२०८२ असार २७ शुक्रबार

आतङ्कवाद अन्त्य गर्न सामूहिक प्रयास आवश्यक

काठमाडौँ, असार २७ गते । दक्षिण एसियामा आतङ्कवाद अन्त्य गर्दै क्षेत्रीय शान्ति स्थापनाका लागि सामूहिक पहलको आवश्यकता रहेको विभिन्न क्षेत्रका विज्ञले औँल्याएका छन् । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री डा. मीनेन्द रिजालले आतङ्कवादले विगतमा राजनीतिज्ञ र आर्थिक शक्तिमाथि लक्ष्य साध्ने गरेकामा पछिल्लो समय जनता पनि उनीहरूको लक्ष्यमा पर्न थालेको स्मरण गर्नुहुन्छ । अबका दिनमा द्विपक्षीय सम्बन्धले मात्र आतङ्कवादलाई समाप्त गर्न नसकिने भएकाले सामूहिक पहलको आवश्यकता रहेको उहाँले स्पष्ट पार्नुभयो । रिजालले नेपालको असंलग्नता, तटस्थता र पञ्चशीलका सिद्धान्तका कारण आतङ्कवादबाट टाढा रहँदै शान्ति स्थापनामा भूमिका रहेकाले अरूभन्दा फरक रहेको बताउनुभयो । तथापि खुला सिमानाका कारण त्यस्ता गतिविधिको चुनौती बढ्दै गएको उहाँले टिप्पणी गर्नुभयो ।

पूर्वपरराष्ट्रमन्त्री एनपी साउद दक्षिण एसियामा आतङ्कवाद मच्चाउनेले विभिन्न देशको शक्ति सङ्घर्षलाई प्रयोग गरिरहेको औँल्याउनु हुन्छ । उहाँ भन्नुभयो, “कुनै पनि देश आतङ्कवादबाट अछुतो रहन सक्दैन । यस क्षेत्रका देशहरू साझा अवधारणाका साथ अघि बढ्नु पर्छ ।”

सांसद चन्दा चौधरीले नेपालको दक्षिणी सिमानमा हुने गतिविधिको निरन्तर निगरानी हुनुपर्ने बताउनुभयो । नेपाल जस्तो अल्प विकसित मुलुकले सुरक्षाका साझा उपाय अपनाउनुपर्ने सुझाव दिनुभयो । यस्तै सांसद शिशिर खनालले यस क्षेत्रका देशको साझा उत्तरदायित्व बुझेर एकअर्कालाई सघाउनुपर्नेमा जोड दिनुभयो ।

पूर्वउद्योगमन्त्री सुनीलबहादुर थापाले प्रतिक्रियावादी आतङ्कवाद र सीमापार आतङ्कवादको जोखिम बढेको उल्लेख गर्नुभयो । नेपाल इन्स्टिच्युट फरक इन्टरनेसनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (एनआइआइसिई) का अध्ययन निर्देशक डा. प्रमोद जैसवालले क्षेत्रीय शान्तिका लागि सबै मुलुकको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले हालसम्म दक्षिण एसियामा भएका आतङ्कवादी घटनाको चर्चा गर्नुभयो । यस्तै नेपाल इन्स्टिच्युट फरक इन्टरनेसनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (एनआइआइसिई) का अध्यक्ष सुमित्रा कार्कीले क्षेत्रीय शान्ति र आतङ्कवाद अन्त्यका लागि दक्षिण एसियाली मुलुकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।आजको गोरखापत्र दैनिकमा खबर छ ।

 

२०८२ असार २७, शुक्रबार प्रकाशित 1 Minute 11 Views

ताजा समाचार