२०८१ बैशाख १३ बिहीबार

मेसीको करिअर पूर्ण

म्याराडोना र पेलेसँग तुलना गर्न पनि पहिला विश्वकप जित्नुपर्ने तर्क अगाडि सारिन्थ्यो, पाँचौं प्रयासमा विश्वविजेता बनेसँगै मेसीले आलोचकको मुख बन्द गरिदिएका छन् 

दोहा । लियोनल मेसीलाई डिएगो म्याराडोनाको उत्तराधिकारी भनिन्छ । म्याराडोना मेसीलाई खुबै माया गर्थे । म्याराडोना अर्जेन्टिनाको प्रशिक्षक छँदा मेसीले विश्वकप २०१० खेलेका थिए । विश्वकपमा मेसीको सबैभन्दा खराब प्रदर्शन त्यही बन्यो । म्याराडोनाको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले सन् १९८६ को विश्वकप जितेको थियो । त्यसलाई म्याराडोना एक्लैले जिताएको उपाधिका रूपमा पनि लिइन्छ । त्यसैले म्याराडोनालाई अर्जेन्टिनामा भगवान्कै रूपमा पुज्ने गरिन्छ ।

मेसी करिअर सुरु गरेको १७ वर्षपछि विश्वकप २०२२ च्याम्पियन हुँदै म्याराडोनाको असल उत्तराधिकारी साबित भएका छन् । म्याराडोनाले अर्जेन्टिनालाई विश्वविजेता बनाएको ३६ वर्षपछि उस्तै गरी लगभग एक्लो प्रदर्शनमै मेसीले दक्षिण अमेरिकी च्याम्पियनलाई ६.१७५ किलोग्राम सुनको ३६.८ सेन्टिमिटर अग्लो ट्रफी दिलाएका हुन् । उनको दुई गोल सहयोगमा दोहास्थित लुसेल रंगशालामा आइतबार फ्रान्सविरुद्ध ३–३ को बराबरीपछि टाइब्रेकरमा ४–२ को जित निकाल्दै अर्जेन्टिना तेस्रोपल्ट विश्वकप च्याम्पियन भयो ।

सन् २००५ डेब्यु गरेदेखि नै निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका मेसीले प्रतीक्षा गरेको सबैभन्दा ठूलो उपाधि विश्वकप नै थियो । त्यसैले हुन सक्छ, उनले कतारी राजाबाट विशेष पोसाक पहिरिएपछि व्यग्रताका साथ ट्रफीमा नजर लगाउँदै दुई हातले मुसारे । माराकाना (ब्राजिल) मा ८ वर्षअघि फाइनलमा हार्दा भने उनी उत्कृष्ट खेलाडीको गोल्डेन बल अवार्ड लिएर विजेतालाई दिइने ट्रफीतर्फ हेर्दा पनि नहेरी मञ्चबाट बाहिरिएका थिए । फुटबलमा सम्भव सबै प्रतियोगिता जित्ने क्रममा कतारमा आएर पूर्णता दिएपछि उनले भव्य खुसियाली मनाएका छन् । उनले परिवार, साथीभाइ, टिमका सहकर्मीसँग मञ्च, मैदान र गोलपोस्टमा झुन्डिँदै खुसी साटासाट गरे ।

