२०८१ बैशाख ११ मंगलवार

पुस १७ देखि एसियाली राजमार्ग पूर्ण सञ्चालनमा

भारतले अघोषित रूपमा ‘सुरक्षा संवेदनशीलता’ को कारण देखाएर राजमार्ग सञ्चालनमा ढिलाइ गर्दै आएको थियो

झापा ।  एसियाली राजमार्ग पुस १७ देखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । निर्माण सकिएको लामो समयसम्म उक्त राजमार्ग पूर्ण रूपमा सञ्चालन हुन सकेको थिएन । ६ लेनको ‘एसियन हाइवे’ र मितेरी पुल नयाँ वर्षको सुरुवातसँगै गुल्जार हुनेछ ।

उक्त राजमार्ग सञ्चालनमा भारतीय पक्षले गरेको ढिलासुस्तीबारे विभिन्न सञ्चार माध्यमले पटकपटक समाचार र सम्पादकीयमार्फत दबाबसमेत दिएको थियो । गत पुस ६ मा सम्पन्न नेपाल र भारतका भन्सार तथा सुरक्षा अधिकारीहरूको द्विपक्षीय बैठकले ‘मितेरी पुल’ सहितको उक्त राजमार्ग सञ्चालन गर्ने सहमति भएको हो ।

भारतको पानीट्यांकीमा सम्पन्न बैठकपछि जारी द्विपक्षीय सहमतिमा भारतको नक्सलबारी भन्सार डिभिजनकी उपआयुक्त ल्हा छिरिङ शेर्पा र मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठकले हस्ताक्षर गरेका थिए । भारतीय सुरक्षा र भन्सार अधिकारीले भारत सरकारकै लगानीमा निर्मित पुल आफ्नै पक्षबाट समयमा सञ्चालन गर्न नसकेकामा आत्मालोचना पनि गरेका थिए । ‘सहमतिपछि अब पूर्ण रूपमा सञ्चालन हुने टुंगो लाग्यो,’ पाठकले भने, ‘निकै लामो प्रयत्नपछि सफल भयौं ।’

उक्त राजमार्ग सञ्चालनका लागि निरन्तर द्विपक्षीय बैठक भएका थिए । भारतले अघोषित रूपमा ‘सुरक्षा संवेदनशीलता’ को कारण देखाएर राजमार्ग सञ्चालनमा ढिलाइ गर्दै आएको थियो । यसले दुवै देशका नागरिकले सास्ती बेहोर्नुपरेको थियो । भारतीय पक्षले मालवाहक ट्रकबाहेक अन्य सवारीलाई उक्त राजमार्ग प्रयोग गर्न निषेध गर्दै आएको थियो ।

पुरानो पुलबाटै सवारी आउजाउ गर्दा यो नाकामा दैनिकजसो ट्राफिक जाम हुँदै आएको थियो । ‘नयाँ वर्षदेखि नाकाको जाम सबै हट्ने विश्वास छ,’ भन्सार प्रमुख पाठकले भने, ‘अब सवारी आवागमन सहज बन्ने पक्का छ ।’ भन्सार स्रोतका अनुसार चारपांग्रे सवारीलाई उक्त राजमार्गबाट तथा दुई र तीनपांग्रे सवारीलाई पुरानो पुलबाट आउजाउको व्यवस्था मिलाइनेछ । अहिले पुरानो मेची पुल सवारी र पैदलयात्रीको भीडले थेगिनसक्नुहुन्छ । सिटी रिक्सादेखि यात्रुवाहक सवारीका कारण दुई लेनको थोत्रो पुल सधैंको ट्राफिक जामले अस्तव्यस्त हुँदै आएको छ ।

अन्तर्राष्ट्रिय मापदण्डको भव्य सडक र पुललाई भारतले पूर्ण रूपमा सञ्चालन नगरिदिँदा अन्तर्राष्ट्रिय सीमानाका वारपार गर्न यात्रीका लागि ‘युद्ध जित्नु’ जस्तो हुँदै आएको छ । पुल र राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि दुवै मुलुकका यात्रीलाई सहज हुने मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए । ‘नाका वारपार गर्दा अहिले ठूलो सास्ती छ,’ बुढाथोकीले भने, ‘अब चाँडै यो समस्याबाट मुक्ति मिल्ने विश्वास छ ।’

एसिया उपक्षेत्रीय आर्थिक सहयोग–सडक सञ्जाल परियोजना (एसएएसईसी) अन्तर्गत एसियाली विकास बैंक (एडीबी) को करिब डेढ अर्ब भारु ऋण सहयोगमा भारतले ६ लेनको पुल निर्माणसँगै ५ सय मिटर एप्रोच सडक निर्माण गरेको थियो । ०७३ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले मेची नदीमा ५ सय ७५ मिटर लामो ‘मितेरी पुल’ निर्माणमा सम्झौता गरेका थिए ।

इकान्तिपुरबाट

२०७९ पुष १३, बुधबार प्रकाशित 0 Minutes 606 Views

ताजा समाचार