक्रमणबाट एकजनाको र शिवसताक्षी नगरपालिकास्थित झिलझिलेमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको हो ।

भद्रपुर नगरपालिका–७ का ५३ वर्षीय गिरेन कर्मकारलाई आज बिहान महेन्द्र पोखरेलको चिया बगानमा जंगली च्याउ टिप्ने क्रममा हात्तीले कुल्चेर मारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताए ।

यसैगरी, पूर्वपश्चिम राजमार्गको शिवसताक्षी–९ स्थित भालुखोलामा पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र १–०२–०० क ३८७९ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्र १–०१–०० च ७४८२ नम्बरको कार एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कारमा सवार मोरङको उर्लाबारी नगरपालिका–६ मा बस्दै आएका ४५ वर्षीय गुरुचन चौधरी र उनकै छोरी १८ वर्षीया कुमकुम चौधरी रहेको प्रहरीले जनाएको छ ।

गुरुचनका छोरा १० वर्षीय विवेक चौधरी, रतुवामाई नगरपालिका–१० का १९ वर्षीय रिकेश न्यौपाने र उर्लाबारी–७ का ४० वर्षीया मुना साह घाइते भएका प्रहरी प्रवक्ता रिजालले जानकारी दिए । उनका अनुसार घाइतेको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

२०८० असार १२, मंगलवार प्रकाशित 0 Minutes 189 Views

ताजा समाचार