करिअरको अन्तिम विश्वकपमा सहभागी भएको बताएका ३५ वर्षीय मेसी निर्विवाद रूपमै फुटबलका सर्वकालीन महान् खेलाडी हुन् । जम्मा ५ फिट ७ इन्च अग्ला उनको जादुयी प्रदर्शन, गोलका तथ्यांक र जितेका उपाधिले त्यसलाई पुष्टि गर्छन् । यसलाई विश्वकपको उपाधिले पूर्णता दिएको छ । उनले जित्न नसकेको उपाधि विश्वकप मात्रै थियो । उनलाई म्याराडोना र ब्राजिली लिजेन्ड पेलेसँग तुलना गर्न पनि पहिला विश्वकप जित्नुपर्ने तर्क अगाडि सारिन्थ्यो । पाँचौं प्रयासमा विश्वविजेता बनेपछि मेसीले सबै आलोचकको मुख बन्द गरिदिएका छन् । इंग्ल्यान्डबाट खेल्दै विश्वकप १९८६ का सर्वाधिक गोलकर्ता बनेका ग्यारी लिनेकरले भने, ‘मेरो जीवनको सबैभन्दा उत्कृष्ट खेलाडी मेसी नै हुन् । उनको तुलना अरूसँग हुनै सक्दैन । विश्वकप च्याम्पियन पनि भएका छन् । अब उनलाई प्रश्न गर्ने कुनै ठाउँ छैन ।’

मेसी पछ्याउँदै फाइनल हेर्न लुसेल आइपुगेका झापाका अनुशील थापाले भने, ‘मेसी संसारकै सर्वोत्कृष्ट खेलाडी हुन् । उनको सबैभन्दा ठूलो उपलब्धिमा प्रत्यक्षदर्शी हुन पाउँदा निकै खुसी लागेको छ ।’ फाइनल हेर्न नेपालबाट अरू पनि थुप्रै दर्शक आएका थिए । सेवास्टिन भेरोन, कार्लोस टेभेज, जाभियर मास्केरानो, सर्जियो अगुइरोजस्ता उत्कृष्ट खेलाडीको साथ नभए पनि मेसीको नेतृत्वमा औसत टिम विश्वविजेता बन्यो । यसक्रममा ७ गोल गरेका उनी गोल्डेन बुटको होडमा फाइनलमा ह्याट्रिक गरेका फ्रान्सका फरवार्ड केलियन एमबाप्पेभन्दा एक गोलले पछाडि रहे । तीन असिस्ट पनि गरेका मेसीले उत्कृष्ट खेलाडीको गोल्डेन बल अवार्ड दोस्रोपल्ट हात पारे । म्याराडोनापछि प्रतियोगितामा २० भन्दा बढी गोलका अवसर सिर्जना गर्ने पहिलो खेलाडी भएका उनी पाँच संस्करणमा असिस्ट (गोलका लागि फाइनल पास) गर्ने पहिलो हुन् ।

मेसी विश्वकपमा २१ गोल (१३ गोल र ८ असिस्ट) मा संलग्न हुने पहिलो खेलाडी बने । विश्वकपमा सबैभन्दा बढी २६ खेल खेलेको रेकर्ड पनि मेसीकै नाममा भयो । मेसीले करिअरमा एउटै वर्ष (२०२२) सबैभन्दा बढी १८ गोल गरेको पनि यसैपालि हो । यसमा उनले १० खेलमात्रै खेलेका छन् । यसअघि उनले एउटै वर्ष १२ गोल (सन् २०१२) भन्दा बढी गरेका थिएनन् । एउटै संस्करणको सबै तह (समूह चरण, अन्तिम १६, क्वाटरफाइनल, सेमिफाइनल र फाइनल) मा गोल गर्ने एक्लो खेलाडी पनि भए । उनले सातमध्ये ४ गोल पेनाल्टीमा गरे । पोल्यान्डविरुद्ध उनको पेनाल्टी गोलकिपर स्कुजनीले रोकेका थिए । खासमा दोस्रो खेलमा मेक्सिकोविरुद्ध उनले गरेको लोभलाग्दो गोल नै प्रतियोगितामा अर्जेन्टिनाको पुनरागमन थियो ।

वर्षका उत्कृष्ट खेलाडीको अवार्ड बालोन डी’अर कीर्तिमानी सातपल्ट जितेका मेसीले क्लब फुटबलमा के मात्रै जितेका छैनन् ? यूईएफए च्याम्पियन्स लिग चारपल्ट, ला लिगा १० पल्ट, फ्रान्सको लिग वान एकपल्ट, क्लब विश्वकप तीनपल्ट जितेका छन् । राष्ट्रिय टिमबाट पहिलो उपाधिका रूपमा गत वर्ष कोपा अमेरिका जितेका थिए । उनको करिअरको ४२ औं उपाधि हो विश्वकप । सबैभन्दा बढी उपाधि जित्नेमा उनी ब्राजिलका डानी अल्भेस (४३ उपाधि) को नजिक पुगेका छन् ।

