काँकरभिट्टा । अन्तराष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको दिवसको अवसरमा मेचीनगरको काँकरभिट्टामा र्याली निकालिएको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा र मेची सामुदायिक सेवा केन्द्रको आयोजना तथा लागुऔषधविरुद्धकै अभियानमा पूर्वी नाकामा सक्रिय विभिन्न संस्थासँगको सहकार्यमा सोमबार र्याली निकालिएको हो ।
‘लागुपदार्थको खेति र कारोबार भताभुङ्ग परिवार र बास हुन्छ कारागार’ ‘स्वास्थ्य, सवल र समृद्ध नेपालको प्रतिवद्धता लागुऔषध अपराधविरुद्धको ऐक्यवद्धता’ लगायत लागुऔषधविरुद्धको सचेतना स्वरुप विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेर इलाका परिषरबाट निस्किएको र्याली काँकरभिट्टा बजार परिक्रममा गर्दै बाहुण्डाँगी रोडमा रहेको ‘बोर्डल्याण्ड क्याफे एण्ड बार’ परिषरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथी मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागुऔषधको दुव्र्यसनी समाजमा व्यापक बन्दै गएको र यसलाई न्युनिकरणका लागि हरेक क्षेत्र सचेत बन्नुपर्ने बताए । लागुऔषध न्युनिकरणका लागि नगरपालिकाले पनि प्रभावकारी कार्यक्रमको खोजी गरिरहेको र यस क्षेत्रमा बजेट नै निर्धारण गरेर कार्यक्रम सञ्चालन गरिने उनको भनाई थियो ।
अन्तराष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको दिवसको अवसर पारेर इलाका प्रहरी कार्यालय र मेची सामुदायिक सेवा केन्द्रले यसअघि देखिनै सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिरहेका थिए । अन्तरक्रियादेखि टोलटोलमा पुगेर सचेतनामुलक कार्यक्रम स्वरुप सप्ताहव्यापी कार्यक्रम आयोजना भएको थियो । जसको समापन स्वरुप सोमबार दिवसका अवसरमा र्याली निकालिएको इलाका प्रहरी कार्यालयका प्रमुख दिपक भारतीले जानकारी दिए ।