शल्यक्रियाअघि रगत परीक्षण, कलेजो कार्यक्षमता, मिर्गौला, मुटुलगायत परीक्षण गराइन्छ । त्यस्तै, आइरन र भिटामिनको कमी भएका बिरामीलाई त्यसको औषधि दिएर १५ दिनपछि सामान्य स्थिति भएपछि मात्र शल्यक्रिया गरिन्छ । मानसिक रोग सिजोफ्रेनियाका बिरामी, क्यान्सर जस्ता जटिल रोग लागेका र कुनै रोगले ग्रसित गम्भीर अवस्थाका बिरामीमा भने यो शल्यक्रिया गर्न मिल्दैन ।
कसरी गरिन्छ शल्यक्रिया ?
बेरिएट्रिक शल्यक्रिया अन्तर्गत पाचनतन्त्रमा केही परिवर्तन गरिन्छ । यसले उक्त व्यक्तिले लिने कुल क्यालोरीमा कमी आउँछ वा पोषक तत्व अवशोषित हुने प्रक्रिया धीमा गराइन्छ । यो सर्जरी गरेको दुई–तीन वर्षमा मोटोपन क्रमशः नियन्त्रण हुँदै जान्छ ।
यसको शल्यक्रिया डेढदेखि दुई घण्टाको अवधिमा सकिन्छ । त्यसको चार घण्टापछि बिरामी हिंडडुल गर्न सक्ने हुन्छन् । ४८ घण्टामा बिरामीलाई डिस्चार्ज गरिन्छ । त्यसपछि उनीहरु आफ्नो दैनिक काम गर्न सक्छन् ।
विश्वभरको सर्जरी विधिमा सबैभन्दा जोखिम कम हुने शल्यक्रिया विधिको रुपमा बेरिएट्रिक सर्जरीलाई लिइन्छ ।
शल्यक्रियापछि
शल्यक्रिया गरेका बिरामीले एक सातासम्म तरल पदार्थको मात्रै सेवन गर्नुपर्ने हुन्छ । यो समयमा उनीहरुमा भोक लाग्ने र शक्ति कम हुने हुँदैन । त्यसपछि केही दिनसम्म पिसेको खानेकुरा, १५ दिनपछि जाउलो गर्दै चिकित्सकको सल्लाह बमोजिम क्रमिक रुपमा अन्य आहारसमेत खान सक्छन् । एक महिनाको अवधिसम्म व्यक्ति सामान्य जीवनमा फर्कन सक्छन् ।
के छ साइड इफेक्ट ?
बेरिएट्रिक सर्जरीपछि खासै साइड इफेक्ट देखिएको छैन । इतिहास हेर्दा १० हजारमध्ये एक जनामा मात्रै यसको समस्या देखिएको छ । कसैकसैलाई संक्रमण हुने वा रक्तश्राव हुने देखिएको छ ।
कति लाग्छ शुल्क ?
यो सर्जरीको चार लाख रुपैयाँसम्म पर्छ । उपकरण अमेरिकाबाट आयात गरिने र एक जनालाई प्रयोग गरेपछि अर्कोमा प्रयोग नहुने नभएकाले यसको शल्यक्रियाको लागत महंगो पर्न जान्छ । अनलाइनखबर