२०८१ जेष्ठ ६ आईतवार

‘पेनकिलर, आयुर्वेदिक औषधि जथाभावी खाँदा मिर्गौला बिग्रिन सक्छ’

काठमाडौं । मिर्गौलाले शरीरका विकारयुक्त कुरा फाल्ने, रगतमा हुने विषाक्त पदार्थलाई छान्ने, पानीको सन्तुलन मिलाउने, रातो रक्तकोष बनाउन चाहिने हfर्मोन उत्पादन गर्ने, ग्लुकोजको व्यवस्थापन गर्ने लगायत काम गर्छ । तर मिर्गौलामा अल्पकालीन तथा दीर्घकालीन रोग लागेपछि यसको काम गर्ने क्षमतामा कमी आउँछ ।

मिर्गौला राम्ररी काम नगरेपछि शरीरमा विषाक्त पदार्थ थिग्रिंदै जान्छन् । फलस्वरूप त्यसबाट शरीरका अन्य अंगमा समेत असर देखिन थाल्छ । मिर्गौलामा रोग लाग्ने कारण के के हुन् ? यसबाट कसरी बच्ने ? यिनै विषयामा केन्द्रित रहेर मिर्गौलारोग विशेषज्ञ डा. समीरकेशरी वैद्यसँग गरिएको कुराकानी :

मिर्गौलामा के के रोग लाग्छ ?

मिर्गौलामा लाग्ने रोग विभिन्न प्रकारका हुन्छन् । एउटा अनुवांशिक नै हुन्छ, जस्तो कि पोलिस्टर किड्नी डिजिज । यो रोग लागेका मानिसको किड्नीमा जन्मैदेखि पानी भरिएका फोकाहरू हुन्छन् । अर्को ‘क्रोनिक किड्नी डिजिज’ मधुमेह, उच्च रक्तचाप तथा मिर्गौलाको पुरानो रोगका कारण देखा पर्छ ।

आकस्मिक मिर्गौलाको रोग हुन सक्ने अन्य कारण झाडापखाला, मिर्गौलाको पत्थरी, ट्युमर, मिर्गौलामा लाग्ने चोटपटक हुन् ।

मिर्गौलाको रोग लाग्नसाथ हामी अत्तालिन्छौं, जीवन नै सकियो भन्ने ठान्छौं । के मिर्गौलाको रोग त्यति भयानक हुन्छ ?

मिर्गौलाको रोग लागि हाल्दैमा अत्तालिनु पर्दैन । समयमा रोग पत्ता लगाएर उपचार गरियो भने रोग निको हुन्छ । त्यसैले मिर्गौलाको समस्या पत्ता लगाउन पिसाबको जाँच, अल्ट्रासाउन्ड गर्न सकिन्छ ।

मिर्गौलामा रोग लाग्ने मूल जड के हो ?

मिर्गौला खराब हुने मूल कारण उच्च रक्तचाप, मधुमेह, मिर्गौलामा हुने नेफ्राइटिस, मिर्गौलामा संक्रमण र पत्थरी भएमा, प्रोस्टेटको समस्या भएर पिसाब रोकिने समस्या भएमा र जथाभावी रूपमा औषधि सेवन गर्दा मिर्गौला बिग्रिने समस्या हुन सक्छ ।

मिर्गौलामा रोग लागेको के कस्तो संकेत मिल्छ ?

कतिपय अवस्थामा मिर्गौलाको समस्यामा संकेत नदेखिन पनि सक्छ । तर सामान्यतया मिर्गौला खराब हुँदा वाकवाक लाग्ने, श्वासप्रश्वासमा असहज हुने, पेट दुख्ने, निद्रा नलाग्ने, हातगोडा सुन्निने र झम्झमाउने, पिसाब पोल्ने, शरीरको ऊर्जा नभएको महसुस हुने, ढाड दुख्ने, मुख सुन्निने, खानेकुरामा रुचि घट्दै जाने जस्ता संकेत देखिन्छ ।

मिर्गौलासम्बन्धी रोग बालबच्चालाई पनि लाग्छ ?

मिर्गौलाको रोग बालबच्चालाई पनि लाग्न सक्छ । तर उनीहरूमा मुख्य रूपमा देखिने भनेको जन्मजात रूपमा नै हुने मिर्गौलाको समस्या हो । समयभन्दाअघि जन्मेका बच्चामा मिर्गौलाको विकास नै राम्ररी नभएर पनि समस्या हुन सक्छ ।

बालबच्चालाई मिर्गौला सम्बन्धी के कस्तो समस्या हुन सक्छ ?

मिर्गौलाको आन्तरिक रोगका कारण बच्चामा मिर्गौलाको समस्या हुन सक्छ । साथै रगतको नसा च्यापिएको वा बिग्रिएको हुने, मिर्गौलामा शिष्ट बन्ने लगायत समस्या देखिन्छन् । पिसाब संक्रमण गराउने, पिसाबको थैली र नलीका रोगले पनि बच्चामा मिर्गौलामा समस्या निम्ताउँछ ।

मिर्गौलाको रोग लाग्नै नदिन के गर्ने ?

मिर्गौलाको रोग लाग्नै नदिन सबैभन्दा ठूलो कुरा त हामीले सुगर, प्रेसर जस्ता दीर्घरोगबाट बच्नुपर्छ । यी समस्याबाट सबैभन्दा धेरै मिर्गौलामा समस्या देखिने गरेकोले यी समस्या भएका बिरामीले नियमित औषधि लिने, जीवनशैलीमा ध्यान दिने र समय-समयमा परीक्षण गरिरहनुपर्छ । सबैभन्दा ठूलो कुरा जहिले पनि पेनकिलर खाने काम बन्द गर्नुपर्छ । आयुर्वेद औषधि पनि जथाभावी सेवन गर्नुहुँदैन ।

सामान्य मान्छेले पनि सधैं पेनकिलर खाइरहँदा मिर्गौलामा हानि पुगिरहेको हुन सक्छ । साथै मिर्गौला रोगको कहिलेकाहीं लक्षण नदेखिने भएकाले नियमित स्वास्थ्य परीक्षण गराइरहनु पनि जरुरी छ ।

२०८० असार ६, बुधबार प्रकाशित 1 Minute 159 Views

ताजा समाचार