२०८१ बैशाख १५ शनिबार

शोभराजलाई पुनः नेपाल आउन नपाउने गरी फ्रान्स पठाउने तयारी

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि रिहा भएका  ‘सिरियल किलर’ चार्ल्स शोभराजलाई फेरि नेपाल आउन नपाउने गरी उनकै देश फ्रान्स पठाउने तयारी गरिएको छ ।

अध्यागमन विभागका अधिकारीहरुले त्यसको तयारी अघि बढाइएको बताएका छन् । केन्द्रीय कारागारमा रहेका उनलाई आज कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाउने तयारी छ ।

अध्यागमन विभागकी निमित्त महानिर्देशक प्रदर्शनी कुमारीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः नेपाल आउन नपाउने गरी शोभराजलाई फ्रान्स पठाउने तयारी भइरहेको बताइन् । ‘नेपालमा अपराध गरेका विदेशी नागरिकलाई समय तोकेरै नेपाल फर्कन रोक लगाउने कानुनी व्यवस्था छ, त्यसमा टेकेर निर्णय हुने सम्भावना छ,’ उनले अनलाइनखबरसँग भनिन् ।

सर्वोच्च अदालतले शोभराजलाई रिहा गर्न र १५ दिनभित्र स्वदेश फर्काउन बुधबार आदेश दिएको थियो । उनलाई केन्द्रीय कारागारबाट बिहीबारै अध्यागमन विभागको जिम्मा लगाउने तयारी थियो । तर उनी रिहा हुन मानेनन् र बिहीबार केन्द्रीय कारागारमै पाहुनाका रुपमा बसे ।

शोभराजलाई कानुनी सहयोग गरिरहेका अधिवक्ता गोपाल शिवाकोटी चिन्तनका अनुसार उनलाई शुक्रबार (आज) मात्र अध्यागमन विभागमा लगिंदैछ ।

जेलरले अध्यागमनको जिम्मा लगाएपछि उनको पासपोर्ट नवीकरण भए/नभएको हेरिने र भिसा प्रक्रिया अघि बढाएर स्वदेश फर्काउने निमित्त महानिर्देशक कुमारीले बताइन् ।

स्रोतका अनुसार नेपाल आउन नपाउने गरी शोभराजलाई फ्रान्स फर्काउनेबारे अध्यागमनका अधिकारीहरुले गृह मन्त्रालयका उच्च अधिकारीहरुसँग परामर्श पनि गरेका थिए । गृहका अधिकारीहरुले कानुनमा भएको व्यवस्था अनुसार गर्न परामर्श दिएका थिए । सोही आधारमा शोभराजलाई पुनः नेपाल आउन नपाउने गरी स्वदेश फर्काउने तयारी अध्यागमन विभागले गरेको हो ।

शोभराजले भने केही समय नेपालमै बस्ने इच्छा व्यक्त गरेका छन् । फ्रान्सबाट आएका आफन्तहरुसँग होटल हायातमा बस्ने र मुटुको उपचार गराउने भन्दै उनले त्यसको प्रबन्ध मिलाइदिन नेपाल सरकारसमक्ष अनुरोध गरेको स्रोतले बतायो । अनलाइनखबर

२०७९ पुष ८, शुक्रबार प्रकाशित 0 Minutes 149 Views

ताजा समाचार