२०८१ कार्तिक २४ शनिबार

प्रादेशिक अस्पताल भद्रपुरको गुणस्तरहीन भवन बनाउनेमाथि कारबाही गर्न काँग्रेसको माग

भद्रपुर । नेपाली काँग्रेस भद्रपुर नगर समितिले प्रादेशिक अस्पतालको नवनिर्मित भवन गुणस्तरहीन बनाउने कार्यमा संलग्नमाथि कारबाहीको माग गरेको छ । काँग्रेस नगर समितिले आइतबार। प्रेस विज्ञप्ति जारी गर्दै साबिकको मेची अञ्चलभरका गरिब जनता स्वास्थ्य उपचार गर्न आउने अस्पतालको भवन निर्माण गर्दा गुणस्तरहीन काम गराउन भूमिका खेल्नेमाथि छानबिन गरी कारबाहीको माग गरेको हो ।

नगर सभापति रामबहादुर कँडेल तथा सचिव अनिता रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ—अस्पतालको नयाँ भवनमा निर्माणाधीन आइसियु कक्षमै छतबाट पानी चुहेको देखिन्छ । छानाको फाइवर कमसल भएको र तीन वटा सेक्सनको छानाको जडानबाट पानी चुहिएको अवस्थाले भवन ज्यादै कमसल भएको उल्लेख छ ।

विज्ञप्तिमा अस्पतालको माथिल्लो तलाको छत चुहिएको, फाइवरको छानो कमसल रहेको, झ्याल ढोकाका सामग्री कमसल भएको, शौचालयमा धेरै समस्या देखिएकोले अस्पतालको काम कमसल भएको प्रमाण मिलेको जनाइएको छ । यस्तो कमसल काम गर्ने ठेकेदार तथा अनुमोदन गर्ने प्राविधिक कर्मचारी सहित संलग्नको पहिचान गरी कारबाही गर्न मातहत निकाय सहरी विकास मन्त्रालयसित माग समेत गरिएको छ ।

२४ करोड ६२ लाख रुपैयाँ (भ्याट बाहेक २२ करोड ६१ लाख ३७ हजार ३५२ रुपैयाँ ७१ पैसा) मा २०७४ साल कार्तिक ३० गते काठमाडौँको श्री कन्टेक प्रालि कम्पनीले २०७९ भदौ ३१ गते कार्य सम्पन्न गर्ने गरी प्रादेशिक अस्पतालको भवन निर्माण सम्झौता गरेको थियो । कुशल शर्मा प्रोप्राइटर रहेको सो निर्माण कम्पनीले प्रादेशिक अस्पतालको २ वटा भवनमा ६ वटा ब्लक र एउटा लिफ्ट बनाएको छ । नवनिर्मित भवन रङ्ग लगाएर बाहिरबाट झिलिक्क बनाए पनि भित्र भने ठाउँ ठाउँमा चर्केको, फुटेको, पानीका पाइप र विद्युत् जडानमा लापरबाही गरेको र पानी चुहिएको सामान्य आँखाले पनि देखिन्छ ।

२०८० असार १०, आईतवार प्रकाशित 0 Minutes 235 Views

ताजा समाचार