२०८१ बैशाख १४ शुक्रबार

मस्कले ट्वीटरको सीईओबाट राजीनामा दिने

एजेन्सी । इलन मस्कले सामाजिक सञ्जाल ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट राजीनामा दिने भएका छन् । बुधबार बिहान ट्वीट गर्दै मस्कले सीईओबाट राजीनामा दिने घोषणा गरेका हुन् । उनले सीईओका लागि अर्को व्यक्ति भेटिएसँगै राजीनामा दिने र आफूले सफ्टवेयर र सर्भर टिम हेर्ने बताएका छन् ।

यसअघि मस्कले आफू भविष्यमा ट्वीटरको कार्यकारी प्रमुखका रूपमा रहने वा नरहने विषयमा मत दिन र उक्त मतको आफूले सम्मान गर्ने भन्दै प्रयोगकर्तालाई आग्रहगरेका थिए । ‘के म ट्वीटरको प्रमुख पदबाट हट्नुपर्छ ?’ उनले ट्वीटर प्रयोगकर्तालाई जवाफका लागि ‘हो वा होइन’ मा क्लिक गर्न आग्रह गरेका थिए । आफूले ट्वीटरको सीईओको जिम्मेवारी लिएको केही सातापछि ट्वीटरले प्रयोगकर्ताको मतअनुसार अघि बढ्ने बताएका हुन् ।

एक करोड ७५ लाखभन्दा ट्वीटर प्रयोगकर्तामध्ये ५७.५ प्रतिशतले उनको विपक्षमा मतदान गरेका छन् । पक्षमा ४२.५ प्रतिशतले मत दिए । प्रयोगकर्ताको मतलाई सम्मान गर्ने र आफ्नो फरक राय नरहेको उनको भनाइ थियो ।

मस्कले अप्रत्याशित रूपमा ट्वीटर प्रयोगकर्तालाई प्रतिद्वन्द्वी सामाजिक सञ्जालमा उनीहरूका खाताबारे प्रचारप्रसार गर्न प्रतिबन्ध लगाउने गल्ती गरेको स्वीकार गरेको केही समयपछि सर्वेक्षणका लागि पोस्ट गरेका हुन् । ‘आगामी दिनमा ठूला नीतिगत परिवर्तनका लागि मतदान हुनेछ । म माफी माग्छु । फेरि त्यस्तो हुने छैन,’ उनले लेखेका थिए ।

गत अक्टोबरमा मस्कले कम्पनीको कार्यभार सम्हालेपछि विवादास्पद निर्णयहरू गरिसकेका छन् । त्यस्ता निर्णयमा फलोअरलाई अन्य साइटमा उनीहरूका पोस्ट हेर्न प्रोत्साहित गर्न प्रेरित गरिएको थियो । ‘अब अन्य सामाजिक सञ्जालको निःशुल्क प्रचारका लागि अनुमति दिइने छैन,’ ट्वीटरले भनेको छ । उदाहरणका लागि प्रयोगकर्तालाई इन्स्टाग्राममा ‘फलो मि’ पोस्ट गर्न प्रतिबन्ध लगाइने ट्वीटरले जनाएको छ । ट्वीटरका सहसंस्थापक ज्याक डोर्सीले भने नयाँ नीतिमाथि प्रश्न उठाएका छन् ।

मस्क कार निर्माता टेस्ला र रकेट फर्म स्पेसएक्सका मालिकसमेत हुन् । अक्टोबर २७ मा ट्वीटरको प्रमुख भएदेखि उनी बारम्बार विवादमा आएका छन् । त्यसयता उनले कम्पनीका आधा कर्मचारीलाई बर्खास्त गरिसकेका छन् । पहिले निःशुल्क रहेका सेवाका लागि पनि शुल्क लिन खोजेपछि उनीप्रति प्रयोगकर्ताहरू आक्रोशित बनेका थिए ।

ट्वीटर किनेसँगै उनले सीईओ पराग अग्रवालसँगै उच्च अधिकारीहरूलाईबर्खास्त गरेका थिए ।

२०७९ पुष ६, बुधबार प्रकाशित 0 Minutes 393 Views

ताजा समाचार