२०८१ बैशाख ८ शनिबार

मोटोपनले हृदयघात र मस्तिष्कघातको जोखिम दोब्बर

काठमाडौं : विलासी जीवनशैली, जंकफूडको अत्यधिक प्रयोग जस्ता कारणले पछिल्लो समय मानिस मोटोपनबाट पीडित हुँदै गएका छन्। वर्ल्ड ओबेसिटी फेडरेशनले सार्वजनिक गरेको प्रतिवेदनले त सन् २०३५ सम्म विश्वका आधा मानिस मोटोपनको शिकार हुने चेतावनी दिएको छ। मोटोपन भनेको मानिसको आफ्नो उचाइअनुसार तौल बढ्नु तथा छातीभन्दा पेट बढ्नु हो।

मोटोपन नियन्त्रण गर्न सकिएन भने विभिन्न रोगको जोखिम बढ्दै जान्छ। मुटुरोग, मधुमेह, उच्च कोलेस्टेरोल जस्ता नसर्ने रोगहरूको प्रमुख कारक मोटोपन मानिन्छ। मोटोपनले नसर्ने रोगहरूको जोखिम कसरी बढाउँछ मुटुरोग विशेषज्ञ डा ओम मूर्तिको भनाइ :-

मानिसको शरीरमा मोटोपन बढ्दै जाँदा मुटुरोगको जोखिम उच्च हुने गर्छ। विशेषगरी मुटुरोग र हृदयघात मोटोपन तथा उच्च रक्तचापबीच घनिष्ठ सम्बन्ध हुने गरेको छ। रगतमा कोलेस्टेरोल बढ्ने, उच्च रक्तचाप जस्ता स्वास्थ्य समस्याले जटिल खालको मुटुरोगका साथै हृदयघातको समेत सम्भावना धेरै हुने गर्छ।

मानिसमा मोटोपन बढ्दै गएको एक दुई वर्षसम्म समस्या देखिँदैन। त्यसपछि भने विस्तारै स्वास्थ्य समस्या देखिन थाल्छ।

मोटोपनसँग जोडिएर आएका मुख्य रोगमा पहिलो मधुमेह हो। त्यसपछि उच्च कोलेस्टेरोल र उच्चरक्त चाप हुन्। उच्च कोलेस्टेरोल र उच्च रक्तचाप मुटुरोगसँग जोडिने स्वास्थ्य समस्या हुन्। यस्तै उच्च कोलेस्टोरेल र उच्च रक्तचापले मस्तिष्कघात लाग्ने जोखिम पनि धेरै हुन्छ।

मानिसमा पछिल्लो समय हृदयघात र मस्तिष्कघात हुने प्रमुख कारण मोटोपन पनि हो। मोटोपन भएको मानिसमा हृदयघात र मस्तिष्कघातको जोखिम २ गुणा बढी हुन्छ।

मोटोपनले मानिसको मुटुको आकार बढाउने गर्छ। जसले गर्दा मानिसमा अचानक मुटुले काम गर्न छाड्ने सम्भावना धेरै हुन्छ। हाल हृदयघात भएका प्रायः धेरै विरामीमा मोटोपनको समस्या भएको देखिन्छ।

यस्तै मोटोपनले देखाउने अर्को समस्या भनेको मुटुको चालमा गडबडी पनि हो। जसले गर्दा पछिल्लो समयमा युवा उमेरमै हृदयघात हुनेदेखि अन्य मुटुसम्बन्धी देखिने विभिन्न खालका समस्याको मुख्य कारणमा मोटोपन पनि हो।

मोटोपन बढ्दै गएपछि शारीरिक व्यायाम कम गर्न थालेपछि मुटुरोग मात्रै होइन‚ हाडजोर्नीको समस्या समेत देखिन्छ। मोटोपन भएका मानिसलाई भविष्यमा शरीरमा विभिन्न खालका शल्यक्रिया गर्नुपर्ने भयो भने पनि जोखिम बढाउँछ।

समग्रमा भन्नुपर्दा मानिसको तौल जति बढ्दै जान्छ त्यति नै रोगहरूको जोखिम बढ्दै जान्छ। त्यसैले पछिल्लो समयमा मोटोपनले मानिसको आयु समेत घटाइरहेको छ।

पहिला मोटोपनलाई शारीरिक अवस्थाको रूपमा बुझ्ने गरिन्थ्यो। हाल मोटोपनलाई रोगकै रूपमा लिने गरिन्छ। मानिसले आफ्नो उमेर र उचाइअनुसार तौलमात्रै सन्तुलनमा राख्न सक्यो भने धेरै रोगबाट बच्न सकिन्छ।

जसका लागि हरेक मानिसले आफ्नो बिएमआई अनुसारको तौल राख्न सकियो भने धेरै शारीरिक समस्याबाट बच्न सकिन्छ। यो विश्वमा प्रचलित विधि हो जसलाई बडी मास इन्डेक्स भनिन्छ। यो सूत्रअनुसार उचाइलाई मिटरमा नापी आउने अंकको वर्गफलले तौल केजीलाई भाग गर्दा १८.५ देखि २४.९ सम्म भागफल आएको तौललाई सामान्य तौल मानिन्छ।

यसका साथै मानिसले आफ्नो शरीरको सही तौलका लागि मानिसले आफ्नो खानपान, जीवनशैलीलाई विशेष ध्यान दिनुपर्छ। सकभर जंकफूड खानु हुँदैन। यस्तै दैनिक शारीरिक अभ्यासलाई निरन्तरता दिनु आवश्यक छ। थाहा खबरबाट

२०७९ फाल्गुन २०, शनिबार प्रकाशित 1 Minute 327 Views

ताजा समाचार