२०८१ बैशाख ८ शनिबार

नोभेम्बरमा चन्द्रमाको छेउमा जाँदै यी चार अन्तरिक्षयात्री

काठमाडौं । संयुक्त राज्य अमेरिकाको अन्तरिक्ष एजेन्सी राष्ट्रिय एयरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) र क्यानडाली अन्तरिक्ष एजेन्सी (सीएसए)ले संयुक्त रूपमा आर्टेमिस दुई मिसनमा उडान गर्ने चार अन्तरिक्षयात्री सार्वजनिक गरेको छ । अमेरिकाको ह्युस्टनमा रहेको नासाको जोन्सन स्पेस सेन्टर नजिकैको एलिङ्टन फिल्डमा आयोजित कार्यक्रममा यी चार अन्तरिक्षयात्रीको नाम सार्वजनिक गरिएको हो ।

आर्टेमिस २ चालक दलमा कमाण्डर रिड विजम्यान, पाइलट भिक्टर ग्लोभर र मिसन विशेषज्ञ क्रिस्टिना कोच र जेरेमी ह्यान्सेन समावेश छन् । ह्यान्सेन अमेरिका र क्यानडाबीचको सम्झौता अन्तर्गत उडान गर्ने क्यानाडाली अन्तरिक्ष एजेन्सी (सीएसए)का अन्तरिक्ष यात्री हुन् । उनी पृथ्वीको कक्ष छोडेर चन्द्रमामा उड्ने पहिलो गैर अमेरिकी हुनेछन् ।

आर्टेमिस २ मिसन अन्तर्गत यी चारै जना अन्तरिक्षयात्री ओरियन अन्तरिक्ष यानमा चन्द्रमाको सतहदेखि करिब १० हजार किलोमिटर टाढाबाट फन्को मार्दै पृथ्वीमा फिर्ता आउनेछन् । यो मिसन आर्टेमिस ३ मिसनका लागि मार्गप्रदर्शक हुनेछ ।

यसअघि सन् २०२२ को नोभेम्बर १६ मा आर्टेमिस १ मिसन अन्तर्गत रित्तो ओरियन अन्तरिक्ष यानले चार सय किलोमिटर टाढाबाट चन्द्रमाको फन्को लगाई डिसेम्बर ११ मा पृथ्वीमा फिर्ता आएको थियो । यसको सफलतापछि आर्टेमिस २ मिसन अघि बढेको हो ।

वर्षाैंको योजना, काम र प्राविधिक विकासपछि सन् २०१७ मा नासाले आर्टेमिस मिसन सुरु गरेको थियो । यस मिसनले दोस्रो पटक मानवजातीलाई चन्द्र धरातलमा उतार्ने लक्ष्य राखेको छ । यसअघि सन् १९६१ मा नासाले अघि सारेको अपोलो मिसन अन्तर्गत अपोलो ११ मिसनले पहिलो पटक मानिसलाई चन्द्रमामा उतारेको थियो ।

२०७९ चैत्र २१, मंगलवार प्रकाशित 0 Minutes 245 Views

ताजा समाचार