
झापा । नेपाली कांग्रेसको संस्थापनइतर समूहबाट महामन्त्री गगन थापा संसदीय दल नेताका लागि उम्मेदवार हुने समझदारी बनेको छ ।
आज लैनचौरस्थित एम्बास्डर होटलमा भएको संस्थापनइतर समूहको भेलाले नेता शेखर कोइरालाको प्रस्तावमा महामन्त्री थापा संसदीय दल नेता उठ्ने समझदारी बनेको छ ।

१५ औं महाधिवेशनमा महामन्त्री थापासहितले नेता कोइरालालाई सहयोग गर्ने गरी समझदारी बनेको एक नेताले बताए ।
संस्थापनइतर समूहबाट नेता कोइराला र थापा संसदीय दल नेताका लागि उम्मेदवार हुन खोजेपछि एक जना मात्रै उम्मेदवार उठाउन केही दिनदेखि संस्थापनइतर समूहको भेला हुँदै आएका थिए ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि संसदीय दल नेताको उम्मेदवारका लागि गगन थापालाई समर्थन गर्ने घोषणा गरिसकेका छन् ।
संस्थापन समूहबाट भने सभापति शेरबहादुर देउवा संसदीय दल नेताका लागि उम्मेदवार हुने पक्का छ । अब संसदीय दल नेताका लागि देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
निर्वाचन समितिले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नुपर्ने हुन्छ । मनोनयन दर्ताका लागि कांग्रेसले ५१ हजार शुल्क तोकेको छ ।
कांग्रेसमा प्रतिनिधि सभामा ८९ जना सांसद छन् । उनीहरूले बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान गरेर दल नेता चयन गर्नेछन् ।