२०८१ बैशाख ८ शनिबार

पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपति बनाउनु हुन्न : महामन्त्री शर्मा

‘केपी ओलीको सुनको बालाको कुरामा अलमलिनु अहिले हुँदैन । संसद् विघटन गरेर प्रतिगमनतर्फ लम्किनुभएको थियो, त्यो सबै कोर्स करेक्सन गराउने कुरामा माधव नेपाल, प्रचण्ड, शेरबहादुर देउवाको जुन भूमिका छ, त्यो भूमिका फेरि पनि एक ठाउँमा आउनुपर्छ ।’

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने बताएका छन् । कार्यकारी प्रमुख भइसकेका नेतालाई आलंकारिक राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने महामन्त्री शर्माले बताए ।

प्रतिनिधिसभाको बुधबारको बैठकपछि संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने अभिव्यक्ति दिएका हुन् । पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपति बन्ने आकांक्षा नराख्न पनि उनले अनुरोध गरेका छन् ।

महामन्त्री शर्माले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने उनको भनाइ थियो । ‘मैले शेरबहादुर देउवालाई राष्ट्रपति बनाउँ भनेको हो । तर फेरि म साथीहरूको छलफलबाट के कुरामा सहमत छु भने देशको प्रधानमन्त्री भइसकेर, कार्यकारी अधिकारलाई प्रयोग गरीसकेका कुनैपनि पूर्वप्रधानमन्त्रीहरूले राष्ट्रपति बन्ने आकांक्षातर्फ जानु, अझ उहाँहरूलाई अगाडि सार्नु त्यति उचित नहोला भन्ने साथीभाइहरूको भावनासँग म एकदम सहमत छु,’ उनले भने, ‘त्यसकारणले चाहे शेरबहादुर देउवा, चाहे माधवकुमार नेपाल, चाहे बाबुराम भट्टराई उहाँहरूले कार्यकारी अधिकार प्रयोग गरिसकेर देशको प्रधानमन्त्रीको नेतृत्व गरिरहनुभएको छ । त्यसकारण उहाँहरू समेतको सहभागिता र समर्थनमा रामचन्द्र पौडेल वा अन्य नेताहरूलाई अगाडि सारेर जानु बढी उचित हुन्छ ।’

महामन्त्री शर्माले राष्ट्रपति पदलाई सुनको बालासँग तुलना गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैलाई सुनको बाला देखाएको बताए । ओलीले माधवकुमार नेपाल, झलनाथ खनाल र महन्थ ठाकुरलाई प्रधानमन्त्रीको पद देखाएर अलमल्याउन खोजेको पनि बताए । ‘सुनको बाला देखाउने भनेर कमरेड केपी ओलीले कांग्रेसलाई भन्नुहुन्थ्यो । सुनको बाला निकैवटा छ कि क्या हो ? तपाईंको बालकोटमा ! कहिले उहाँ माधव कमरेडलाई देखाउनुहुन्छ । कहिले झलनाथ कमरेडलाई देखाउनुहुन्छ । कहिले महन्थ कमरेडलाई देखाउनुहुन्छ,’ उनले भने, ‘उहाँको सुनको बालाको कुरामा अलमल्लिनु अहिले हुँदैन । संसद् विघटन गरेर प्रतिगमनतर्फ लम्किनुभएको थियो, त्यो सबै कोर्स करेक्सन गराउने कुरामा माधव नेपाल, प्रचण्ड, शेरबहादुर देउवाको जुन भूमिका छ, त्यो भूमिका फेरि पनि एक ठाउँमा आउनुपर्छ ।’

पुरानो गठबन्धन ब्युँतिँदा जनमतको कदर हुने शर्माको धारणा थियो । संसद्को दोस्रो ठूलो दलले सभामुख र तेस्रो ठूलो दलले प्रधानमन्त्रीको पद लिएको अवस्थामा संसद्को पहिलो दल हुनुका नाताले कांग्रेसले राष्ट्रपतिको पद पाउनुपर्ने उनले बताए । ‘नेपाली कांग्रेस पार्टीले राष्ट्रपति पदमा राष्ट्रिय सहमति नै हुनुपर्छ भनेर हामीले अफिसियल्ली भनेकै छैन । राष्ट्रपति पदमा हाम्रो उम्मेदवारी रहन्छ । र अहिलेको बेलामा कांग्रेस पार्टीले सार्ने उम्मेदवारलाई अहिलेका गठबन्धनमा रहेको दलमध्येको माओवादी पार्टी जसको अध्यक्ष यो देशको प्रधानमन्त्री हुनुहुन्छ, उहाँले समेत समर्थन गरेर जाँदै गर्दा त्यसले केही सन्देश दिन्छ भन्ने कुरामा हामी प्रष्ट छौँ,’ उनले थपे, ‘पहिलो कुरो जनताको बीचमा जाँदै गर्दाखेरी नै जे बचनबद्धता राखिएको थियो हामी सँगसँगै जान्छौँ भनेर, त्यो जनमतको कदर हुन्छ । दोस्रो कुरा, संसदमा तेस्रो दलले देशको प्रधानमन्त्रीको जिम्मेवारी लिइरहेको छ । दोस्रो दलले संसदको सभामुखको जिम्मेवारी लिइरहेको छ भने पहिलो दलले देशको राष्ट्रपति लिने कुरा त्यो बढी स्वभाविक देखिन्छ । प्रधानमन्त्रीले सिंहदरबार, बालुवाटारबाट चलाउनुपर्छ भन्ने हो भने कांग्रेस पार्टीको उम्मेदवारलाई समर्थन गरेर जानुपर्छ ।’

२०७९ फाल्गुन १०, बुधबार प्रकाशित 1 Minute 238 Views

ताजा समाचार