२०८१ बैशाख १४ शुक्रबार

युएईमाथि नेपालको सानदार जित

दुबई (हाम्रो खेलकुद) – सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईमाथि ४२ रनको सानदार जित हात पारेको छ । योसँगै नेपालले युएईलाई पछि पार्दै ३२ अंकका साथ लिग २ मा पाँचौं स्थानमा उक्लिएको छ । शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता प्राप्त गर्न अव चार मध्य दुई खेलमा जित निकाले पर्याप्त हुनेछ ।

जितको लागि २ सय ३० रनको विजयी लक्ष्य पछ्याएको ४६ युएई ओभरमा १ सय ८७ रनमा अल आउट भयो । युएईका ओपनर आसिफ खानले १ सय १५ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ८२ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । नेपालले लिग २ मा पहिलो पटक युएईलाई हराएको हो । ४२ औं ओभरको दोस्रो बलमा दीपेन्द्रसिंह ऐरीले आसिफ खानलाई कट एण्ड बोल्ड गरेपछि नेपाल जित नजिक पुगेको थियो । दीपेन्द्रले लगत्तै अर्को कार्तिक मयाप्पन पनि कट एण्ड बोल्ड आउट गर्दै सहज जिततर्फ अघि बढाए ।
सोमपाल कामीले पहिलो ओभरको दोस्रो बलमै युएईका प्रमुख ब्याटर तथा कप्तान मोहम्मद वासिमलाई शून्यमा बोल्ड आउट गरेका थिए । वासिम एज लागेर बोल्ड हुन पुगेका थिए । तर पहिलो ओभरको दोस्रो बलमै कप्तानलाई गुमाएपनि दोस्रो विकेटका लागि आर्यन लाक्रा र आसिफ खानले ९४ रनको साझेदारी गर्दै राम्रो पूनरागमन गराएका थिए । दीपेन्द्रसिंह ऐरीले लाक्रालाई ५० रनमा एलबीडब्लू आउट गर्दै दोस्रो सफलता दिलाए ।
उनले ७८ बलमा ४ चौका र १ छक्का प्रहार गरे । आरिफले ३० औं ओभरको अन्तिम बलमा युएईका प्रमुख ब्याटर वृत्य अरविन्दलाई १३ रनमा एलबीडब्लू आउट गर्दै नेपाललाई तेस्रो सफलता दिलाएका थिए । वृत्यपछि युएईले लगातार विकेट गुमायो ।
सोमपाल कामीले ३४ औं ओभरको पाँचौं बलमा पूर्व कप्तान सिपी रिजवानलाई ७ रनमा दीपेन्द्रसिंह ऐरीबाट क्याच गराउँदै नेपाललाई चौथो सफलता दिलाएका थिए । मुस्तफा सोमपाल कामीको बलमा ६ रनमा एलबीडब्लू आउट भए । आयन खान २ रनमा रन आउट भएपछि नेपाल खेलमा फर्किएको थियो ।
नेपालका दीपेन्द्रसिंह ऐरीले ८ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ७ ओभरमा १ मेडनसहित २६ रन खर्चेर २ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र आरिफ शेखले एक एक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियो । नेपालका मध्यक्रमका ब्याटर भीम सार्कीले ९९ बलमा ७ चौकासहित सर्वाधिक ७० रनको योगदान दिए । भीमको यो अन्तर्राष्ट्रिय करिअरको उच्च प्रदर्शन थियो ।

भीमले युएईका तीव्र गतिका बलर जहुर खानलाई थर्डम्यानमा चौका हान्दै ७८ बलमा सिनियर टोलीको लागि पहिलो अर्धशतक प्रहार गरेका थिए । भीम ४५ औं ओभरको तेस्रो बलमा रोहन मुस्तफाबाट बोल्ड आउट हुन पुगे । एक समय ६८(५ को दयनीय अवस्थामा पुगेको नेपाललाई भीमले अर्धशतकका साथ खेलमा पुनरागमन गराएका थिए ।

आरिफ शेख ५६ बलमा २ चौका र १ छक्कासहित ४३ रनमा अविजित रहे । प्रतिश जि.सी ६ बलमा १ चौकासहित ११ रनमा अविजित रहे । नेपाललाई खेलमा फर्काउन सन्दीप लामिछाने र भीम सार्कीले छैटौं विकेटका ५६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । सन्दीप ४० बलमा १ चौकासहित २७ रनमा आउट भए ।

तीव्र गतिका बलर जुनैद सिद्दिकको पाँचौं ओभरको दोस्रो बलमा आसिफ शेख सट लेगमा आयन खानले उत्कृष्ट क्याच लिएपछि ६ रनमा पेभेलिएन फर्केका थिए ।

ज्ञानेन्द्र मल्ल जुनैदको नवौं ओभरको अन्तिम बलमा ११ रनमा एलबीडब्लू आउट भए । २६ बल खेलेका ज्ञानेन्द्रले २ चौका प्रहार गरे । कप्तान रोहित पौडेल स्पिनर आर्यन लाक्राको १२ औं ओभरको दोस्रो बलमा एक रनमा बोल्ड भएपछि नेपाल समस्यामा परेको थियो । रोहन मुस्तफाले १५ औं ओभरको पहिलो बलमा कुशल मल्ललाई ३२ रनमा बोल्ड आउट गरे ।

ठूलो सट खेलेका कुशललाई मुस्तफाले अनुभवको फाइदा उठाउँदै स्वलो बलमा बोल्ड गरेका थिए । कुशलले ३२ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

आर्यनको १८ औं ओभरको पहिलो बलमा दीपेन्द्रसिंह ऐरी एलबीडब्लू आउट भएपछि नेपाल ६८–५ को अवस्थामा पुगेको थियो । सातौं विकेटका लागि आरिफ र भीम सार्कीले ५६ रनको साझेदारी गरेका थिए । करण केसी ११ बलमा १ चौका र १ छक्कासहित १७ रन बनाए ।

युएईका जुनैद सिद्दिकले १० ओभरमा १ मेडनसहित ५३ रन खर्चेर ३ विकेट लिए । रोहन मुस्तफाले ९ ओभरमा १ मेडनसहित ४३ रन खर्चेर २ विकेट लिए । आर्यन लाक्राले ८ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । कार्तिक मयाप्पनको नाममा एक विकेट रह्यो । नेपाल पहिलो खेलमा युएईसँग ६८ रनले पराजित भएको थियो ।

अव लिग २ को अन्तिम सिरिज नेपालमा बिहीबार देखि नेपालमा सुरु हुनेछ । नेपाल, पपुवा न्युगिनी र युएईबीच टियुमा त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ ।

२०७९ फाल्गुन २२, सोमबार प्रकाशित 0 Minutes 198 Views

ताजा समाचार