२०७९ माघ १३ शुक्रबार

कोरोनाको नयाँ सबभेरियन्ट कति संक्रामक, नेपालमा जोखिम कति ?

कुनै भाइरसको उत्पत्तिपछि तिनीहरुको प्रजाति वा उपप्रजाति उत्पत्ति भइरहन्छन् । बीएफ.७ ओमिक्रोनको हाइब्रिड भाइरस हो । यो ओमिक्रोनको सबभेरियन्ट बीए.५ मिक्सअप भएर विकसित भएको प्रजाति हो । तर, कति घातक छ भन्ने अझै यकीन भएको छैन ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भन्यो ‘कोरोना भाइरसको जोखिम फरक स्वरुपमा देखिनसक्छ, सावधानी अपनाउनू ।’

चीनमा ओमिक्रोनको सबभेरियन्ट (उपप्रजाति) बीएफ.७ फैलिएसँगै नेपालमा पनि संक्रमण जोखिम बढ्ने आंकलन गरिएको छ ।

कडा ‘शून्य–कोभिड’ नीति हटाउने चीन सरकारको निर्णयसँगै अस्पतालमा संक्रमितको संख्या बढ्दै गएको छ । अक्टोबरमा संयुक्त राज्य अमेरिका र धेरै युरोपेली देशहरुमा भेटिएको सब भेरियन्ट बीएफ.७ भारतमा पनि देखा परिसकेको छ । जसले गर्दा नेपालमा पनि फैलनसक्ने सम्भावना बढेको जनस्वास्थ्य विज्ञ बताउँछन् ।

सब भेरियन्ट बीएफ.७ (बीए.१ र बीए.२, बीएम.१ लगायतका अन्य सबभेरियन्ट) भन्दा धेरै गुणा बढी संक्रामक मानिएको छ ।

कुनै भाइरसको उत्पत्तिपछि तिनीहरुको प्रजाति वा उपप्रजाति उत्पत्ति भइरहन्छन् । बीएफ.७ ओमिक्रोनको हाइब्रिड भाइरस हो । यो ओमिक्रोनको सबभेरियन्ट बीए.५ मिक्सअप भएर विकसित भएको प्रजाति हो । तर, कति घातक छ भन्ने अझै यकीन भएको छैन ।

नेपालमा फैलिने जोखिम कति ?

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन नेपालमा सबभेरियन्ट बीएफ.७ फैलिनसक्ने आंशका गर्छन् । तर, यो कति संक्रामक हुन्छ भन्ने दुई–तीन वटा कुरामा निर्भर हुने उनको भनाइ छ ।

चीनमा ६० बर्षभन्दा माथिका नागरिकले खोप नलाएको र खोपको प्रभावकारिता कस्तो थियो भन्ने प्रश्न उब्जिएको डा. पुन बताउँछन् । ‘सब भेरियन्टहरु नफैलिने भन्ने हुँदैन । तर, हामीले पनि चीनमा उत्पादन भएको खोप लगाएका छौं’, डा. पुनले अनलाइखबरसँग भने, ‘यदि खोपको प्रभावकारिता ज्यादै न्यून भएमा नेपालमा त्यसको केही प्रभाव पर्छ ।’

डा. पुन अगाडि थप्छन्, ‘खोपसँग सम्बन्धित भएर भारइरसले क्षमता वृद्धि गरेको हो कि ? खोप नलाएका व्यक्तिलाई संक्रमण गरेको हो ? र भारतमा संक्रमणले कस्तो रुप लिन्छ ? त्यस्ता कुराको अध्ययन गरेपछि मात्रै यकीन साथ भन्न सकिन्छ ।’

यसअघि कोरोना भाइरसका अल्फा र डेल्टाजस्ता प्रमुख भेरियन्टले संक्रमणको ठूलो लहर निम्त्याउनुका साथै मृत्युदर पनि बढाएको थियो । अन्य भेरियन्ट भन्दा ओमिक्रोन बढी संक्रामक हुने र खोपको प्रभावकारिता पनि घटेकाले संक्रमण नफैलिनेमा ढुक्क हुन नसकिने जनस्वास्थ्यविज्ञको भनाइ छ ।

डा. संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी पनि बीएफ. ७ ले कति घातक र जोखिम ल्याउँछ अहिले नै अनुमान गर्न नसकिने बताउँछन् ।

‘चीनमा ओमिक्रोनको सबभेरियन्ट बीएफ.७ तीव्र गतिमा फैलिएको छ । संक्रमण पुष्टि भएका बेलायत, अमेरिका जस्ता युरोपेली देशमा संक्रमण बढेको छैन,’ उनी भन्छन् ।

बीएफ.७ सब भेरियन्टको धेरै गुण बीए.५ सँग मिल्ने भएकाले बीए.५ फैलिएको ठाउँमा यो धेरै नफैलिने सम्भावना पनि रहने डा. सुवेदी बताउँछन् ।

ओमिक्रोनका सबभेरियन्टले भन्दा नयाँ सबभेरियन्टले पुनः संक्रमण गराउने सम्भावना रहेको उनको भनाइ छ ।

