२०८१ बैशाख १४ शुक्रबार

भारतको केरलामा डुंगा दुर्घटना, २२ यात्रुको मृत्यु

काठमाडौँ । भारतको केरला राज्यस्थित पर्यटकहरू बोकेको डुंगा पल्टिँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । कतिपय यात्रुहरू हराइरहेका छन् । आइतबार राति मालापुरम जिल्लामा भएको उक्त दुर्घटनामा मृतकको संख्या अझै बढ्नसक्ने स्थानीय अधिकारीहरूले बताएका छन् ।

अहिले घटनास्थलबाट डुंगा निकालिएको छ । साथै उद्धार जारी छ । क्षमताभन्दा बढी यात्रु बोकेका कारण डुंगा दुर्घटना भएको मालापुरम जिल्ला प्रहरीका कनिष्ठ सुपरिटेन्डेन्ट अब्दुल नजरले रोयटर्सलाई बताएका छन् । उक्त डुंगामा ५० जना यात्रु रहेको बताइएको छ । जुन डुंगाको क्षमताभन्दा दोब्बर यात्रु संख्या हो ।

उक्त दुर्घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पीडित परिवारमा समवेदना व्यक्त गरेका छन् । स्थानीय मिडियाका अनुसार दुर्घटनाको क्रममा कतिपय यात्रुहरू डुंगामुनि थिचिएर घाइते भएका छन् ।

घटनास्थलबाट कम्तीमा चार जनालाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ । र ती घाइतेहरूको अवस्था गम्भीर रहेको केरलाका खेलकुद तथा मत्स्यमन्त्री भी अब्दुराहिमानले बताएको बीबीसीको समाचारमा उल्लेख छ ।

साथै दुर्घटनाको क्रममा कति मानिस हराइरहेका छन् भन्ने यकिन भइसकेको छैन । तर उनीहरूको खोजी भइरहेको बताइएको छ । दुर्घटनास्थलमा उद्धारका लागि खटिएका एक उद्धारकर्मीले बताए अनुसार उनले चार जना मानिसको शव बाहिर निकालेका थिए । तर उनीहरू कसैको पनि शरीरमा ‘लाइफ ज्याकेट’ थिएन ।

अन्य थुप्रै यात्रुहरूले पनि लाइफ ज्याकेट नलगाएको देखिएको छ । स्थानीय मिडियाका अनुसार यात्राको क्रममा यात्रुहरू डुंगामा रमाइरहेका थिए । सोही क्रममा डुंगा पल्टिएको थियो ।

२०८० बैशाख २५, सोमबार प्रकाशित 1 Minute 141 Views

ताजा समाचार