
कोशी प्रदेशका तीन वटा जिल्लामा बाढी पहिरोका कारण चार जनाको मृत्यु भएको छ।
गएरातिको अविरल वर्षाका कारण ताप्लेजुङ, पाँचथर र संखुवासभामा मानवीय एवं भौतिक क्षति पुगेको छ। बाढी र पहिरोका कारण चार जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-६मा मेहेलेमा पहिरोमा पुरिएर चार जना बेपत्ता भएका थिए। जसमध्ये एक जनाको शव फेला परेको हो। सोही ठाउँका ३० वर्षीय गणेश तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन लिम्बूले जानकारी दिए।
उनका अनुसार घटनामा अझै तीन जना बेपत्ता छन्। उनीहरूको खोजी भइरहेको छ।
पहिरोमा पुरिएका ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, ३३ वर्षीया सन्ध्या बुढाक्षेत्री र नौ वर्षीय बालक प्रज्ज्वल बुढाक्षेत्री बेपत्ता छन्।
ताप्लेजुङमा राति परेको अविरल वर्षका कारण विभिन्न ठाउँमा पहिरो खसेका छन्। कतिपय ठाउँका घरहरू जोखिममा परेका छन् भने कतिपय ठाउँका झुलुङ्गे पुल समेत बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
डिएसपी लिम्बूका अनुसार मैवाखोला गाउँपालिकाको ओदक गाउँमा पनि पहिरो खसेको छ। २०-२१ घर रहेको ठाउँमा पहिरो खसेपनि स्थानीयले उद्धार गर्न नपर्ने जानकारी गराएको उनले बताए।
यस्तै पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढी-पहिरोमा पुरी बेपत्तामध्ये दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका पाँचथरका डिएसपी हरि खतिवडाका अनुसार फालेलुङ गाउँपालिका-३ मा पहिरोबाट आइतबार बिहान ९ वर्षीया बालिका जुना सावदेनको जिवितै उद्धार गरिएको थियो। उनको पनि पाँचथर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी खतिवडाले बताए।
अर्का एक जनाको पनि शव फेला परेको उनले बताए।
हिलिहाङ गाउँपालिका-७ घर भई माउन्टेन बी हाइड्रोमा सेक्युरिटी गार्डको काम गर्ने ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका-११ घर भई सेक्युरिटी गार्डको काम गर्ने २८ वर्षीय हेमराज भन्ने संजोग लिम्बु, फिदिम-५ घर भई हेवा खोलामा गिटी कुट्ने काम गर्ने ५५ वर्षीय राजकुमार राई, हिलिहाड्ड-७ का बोतल हाउस होटलका सञ्चालक २८ वर्षीय आशिष माझी र उनकी श्रीमती २५ वर्षीया एलिसा माझी बेपत्ता हुन्।
उनीहरूमध्ये अर्का एक जनाको शव फेला परेको हो। यद्यपि सनाखत हुन बाँकी छ। चार जना अझै बेपत्ता छन्।
त्यसैगरी संखुवासभामा पनि हेवाखोलामा बाढी-पहिरोका कारण एक जनाको मृत्यु भएको छ। पाँचखपन नगरपालिकाका २६ वर्षीय सन्तोष राईको आइतबार दिउँसो शव फेला परेको हो।
जिल्लामा बाढी र पहिरोमा परी २१ जना विभिन्न ठाउँमा बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए। बेपत्ताहरूको नाम प्रहरीले पाइसकेको छ।
उनका अनुसार तीन जना सामान्य घाइते समेत भएका छन्। जसमध्ये दुई जना मजदुरलाई प्रहरीले उद्धार गरेको हो।
सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने बर्दिया नगरपालिका–७ का २४ वर्षीय टीकाराम चौधरी र ३५ वर्षीय दीपकराज थारूको उद्धार भएको हो।
तीन वटा जिल्लामा बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धारको काम भइरहेको छ।