
झापा / काेशी प्रदेशका मन्त्री तथा सांसदहरुले प्रदेशमा चिया नीति तथा ऐन निर्माणको प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाउँनु भएकाे छ ।
विहीवार झापाकाे बिर्तामोडमा आयोजित एक छलफलमा चिया सरोकारवालाहरुको समस्यालाई सुनिसकेपछि उनीहरुले सबै समस्याको हल गर्न प्रादेशिक चिया नीति तथा ऐन निर्माण गरेर जानुपर्नेमा जोड दिनु भएकाे हाे ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडको आयोजना, संवाद समूह कोशी र प्रादेशिक चिया समन्वय समितिको समन्वय तथा सहजीकरणमा भएको छलफलमा सरोकारवालाले चिया क्षेत्रका समस्यालाई मसिनो गरी उजागर गर्नु भएकाे थियाे ।
९८ प्रतिशतभन्दा बढी चिया रहेको कोशीमा चिया बोर्ड नहुनु, प्रदेशको नीति तथा कानून नहुनु दुःखद् भएको सरोकारवालाले बताए । बार्षिक ११ अर्ब रुपैयाँभन्दा बढीको चिया उत्पादन हुँदै अँएकोमा छ अर्ब रुपैयाँ बराबरको चिया भारत तथा तेस्रो मुलुक निर्यात हुँदै आएको छ भने ५ अर्ब रुपैयाँको चिया खपत स्वदेशमै हुँदै आएको छ । ६५ हजारभन्दा बढी श्रमिक र त्यति नै संख्यामा कृषकहरुले चिया क्षेत्रबाट प्रत्यक्ष रोजगारी पाएका छन् भने चियाका दर्जनौं उद्योगमा अर्बौ लगानी रहेको छ ।
काेशी प्रदेशका खानेपानी सिञ्चाई तथा ऊर्जामन्त्री एकराज कार्कीले चिया समस्याको मुल जड नै बोर्ड तथा नीति र कानून नहुनु भएको बताउँनु भयाे । उनले आगामी हिँदे अधिवेशनमा चिया नीति तथा ऐन ल्याउन पहल गर्ने प्रतिबद्धता जनाउँनु भएकाे थियाे।
प्रदेश सभामा नेपाली कांग्रेसका तर्फबाट प्रमुख सचेतक गोपाल तामाङले चिया क्षेत्रका समस्या तत्काल सरकारले सुन्नु पर्नेमा जोड दिनु भयाे ।
सांसद शम्शेर राईले चिया क्षेत्रको समस्या हल गर्न गैर सरकारी विधेयकबाट भए पनि चिया ऐन ल्याउनुपर्ने अक्सन सेन्टर नेपालमै बनाउनुपर्ने, अन्तर्राष्ट्रिय मान्यता प्राप्त टी टेष्टिङ ल्याब स्थापना गर्नुपर्ने र विषादिरहीत चिया उत्पादनमा जोड दिनुपर्ने बताउँनु भयाे ।
सहभागी सांसदहरु छविलाल चुडाल, राधाकृष्ण खनाल, लखीकुमारी गणेश, गोपाल विश्वकर्मा लगायतले प्रदेशमा चिया बोर्ड गठन वा संघीय सरकारको मातहतमा रहेको चिया बोर्डलाई प्रदेशमा ल्याउन पहल गर्नुपर्ने प्रादेशिक नीति तथा चिया ऐन निर्माण गरेर चिया क्षेत्रका समस्यालाई सम्बोधन गर्नुपर्नेमा जोड दिनु भएकाे थियाे ।
नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले निर्यात अनुदानका विषयमा जोड दिए । प्रादेशिक चिया समन्वय समितिका संयोजक समेत रहेका पराजुलीको अध्यक्षतामा छलफल भएको थियो ।
कार्यक्रममा सूर्योदय टी प्रोड्युसर एशोसिएशनका उपाध्यक्ष अरविन्द गिरी, चिया उद्योगीहरु जेपी शर्मा, राजेन्द्रसिंह राजवंशी, केन्द्रीय सहकारी संघका अध्यक्ष हर्क तामाङ, चिया कृषकहरु पर्वत डाँगी, निस्कल राई, चिया श्रमिक नेताहरु दीपक तामाङ, सन्त राई, सीता सापकोटा लगायतले राय सुझाव राख्नु भएकाे थियाे।राखेका थिए । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्र अधिकारीले स्वागतसहित छलफलको औचित्यमाथि प्रष्ट्याएका थिए ।