२०८१ आश्विन ४ शुक्रबार

बिर्तामोडको नीति तथा कार्यक्रम : सुर्तीजन्य पदार्थको विक्री वितरणमा रोक

बिर्तामोड । बिर्तामोड नगरपालिकाले सुर्तीजन्य पदार्थ चुरोट, खैनी, गुट्खा आदिको विक्री वितरण गर्न नपाउने नीति कार्यक्रममा उल्लेख गरेको छ । आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आइतबार नगर प्रमुख पवित्रा महतारा प्रसाईँले बिर्तामोड नगर क्षेत्रभित्र सुर्तीजन्य पदार्थ विक्री वितरणमा पूर्ण रुपमा रोक लगाइने नीति लिएको बताइन् ।

नीति तथा कार्यक्रममा नगर अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा सञ्चालन गरिनुका साथै डायलिसिस सेवा सुचारु गरिने, नगर भित्रका अति विपन्न परिवारलाई छनौट गरी निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिइने, सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न नगरमा स्थायी बसोबास भएका विद्यार्थीलाई पहिलो प्राथमिकता कम्तीमा ८० प्रतिशत सिट सुरक्षित हुने गरी भर्ना गराउने नीति लिइएको उल्लेख गरिएको छ ।

कार्यक्रममा कनकाई बिर्ता अर्जुन नवीकरणीय ऊर्जा कम्पनीलाई ३ वटा नगरपालिकाको स्वामित्वमा लिई नगरपालिकाहरूको आपसी सहमतिबाट फोहोर मैलाको व्यवस्थापन गरिने, श्रोतमा नै फोहोरको वर्गीकरण गर्ने कार्यलाई अभियानको रुपमा लैजाने र कुहिने फोहोरबाट पूर्ण रुपमा बायो ग्याँस, जैविक मल तथा नकुहिने फोहोरबाट पेर्वस उत्पादन कार्य गरिने उल्लेख गरिएको छ ।

यस्तै अस्पताल, कारखाना र औद्योगिक फोहोर सम्बन्धित उद्योगहरूले नै व्यवस्थापन गर्ने, नगर क्षेत्रभित्रका खोला र पैनीको जमिनको साँध सिमाना नक्सांकन गर्ने र नगर क्षेत्रको ऐलानी जमिनको नाप जाँच गरी क्षेत्रफल यकिन गरिने उल्लेख गरिएको छ ।

नगरपालिकालाई प्रदूषणमुक्त पूर्ण सरसफाइयुक्त हरित नगर निर्माण गर्नका लागि सार्वजनिक खाली ठाउँमा वृक्षारोपण गरिने र हरेक घरधनीले आफ्नो घर अगाडि २ वटा बिरुवाहरू रोप्न प्रोत्साहित गरिने नीति अवलम्बन गरिने पनि नगर प्रमुख प्रसाईँले प्रस्तुत गरेकी छन् ।

बहाल करको दायरा फराकिलो पार्दै आवासीय प्रयोजनको लागि लागेका घर कोठाहरूको बहाल कर सङ्कलन गर्न सम्बन्धित टोल विकास संस्था परिचालनको नीति अवलम्बन गरिने, नक्सा पासको दायरामा नआएका घरलाई टोल विकास समिति मार्फत दर्तामा ल्याउन अभियान सञ्चालन गरिने, धेरै कर तिर्ने र नियमित कर तिर्ने करदाताहरूलाई पुरस्कृत गरिने, उज्यालो नगरको अवधारणालाई पूर्णतया कार्यान्वयन गरिने, विद्युत् जडान गर्न बाँकी रहेका घर परिवारमा विद्युत् जडान गरिने, एक घर, एक धारा अभियानलाई विस्तार गरी नगरवासीलाई स्वच्छ खानेपानी सेवा उपलब्ध गराइने, मापदण्ड विपरीत र नक्सा पास नगराई बनाइएका संरचनाहरू नगरको सडक तथा ढल बनाउँदा क्षति हुन गएमा घरधनीले नै व्यहोर्नु पर्ने पनि कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै डोमालाल राजवंशी स्मृति रङ्गशालाको स्तरोन्नतिका लागि डिपिआर तयार गरी संघ तथा प्रदेश सरकारसँग आवश्यक बजेट माग गरी निर्माण कार्य प्रारम्भ गरिने, बिर्तामोड ८ मा रहेको दुर्गा देवी गुठीको जग्गामा क्रिकेट खेल मैदान निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने, राष्ट्रियस्तरको डिभिजन टिममा छनौट भई खेल्ने अवसर प्राप्त फुटबल, क्रिकेट, भलिबल तथा अन्य खेलका टिमलाई अनुदान दिइने लगायतका महत्त्वपूर्ण नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

नगर सभामा लिखत प्रमाणीकरण सम्बन्धी विद्ययेक २०८०, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक २०८०, न्यायिक समितिको कार्यविधि सम्बन्धी ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक २० र वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० पेस गरिएको छ । विद्ययेक समिति संयोजक शर्मिला राजवंशीले उक्त विद्ययेक पेस गरेकी हुन् ।
दोस्रो नगर सभाको तेस्रो नगर अधिवेशन अन्तर्गतको दोस्रो बैठक असार १३ गते दिउँसो २ बजे बस्ने नगर प्रमुख प्रसाईँले जानकारी दिइन् ।

२०८० असार १०, आईतवार प्रकाशित 1 Minute 427 Views

ताजा समाचार