२०८१ बैशाख १४ शुक्रबार

नाकामै कडाइले बेचिनबाट जोगिए चेलीहरु

काँकरभिट्टा । पूर्वी नाका काँकरभिट्टाबाट चेलीबेटी बेचविखन नियन्त्रणको प्रयास प्रभावकारी बन्दै गएको एक तथ्यांकले देखाएको छ ।

चेलिबेटी बेचविखनमा सक्रिय दलालहरुले काँकरभिट्टालाई केही वर्ष अघिसम्म सजिलो नाकाको रुपमा प्रयोग गर्दै आएका थिए । पछिल्लो समय माइती नेपाल लगायतका संस्था र नेपाल प्रहरीले नाकामा उच्च सतर्कता बढाएसँगै चेलीबेटी बेचविखन नियन्त्रणमा कमी आउन थालेको हो ।

चेलीबेटी बेचविखनलाई न्यूनीकरण गर्ने अभियानमा क्रियाशील संस्था माइती नेपालले बुधबार पत्रकार सम्मेलन आयोजना गरेर पूर्वी नाकाबाट हुने चेलीबेटी बेचविखन जस्तो जघन्य अपराधका घटनालाई न्यूनीकरण गर्न सफल भएको जनाएको छ ।

पत्रकार सम्मेलनमा माइती नेपालका क्षेत्रीय संयोजक गोविन्द घिमिरेले अघिल्लो वर्षको तुलनामा यसवर्ष बेचविखनका घटनालाई न्यूनीकरण गर्न सफल भएको जानकारी दिए । ‘हाम्रो निरन्तरको खबरदारी र नाकामा बढाइएको निगरानीले दलालहरु झस्किएका छन्,’ उनले भने । यसपटक धेरै महिला र बालबालिकालाई बेचिनबाट जोगाएको उनको दाबी छ । आफूहरुले शंकास्पद व्यक्तिहरुलाई नाकामै रोकेर परिवारको जिम्मा लगाउने गरिएको उनले बताए ।

माइती नेपालले सन् २०२२ मा १३४ जनालाई रोकथाम गरेको छ भने २०२१ मा यो संख्या ६६ थियो । त्यसैगरी माइती नेपालले यसवर्ष १ जनाको उद्घार गरेको छ भने अघिल्लो वर्ष संस्थाले २२ जनाको उद्धार गरेको तथ्यांकमा उल्लेख छ ।
सन् २०२२ मा ७६ जना हराएको निवेदन माइती नेपालमा परेको थियो । अघिल्लो वर्ष यो संख्या ५८ थियो । त्यसैगरी, मानव बेचविखन सम्बन्धी मुद्धा २ वटा तथा बलात्कार सम्बन्धी २ वटा मुद्धा दर्ता भएका छन् । घरेलु हिंसा सम्बन्धी १८ वटा र नाकामा सोधपुछ १०५८ जनालाई गरी परामर्श दिइएको माइती नेपालको तथ्यांकमा उल्लेख छ । एक वर्षको अवधिमा ५० जनालाई नाकाबाट घर फिर्ता पठाइएको संयोजक घिमिरेले बताए ।

यस्तै, जिल्ला प्रशासन कार्यालय चन्द्रगढीमा पासपोर्ट बनाउन पुगेका ३ हजार ५१ जना महिलालाई परामर्श दिएको र सीमा नाकामा ९ हजार ५ सय ५३ सवारी साधन चेकजाँच गरिएको छ ।

माइती नेपालका क्षेत्रीय संयोजक गोविन्द घिमिरेले कार्यक्रमको सभापतित्व गरेका थिए । कार्यक्रमको सञ्चालन परामर्शकर्ता हेमन्ता बुढाथोकीले गरेकी थिइन् । कार्यक्रममा पत्रकारहरुले जिज्ञासा राखेका थिए । चेलीबेटी बेचविखनविरुद्ध पूर्वी नाका काँकरभिट्टामा माइती नेपाल, साना हात, विश्वसेवा विस्तार लगायतका संघसंस्था क्रियाशील छन् ।

२०७९ पुष ७, बिहीबार प्रकाशित 0 Minutes 377 Views

ताजा समाचार