२०८१ बैशाख १३ बिहीबार

मणिपुरमा किन भड्कियो जातीय दंगा ?

मणिपुरी–कोकी हिंसामा ५४ को मृत्यु

झापा । म्यानमार (वर्मा) सँग सीमा जोडिने पूर्वोत्तर भारतको प्रान्त मणिपुर चार दिनदेखि युद्धभूमि जस्तै बनेको छ । रैथाने मणिपुरी (मैतेई) र जनजाति समुदाय कुकी–जोमीबीच गत बुधबारदेखि चर्किएको हिंसात्मक आन्दोलनका कारण मणिपुर अशान्त बनेको छ ।

जातीय दंगामा ५४ जना सर्वसाधारणले ज्यान गुमाइसकेको र मृतकको संख्या अझै थपिन सक्ने सम्भावना रहेका भारतीय संचारमाध्यमहरुले जनाएका छन् । हजारभन्दा बढी घाइते छन् । हिंसापछि राज्यका धेरै जिल्लाहरूमा मोबाइल इन्टरनेट बन्द गरिएको छ ।

साढे ३६ लाख जनसंख्या रहेको मणिपुरमा बहुसंख्यक अर्थात ३० लाख हाराहारी जनसंख्या रहेको रैथाने मणिपुरी (मैतेई) समुदाय लामो समयदेखि अनुसूचित जाति (सेडुअल कास्ट) को मान्यताका लागि संघर्षरत थियो । त्यो मागप्रति मणिपुरकै अन्य जाति, समुदायले विरोध जनाउँदै आएका थिए । मणिपुर उच्च अदालत मैतेई समुदायको मागप्रति सकारात्मक बन्दै गत १९ अप्रिलमा राज्य सरकारलाई आदेश गर्‍यो, ‘मैतेई समुदायको माग जायज छ । उनीहरुलाई अनुसूचित जातिको दर्जाका लागि मे २९ सम्ममा केन्द्रीय जनजाति मामिला मन्त्रायलमा सिफारिस पेस गर्नु ।’

अदालतको आदेशपछि आदिवासी/जनजाति समुदाय र तिनको विद्यार्थी संघले बुधबार राजधानी इम्फालमा निकालेको ऐक्यबद्धता र्‍यालीमा मणिपुरी–कोकी समुदायबीच झडप भएको थियो । झडपले उग्र रुप लिँदै जाँदा मणिपुर हिंसात्मक बनेको हो । ४ मेमा मणिपुर सरकारले हिंसात्मक आन्दोलन गर्नेहरुलाई ‘गोली ठोक्न’ आदेश नै जारी गर्नुपर्‍यो । यो जातीय दंगाका कारण राज्यका १० हजार बढी सर्वसाधारण विस्थापित भइसकेका छन् । चुराचन्दपुरमा ५ हजार र इम्फाल र मोरेहमा २ हजार जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको सुरक्षा स्रोतले जनाएको छ ।

इम्फाल, चुराचन्दपुर, विष्णुपुर, कांगपोकपी र टेंगनौपालका पाँच जिल्लाका सयौं घर, गिर्जाघर, मन्दिर र सवारीसाधनमाथि तोडफोड र आगजनी भयो । आन्दोलनकारीका आक्रमणमा परी मणिपुरका विधायक र पूर्व जनजाति मामिला मन्त्री, वुङ्गजागिन वाल्टे पनि सख्त घाइते भए । इम्फालस्थित उनको सरकारी निवासमै आक्रमण भएको थियो ।

मणिपुरका मुख्यमन्त्री विरेन सिंहले सद्भाव कायम राख्न गरेको आह्वानको कुनै पर्वाह नगरी दुई समुदायबीच निरन्तर झडप भइरह्यो । मणिपुरीले कोकीलाई र कोकीले मणिपुरलाई आक्रमण गर्ने क्रम अझै जारी छ । कोकी समुदायका आन्दोलनकारीहरु अत्याधुनिक हतियार बोकेरै सडकमा देखिएका थिए । बिहीबारदेखि दंगा नियन्त्रणका लागि केन्द्र सरकारकै निर्देशनमा केन्द्रीय रिजर्भ पुलिस फोर्स, र्‍यापिड एक्सन फोर्सलगायतका विशेष सुरक्षा दस्ता परिचालन गरिएको छ । यद्यपि आन्दोलन मत्थर हुन सकेको छैन । पुलिस बाहेक भारतीय सेना र अर्धसैनिक असम राइफल्सलाई पनि परिचालन गरिएको छ । सेना र असम राइफल्सका जवानहरूले प्रभावित क्षेत्रमा लङ मार्च र हवाई अनुगमन गरिरहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

नेपालीभाषी सुरक्षित

चार दिनदेखि मणिपुरमा भड्किएको जातीय हिंसामा नेपालीभाषीहरु भने सुरक्षित रहेको पाइएको छ ।काङलातोम्वी, कालापहाड, तोरीवारी, नुनपानी, मुकुली, चन्द्रमान, सेती खोलालगायत क्षेत्रमा करिब ५० हजार हाराहारीमा नेपालीभाषी बसोवास गर्छन् । मणिपुरी– कोकी दंगाका कारण कुनै पनि नेपालीभाषी आक्रमणमा नपरेको र विस्थापित पनि हुन नपरेको मणिपुरका नेपालीभाषी राहुल राईले बताएका छन् ।

मणिपुरीहरु बेलाबेला नेपालीभाषीहरुप्रति आक्रामक बन्ने गरेका छन् । उनीहरु नेपालीलाई ‘मैयाङ’ अर्थात विदेश भनेर हेप्ने गर्छन् । अहिले मणिपुरी समुदाय आफैं हिंसाको चपेटामा परेको त्यहाँका नेपालीभाषीहरुले जनाएका छन् । कान्तिपुरबाट

 

२०८० बैशाख २३, शनिबार प्रकाशित 1 Minute 335 Views

ताजा समाचार