सन् १९७८ देखि नियमित रूपमा विश्वकपमा सहभागी अर्जेन्टिनी पत्रकार एजेक्वेल मुरले भने, ‘फुटबल निकै लोकप्रिय थियो र त्यसै बेला हामीले पहिलोपल्ट विश्वकप (१९७८) जितेका थियौं । देशमा निरंकुश शासन रहेका बेला हात पारेको भिन्न उपलब्धि थियो त्यो । तर, सबै सामान्य रह्यो । १९८६ मा विश्वकप जित्दा प्रजातन्त्र आइसकेको थियो । त्यतिबला टिमभन्दा ठूलो नाम म्याराडोना थियो । उपाधि नजितेको भए इंग्ल्यान्डविरुद्ध हातले गरेको गोलको पनि खास चर्चा हुने थिएन । यो (२०२२) सबैभन्दा बढी खुसियाली मनाइएको विश्वकप हो । मेसीप्रतिको माया हो । मेसी फुटबलका प्रतीक हुन् । ३६ वर्षपछि जितेको विश्वकपलाई निकै मन पराइएको छ, सबै शान्त भएका छन् । टिम सबैको प्यारो भएको छ । एउटाका लागि जितेको हो र सबैका लागि जितेको पनि हो ।’

मेसी–रोनाल्डो

अर्जेन्टिनी टिमका कप्तान लियोनल मेसीभन्दा दुई वर्ष जेठा हुन् पोर्चुगलका क्रिस्टियानो रोनाल्डो । यी दुईबीच मैदानमा प्रतिस्पर्धा चर्को छ । खेलाडी आफैंले एकअर्कालाई नराम्रो भनेका छैनन् । तर, को उत्कृष्ट खेलाडी भन्नेमा समर्थकमाझ ठूलै बहस हुन्छ, भर्चुअल रूपमै भए पनि झगडा नै पर्छ । झन्डै १५ वर्षयता फुटबलमा यिनै दुई खेलाडीको खुबै चर्चा छ ।

कसले उत्कृष्ट प्रदर्शन गर्‍यो ? कसले बढी गोल गर्‍यो ? कसले उपाधि जित्यो ? कसले धेरै ट्रफी चुम्यो ? क्लब फुटबलमा त स्पेनको ला लिगा फरक क्लबबाट खेल्थे– रोनाल्डो रियल म्याड्रिड र मेसी बार्सिलोनामा । तर, एकअर्काको टिमबीच भेट नै नहुने प्रतियोगितालाई लिएर पनि मेसी र रोनाल्डोको तुलना गरिन्छ । रोनाल्डोको कप्तानीमा पोर्चुगलले युरोपियन च्याम्पियनसिप (सन् २०१६) जित्यो । उनले मैत्रीपूर्ण खेल विस्थापित गर्न ल्याइएको यूईएफए नेसन्स लिग (२०१९) को उपाधि पनि हात पारे । त्यसैले मेसीमाथि प्रश्न उठ्न थालेको थियो– अन्तर्राष्ट्रिय फुटबलमा के गरे त ? उनलाई बार्सिलोनाका लागि मात्रै खेल्ने गरेको भन्दै अर्जेन्टिनाका लागि खेल्नै नचाहेको आरोप पनि लाग्न थाल्यो ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक तहमा मेसी चुकिरहे । ब्राजिलमा सन् २०१४ मा भएको विश्वकपमा उनले उत्कृष्ट खेलाडीको गोल्डेन बल अवार्ड जिते पनि फाइनलमा अर्जेन्टिनालाई हराएर जर्मनी च्याम्पियन भयो । मेसीको टिमले कोपा अमेरिका (दक्षिण अमेरिकी च्याम्पियनसिप) मा तीनपल्ट (सन् २००७, २०१५ र २०१६) फाइनल हार्‍यो । कोपा २०१९ मा ब्राजिललाई च्यापेको भन्दै रेफ्रीको आलोचना गरेपछि मेसी तीन महिना प्रतिबन्धमै परे । दोस्रोपल्ट रातो कार्ड पनि बेहोरे । त्यसैले कतै मेसी ठूला खेलका खेलाडी होइनन् कि भन्ने शंका बढ्न थाल्यो । गत वर्ष कोपा अमेरिका जितेपछि मेसी पनि युरो विजेता रोनाल्डोको दाँजोमा उभिए । आलोचना केही मत्थर भयो ।