बीएफ.७ मा रोग प्रतिरोधात्मक क्षमतालाई छल्ने क्षमता पनि देखिएको छ । यस्तो अवस्थामा यो सबभेरियन्ट खोप लगाएका व्यक्तिको लागि पनि खतरनाक हुनसक्छ । केही अध्ययनले बीएफ.७ को प्रजनन दर (आर) पनि उच्च देखाएको छ, अर्थात यसको संक्रमण धेरै उच्च हुने अनुमान गर्न सकिन्छ ।

‘बीए.५ ओमिक्रोनले पाँचदेखि सात जनालाई संक्रमण गराउने पाइएको थियो । तर, बीएफ.७ मा भने संक्रमण दर बढेर १८ जनासम्मलाई सार्ने देखिएको छ’, डा. सुवेदी भन्छन्, ‘बीएफ.७ नै नयाँ ल्याउँछ भनेर यकीन गर्न त सकिँदैन । एक–दुई महिनाभित्र अर्को लहर आउने सम्भावना देखिन्छ ।’

यदि नयाँ लहर आए पनि कत्तिको घातक हुन्छ भन्ने अनुमान गर्न कठिन भएको डा. सुवेदी बताउँछन् ।

सरुवा रोग विशेषज्ञ डा. पुन बीएफ. ७ सबभेरियन्टका कारण मानिस कति जोखिममा पर्छन् भन्नेबारे पत्ता लागिनसकेको र कस्तो अवस्था आउन सक्छ भन्ने अनुमान गर्न गाह्रो रहेको बताउँछन् ।

‘सामान्य लक्षण मात्रै हुनु हो कि थप समस्या ल्याउँछ भन्ने कुरा यकीन गर्न सकिदैन’, डा. पुनले भने, ‘तर, नयाँ सबभेरियन्टले पुनः संक्रमण गराउन सक्ने अन्य देशको तथ्यांकले स्पष्ट देखाउँछ ।’

धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबका प्रमुख डा. राजीव श्रेष्ठ ओमिक्रोनले स्वरुपमा निरन्तर परिवर्तन भइरहेको र फैलनका लागि सहज वातावरण बनाउँदै गएकाले कस्तो अवस्था ल्याउँछ भन्न नसकिने बताउँछन् ।

तर, बीएफ.७ सबभेरियन्ट संक्रमणका कारण वा खोपका कारण शरीरमा विकसित प्रतिरक्षा क्षमता कम भएको देखिन्छ । खोप लगाएका मानिसमा संक्रमण भए पनि जटिलता कम हुने भएकाले अतिरिक्त खोप (बुस्टर) लगाउनुपर्ने डा. श्रेष्ठको सुझाव छ ।

‘नेपालमा थोरै संख्याले मात्रै बुस्टर डोज लगाएका छन् । दुवै डोज लगाएका मानिसमा खोपको प्रभावकारिता घटिसकेको छ’, डा. श्रेष्ठ भन्छन्, ‘अब सरकारले बुस्टर डोजमा र नागरिकले मास्क लगायतका जनस्वास्थ्यको मापदण्ड पालनामा विशेष ध्यान दिनुपर्नेछ ।’

नयाँ सबभेरियन्टले पनि वृद्धवृद्धालाई वा अरु स्वास्थ्य समस्या रहेका मानिसलाई गम्भीर बिरामी बनाउन सक्ने जोखिम यथावत छ । त्यसैले पहिला जोखिमयुक्त वर्गलाई खोप दिनुपर्ने उनको तर्क छ ।

तर नयाँ लहर आउँदा सबैभन्दा बढी जोखिममा रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामी र स्वास्थ्यकर्मी पर्नसक्ने विज्ञहरुको चिन्ता छ ।

‘जाडो महिनामा नयाँ लहरको चक्र चलिरहेको देखिन्छ । नेपालमा नयाँ लहर कुन भेरियन्टले हुन्छ भन्ने स्पष्ट छैन । यस कारणले पनि हामी अछुतो रहन सकिँदैन भन्ने अनुमान गर्न सकिन्छ’, डा. पुन थप्छन् ।’

बुस्टर खोपमा जोड

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ६९ लाख ७२ हजार ७९१ जनाले मात्रै कोरोना भाइरसको बुस्टर डोज अर्थात् तेस्रो मात्रा लगाएका छन् । तर, उक्त खोप लगाएको पनि एक बर्ष नाघिसकेको छ ।

सरकारले कोरोना भाइरसको चौथो डोजसमेत लगाउने निर्णय गरेको छ । तर, उक्त निर्णयबारे नागरिक बेखबर नै छन् । राष्ट्रिय खोप सल्लाहकार समितिको मिति ०७९ भदौं २० गतेको सिफारिस तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय मिति ०७९ कात्तिक १७ गतेको निर्णय अनुसार कोभिड विरुद्ध खोपको दोस्रो बुस्टर अर्थात चौथो खोप दिने विषय लागु गर्न भनिएको छ ।

