
विराटनगर । काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर सुनसरीको धरानमा जारी बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा भारतको यूकेएफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै काँकडभिट्टा फाइनलमा पुगेको हो । धरान रङ्गशालामा भएको खेलमा काँकडभिट्टाका लागि निशान लिम्बू, सुशील राई र विदेशी खेलाडी यामीले एक–एक गोल गरेका थिए । यूकेएफसीका हेमराज भुजेलले एकमात्र सान्त्वना गोल गर्न सफल भए ।

खेलको २२औँ मिनेटमा यामीको गोलबाट अग्रता कायम गरेको काँकडभिट्टाविरुद्ध ४४औँ मिनेट यूकेएफसीका हेमराज भुजेलले १ गोल गरेर पहिलो हाफसम्म बराबरीको स्थितिमा ल्याए ।
दोस्रो हाफमा आक्रामक खेल खेलेको काँकडभिट्टाका लागि खेलको ५०औँ मिनेटमा सुशील राईले गोल थपे । ८९औँ मिनेटमा अर्को गोल थप्दै काँकडभिट्टा विजयी बन्यो ।
यूकेएफसीका खेलाडीले सुशील राईलाई डी एरियाभित्र फल गरेपछि पाएको पेनाल्टीलाई निशान लिम्बूले गोलमा परिणत गरिदिए । बुधबारको खेलको म्यान अफ दी म्याच यामी घोषित भएका छन् । उनले नगद १० हजार पुरस्कार प्राप्त गरे ।
काँकडभिट्टाले अब उपाधिका लागि बिहीबार हुने एभिनियर फुटबल क्लब क्यामरुन र एन्फा मोरङबाट विजयी टिमसँग भिड्नेछ । प्रतियोगिताको विजेताले नगद १० लाख र उप–विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । फाइनल खेल शनिबार हुनेछ ।