२०८१ बैशाख ८ शनिबार

सुसेली साहित्यिक परिवार झापाद्वारा सम्मान तथा पुरस्कार वितरण

काँकरभिट्टा । सुसेली साहित्यिक परिवार झापाले सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । मेचीनगर-६, काँकरभिट्टास्थित देवकोटा पार्कमा शनिबार एक कार्यक्रमको आयोजना गरी स्रष्टा तथा कर्मठ महिलालाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।

परिवारले हरेक वर्ष प्रदान गर्ने ‘वेदकुमारी रेग्मी कर्मठ महिला पुरस्कार’ बाट यो वर्ष काँकरभिट्टाकी जनिता श्रेष्ठलाई पुरस्कृत तथा सम्मान गरेको छ । श्रेष्ठ लामो समयदेखी काँकरभिट्टामा घडी मर्मत गर्ने कुशल मेकानिक्सको रुपमा परिचित छिन् ।

श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि भक्तपुर बहुमुखी क्याम्पसकी सहप्राध्यापक साहित्यकार मुना किरण डाँगी कोइराला, विशेष अतिथि अग्रज साहित्यकार चुडामणी रेग्मी, प्रा. डा, जीवेन्द्रदेव गिरी, मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीलगायतले नगद १३ हजार एक सय रुपैयाँ, सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरे ।

कार्यक्रममा झर्रा कृतिका सर्जग, प्रकाशक तथा सहयोगी साहित्यकारलाई समेत सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा ‘कपना र मुनाहरु’का प्रकाशक पार्वती खरेल, ‘झुल्के घाम’का प्रकाशक पार्वती गिरी, ‘तितो मिठो’का प्रकाशक कृष्णा अधिकारी खनाल, ‘धारा धाराका धार’का प्रकाशक मैया खरेल, ‘पाका मान्छेका कुरा’का जनककुमारी चालिसे तथा ‘भुईंफूल’का सर्जक सुभद्रा भट्टराई रहेका छन् ।

सोही अवसरमा भारतबाट आएका साहित्यकार युवराज काफ्ले, डा. जीवन राणा, प्रा. तेजमान बराईली, मञ्जुला सुब्बा तामाङ, देविका सुब्बा खवास, सुमित्रा शर्मा ‘अविरल’, रोशन राई ‘चोट’, डा. सुकराज दियाली, नीता तामाङलगायतले साहित्यिक रचना वाचन गरेका थिए ।

त्यस्तै नेपालबाट प्रसिद्ध साहित्यकार कोमलप्रसाद पोख्रेल, दमयन्ती गिरी, विरही अधिकारी, हेमन्ता भण्डारी, दधिराम खनाल, दीपा खरेल, हरिनारायण भट्टराई, सुमित्रा वाङ्देल ‘चेली’, टीका चापागाईंलगायतले रचना वाचन गरेका थिए ।

कार्यक्रममा विशिष्ठ अतिथि मेचीनगर प्रमुख बुढाथोकी, अग्रज साहित्यकार रेग्मी, माननीय सांसद इन्दिरा राणालगायतले बोलेका थिए । कार्यक्रममा पुरस्कृत हुने ब्यक्तित्वको परिचय तथा संक्षिप्त जीवनीसमेत प्रस्तुत गरिएको थियो । सोही अवसरमा कर्मठ महिला पुरस्कारबाट पुरस्कृत श्रेष्ठले कार्यक्रमका सहभागी सबैमा मायाको चिनो प्रदान गरेकी थिइन् ।

संस्थाका अध्यक्ष पुण्यप्रसाद खेरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष केन्द्रप्रसाद भट्टराई तथा सञ्चालन सह-सचिव मदन अधिकारीले गरेका थिए ।

 

 

२०७९ पुष ९, शनिबार प्रकाशित 1 Minute 517 Views

ताजा समाचार