मेसीको कप्तानीमा रहेको अर्जेन्टिना विश्व फुटबलको महाकुम्भको २२ औं संस्करणमा उपाधिको बलियो दाबेदार थिएन । ब्राजिल, फ्रान्स, इंग्ल्यान्ड र स्पेनलाई नै दाबेदार मानिएको थियो । कथा त्यस्तै रह्यो पनि । पहिलो खेलमै अर्जेन्टिनालाई साउदी अरेबियाले २–१ ले हराइदियो । तीन वर्षयता पहिलो हार बेहोरेपछि समूह चरणबाटै घर फर्किने डर बढ्यो । तर, मेसीको टिम त्यही हारबाट माथि उठ्यो । त्यसपछि प्रत्येक खेलमा सुधारिएको प्रदर्शन गर्दै मेक्सिको, पोल्यान्ड, अस्ट्रेलिया, नेदरल्यान्ड्स, क्रोएसिया र फ्रान्सको चुनौती पन्छाएर विश्वविजेता बन्यो । यसले रोनाल्डोमाथि पक्कै पनि दबाब बढाएको छ । ब्रुनो फर्नान्डेज, जाओ फेलिक्स, पेपे, बर्नाडो सिल्भा, रुबेन डायससहितको उत्कृष्ट टिम हुँदाहँॅदै पनि पोर्चुगलको कतार यात्रा क्वाटरफाइनलमै टुंगिएको थियो ।

मेसीले विश्वकपका पाँच संस्करणमध्ये सन् २०१० (दक्षिण अफ्रिका) मा मात्रै गोल गर्न सकेनन् । त्यही टिमका मुख्य प्रशिक्षक थिए म्याराडोना । त्यसको चार वर्षअघि जर्मनीमा विश्वकप खेलेको टिमका डिफेन्डर हुन् लियोनल स्कालोनी । उनी प्रायः बेन्चमै हुन्थे । चार वर्षअघिको विश्वकपमा जोर्गे साम्पाओलीको सहायक रहेका उनी कार्यवाहक हुँदै मुख्य प्रशिक्षक नियुक्त भएका हुन् । पहिलोपल्ट टिम सम्हालेका उनले नै मेसी केन्द्रित टिमलाई शक्तिशाली बनाएका हुन् । उनको आगमनपछि नै मेसीले राष्ट्रिय गीत गाउन थालेका हुन् । स्कालोनीले पाब्लो आइमर, रोबर्टो आयला, वाल्टर सामुयलजस्ता चलेका खेलाडीलाई सहायक प्रशिक्षकका रूपमा टिममा भित्र्याए । त्यसैले पनि अर्जेन्टिनी टिम बलियो बन्यो । २८ वर्षपछि कोपा अमेरिका विजेता बन्यो । ३६ वर्षपछि विश्वकप च्याम्पियन भयो । मेसीको करिअरले पनि पूर्णता पायो । उनले च्याम्पियनका रूपमा अझै खेल्न चाहेको बताएका छन् ।

 

२०७९ पुष ५, मंगलवार प्रकाशित 1 Minute 528 Views

ताजा समाचार