
फाइल तस्बिर
काठमाडौँ, असार ७ गते । ‘सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग’ नारासहित शनिबार ११ औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ । त्यसैले अब योग मान्छेको स्वास्थ्यका लागि मात्र होइन, सिङ्गो पृथ्वीकै स्वास्थ्यसँग जोडिँदै छ । योगको अर्थ नै जोड्नु रहेको योग गुरु विष्णु खड्का औँल्याउनुहुन्छ । उहाँका अनुसार योगले शारीरिक, मानसिकसँगै प्रकृतिसँग आत्मिक र सात्विक रूपले योगले जोड्न सघाउँछ ।

योगगुरुका अनुसार मानिससँग सूक्ष्म शरीर र स्थूल शरीर दुई प्रकारको हुन्छ । स्थूल अर्थात् बाह्य शरीरलाई धोइपखाली गरेर सफा पार्न सकिएला तर मानिसभित्रको सूक्ष्म शरीरलाई पानीले पखाल्न सकिँदैन । सूक्ष्म शरीरको रक्षा गर्ने अर्थात् रोगको निवारणकारी उपाय योग रहेको खड्का बताउनुहुन्छ । त्यस क्रममा खड्काले थप्नुभयो, “जसरी कुनै कम्प्युटरमा भाइरस लाग्दा हटाउन भित्रै प्रतिजैविक पठाउनु पर्छ, त्यसै गरी योग र ध्यान मानिसका लागि कुनै पनि रोग र शोकका विरुद्धमा प्रतिजैविक संयन्त्र हो ।”
योगभित्र अष्टाङ्ग योग अर्थात् प्राणायाम र शारीरिक योग दुवै पर्छन् । एकसाथ ध्यान गर्ने हो भने मानिसको जीवनमा अलौकिक सन्तुलन कायम हुन्छ । त्यसैले पनि योगलाई शरीर र आत्माको मिलन गराउने अद्भुत विज्ञान भनेर विश्वभर चिनिन थालेको छ ।
योग बिरामीले गर्ने हो भन्ने धारणा बिस्तारै हट्दै छ । अचेल बालबालिका, वृद्धवृद्धा, किशोरकिशोरी, रोगी निरोगी सबैको आकर्षण योगतर्फ बढ्दो छ । दैनिक योग गर्नु भनेको रोग लागेपछि उपचार गर्नुभन्दा पहिल्यै त्यसको रोकथाम गर्नु हो भन्ने धारणाले आमसमाजमा गहिरिँदै गएको खड्काले औँल्याउनुभयो ।
कोराना सङ्क्रमणकालपछि नेपालमा योग ध्यानमा आममानिसको आकर्षण उच्च बनेको हो । योग, आयुर्वेद र प्राकृतिक चिकित्सा जीवनका लागि महत्वपूर्ण हो भन्ने सचेतना कोरोनाकालदेखि मानिसमा पुग्न थालेको उहाँ सुनाउनुहुन्छ । दबाइको काम रोग दबाउने हो तर योगले रोग भगाउने हो भन्ने चेतना बिस्तारै जागृत हुँदै गएको उहाँको भनाइ ।
काठमाडौँस्थित सेलेब्रेसन मेडिटेसन सेन्टरका आचार्य महेन्द्र वाशिष्ठ सबैलाई निरोगी बनाउन नेपालमा योगलाई थप व्यापक बनाउनुपर्नेमा जोड दिनुहुन्छ । स्थानीय, प्रदेश र सङ्घ सबैतिर नै योगाभ्यासलाई निरन्तर गराउनुपर्ने सुझाव उहाँको छ ।
आमसञ्चार माध्यमले पनि हरेक दिन एक लहर भए पनि योग र ध्यानका विषयलाई स्थान दिएर यसको सकारात्मक प्रचार गर्नुपर्ने उहाँको ठहर छ । विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रममा योगलाई शान्ति र स्वास्थ्यसँग जोडेर अध्यापन गराउन सके वैज्ञानिक विस्तार हुने आचार्य महेन्द्र औँल्याउनुहुन्छ । योग साधना केन्द्रको विस्तारसँगै सिक्ने सिकाउनेको विस्तार बढ्दो छ । योगसँग पूर्वीय ज्ञान, शान्ति र अहिंसाका विषयलाई जोडेर सरकारले नेतृत्व लिन सक्ने उहाँको धारणा छ । विश्वमा बढ्दो तनाव, युद्ध र आत्महत्याको दर कम गर्न पनि मानिस आत्मिक र यौगिक हुन जरुरी रहेकाले सरकारी तहबाटै प्रवर्धन गर्नुपर्ने सुझाव उहाँको छ ।गोरखापत्र अनलाइन