तर, अहिले यस विषयमा कुनै प्रचार प्रसार छ्रैन । उसो त, चीनमा विकास भएका भेरोसेल तथा सिनोफामका खोपको प्रभावकारिता पनि कम भएको विभिन्न अध्ययनले देखाएका छन् । नेपालमा पनि भेरोसेल र सिनोफार्म प्रयोग भएका छन् ।

‘चीनले अन्य देशको खोप प्रयोग गरेको छैन । अहिले चीनमा जुन भयावह अवस्था देखिएको छ । नेपालमा पनि ती खोप लगाएका मानिस थप जोखिममा पर्छन् कि भन्ने शंका गरिएको छ’, मन्त्रालयका एक अधिकारी भन्छन् ।

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी नेपालको सन्दर्भमा महामारी नियन्त्रण तथा रोकथामका लागि पहिलो तथा दोस्रो डोज लगाएको खोपको प्रभावकारिता घटिसकेकाले ‘जोखिम वर्ग’ लाई बुस्टर डोज खोप दिनुपर्ने सुझाव दिन्छन् ।

‘नेपालमा धेरै जसो तेस्रो डोज लगाएको पनि एक बर्षभन्दा बढी भइसकेको छ । अधिंकाश नागरिकले बुस्टर डोज खोप नै लगाएका छैनन्’, सुवेदी भन्छन्, ‘अब सरकारले बुस्टरका लागि तरुन्तै पहल गर्नुपर्छ ।’

खोप लगाएका व्यक्ति पनि संक्रमणको उच्च जोखिम समूहमा छन् भने त्यस्ता व्यक्तिलाई ‘बुस्टर डोज’ दिनुपर्ने उनको तर्क छ । ‘पहिलो र दोस्रो लहरमै खोप नलगाएका धेरै स्वास्थ्यकर्मी संक्रमित हुन पुगे । ओमिक्रोन नेपालमा फैलिएको अवस्थामा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी संक्रमित हुन सक्छन्’, डा. सुवेदी भन्छन्, ‘त्यसैले स्वास्थ्यकर्मीलाई जोखिमको आधारमा बुस्टर डोज दिन सुरु गरौं ।’

ओमिक्रोन भेरियन्टको फैलने क्षमता तीव्र रहेकोले पूर्ण खोप लगाएपनि ६ महिनापछि त्यस्ता व्यक्तिको एन्टिबडी खस्कँदै जाने भएकोले तत्काल बुस्टर डोज दिनुपर्ने डा. श्रेष्ठको सुझाव छ ।

डा. सुवेदी ओमिक्रोन फैलिरहेको अवस्थामा ओमिक्रोनलाई लक्षित गरेर सरकारले बाइभालेन्ट खोप ल्याउन पहल गर्नुपर्ने बताँउछन् ।

फरक स्वरुपमा देखिनसक्छ

कोरोना भाइरसको जोखिम फरक स्वरुपमा देखिन सक्ने भन्दै बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको छ । नेपालमा कोरोना संक्रमणको संख्या घटे पनि विश्वव्यापी रूपमा केही देशहरूमा संक्रमणका नयाँ स्वरुपमा जोखिम बढिरहेको मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन् ।

भारतमा संक्रमण बढ्दै गएको अवस्थामा त्यसको असर चाँडै नेपालमा देखिने बताउँछन् । पछिल्लो समय भारतमा संक्रमण दर बढिरहेकाले मन्त्रालयले आवश्यक तयारी गर्न मातहतका अस्पताल र स्वास्थ्य संस्थालाई निर्देशन दिइसकेको उनले बताए ।

केही देशहरुमा संक्रमणका नयाँ भेरियन्ट पुष्टि हुँदै गरेको भन्दै प्रवेश विन्दुका हेल्थ डेस्कहरुले तथा स्वास्थ्य संस्थाहरुले आवश्यक तयारी थालिएको उनले बताए ।

‘विश्वव्यापी रुपमा हेर्दा केहि देशहरुमा संक्रमणका नयाँ स्वरुपमा जोखिम बढिरहेका छन् । विशेषतः हाम्रै छिमेकी देशहरुमा संक्रमणको पछिल्ला अवस्थाबाट हामी सुसूचित हुँदै सजग हुन आवश्यक छ’, डा. अधिकारीले भने, ‘नयाँ भेरियन्ट फैलिदै गरेको अवस्थामा मन्त्रालयले निगरानी बढाउने एवं सम्बन्धित देशहरुसँग समन्वय गर्ने कार्य गरिरहेको छ ।’

‘संक्रमण बढ्दै गएमा झन् जटिल अवस्था आउँछ भन्ने चिन्ता थपिएको छ । त्यसैलाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले निगरानी बढाउने, खोपलाई प्राथमिकता दिने तथा अस्पताललाई व्यवस्थापन गर्न तर्फ लागेको छ,’ डा. अधिकारीले थपे । अनलाइन खबरबाट

२०७९ पुष ७, बिहीबार प्रकाशित 0 Minutes 117 Views

ताजा समाचार