२०८१ बैशाख ५ बुधबार

एभिनियरलाई बुढासुब्बा गोल्डकप

सुनसरी । पहिलो पटक सहभागिता जनाएको क्यामरुनी टिम एभिनियर एफसी २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विजेता बन्न सफल भएको छ ।

बुढासुब्बा गोल्डकपमा तेस्रो पटक सहभागिता जनाएर फाइनलमा पुगेको झापाको काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरविरुद्ध शनिबार धरान रंगशालामा १–० गोल गर्दै क्यामरुनी टिम एभिनियरले उपाधि कब्जा गरेको हो । एभिनियरको जितमा सब्बा अलीले ६५ औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । केएफटीसीका स्ट्राइकर यामी घाइते भएर उपचारका लागि मैदानबाहिर भएका बेला १० जना सीमित हुदै गर्दा काउण्टर एटेकमा सब्बाले प्रहार गरेको बल बारमा ठोक्किँदै गोलमा परिणत भएको थियो ।

विजेता एभिनियरले १० लाख र उपविजेता केएफटीसीले ५ लाख रुपैयाँ पुरस्कार पाए । सेमिफाइनलमा एन्फा मोरङलाई २–० गोलले पराजित गर्दै एभिनियर फाइनलमा पुगेको थियो भने पहिलो सेमिफाइनलमा युनाइटेड कर्साङ क्लब युकेएफसीलाई ३–१ गोलले हराएर काँकडभिट्टाले फाइनलमा पुगेको थियो ।

उत्कृष्ट खेलाडी केएफसीटीका मिलन राई घोषित भए । उनले १ लाख रुपैयाँ पुरस्कार पाए । म्यान अफ द म्याच क्यामरुनी खेलाडी रिचर्ड विल्सन भए । उनले १० हजार पाए । प्रतियोगिताका उत्कृष्ट डिफेन्डर क्यामरुनकै साङगु, उत्कृष्ट मिडफिल्डर जोए एल्डु, उत्कृष्ट स्ट्राइकर केएफटीसीका यामी, उत्कृष्ट गोलकिपर मोरङका प्रजन गच्छदार, उत्कृष्ट खेलाडी केएफटीसीका मिलन राई, उत्कृष्ट प्रशिक्षक क्यामरुन टिमका आशिक थापा मगर घोषित भए । उनीहरूले जनही २५ हजार रुपैयाँ पाए । उदीयमान खेलाडी आयोजक धरान फुटवल क्लबका विवेक राई भए । उनले १० हजार पाए । सर्वाधिक गोलकर्ता केएफटीसीका निशान लिम्बु भए । उनले ३५ हजार पाए ।

यसअघि झापाको केएफटीसीले काँकडभिट्टा र इटहरीमा भएको खेलमा क्यामरुनी टिमलाई हराएको थियो ।

२०७९ फाल्गुन २०, शनिबार प्रकाशित 0 Minutes 228 Views

ताजा समाचार