२०७९ माघ १३ शुक्रबार

मिर्गौला कसरी स्वस्थ र सुरक्षित राख्ने ?

मेरुदण्डको दायाँ र बायाँ एक-एकवटा मिर्गौला हुन्छ । मुटु, फोक्सो जस्तै शरीरको अभिन्न अंग हो मिर्गौंला, जसको मुख्य काम शरीरमा तरल पदार्थ नियन्त्रण गर्नु हो ।

हामीले खाएको झोल पदार्थबाट आवश्यक तत्व शरीरले लिन्छ र बाँकी तत्व पिसाबको माध्यमबाट बाहिर निकाल्छ । मिर्गौलाले खासगरी रसायनको स्तर सही राख्ने काम गर्छ । उच्च रक्तचाप नियन्त्रणका लागि मुटुको जस्तै मिर्गौलाको पनि खास भूमिका हुन्छ ।

मिर्गौला र खानपानको साइनो

कुनै तन्दुरुस्त व्यक्ति छ र आफ्नै भान्साको ताजा खानपान गर्छ भने त्यसले मिर्गौलालाई फाइदा नै गर्छ । पोषिलो र ताजा खानेकुरा, मौसमी सागपात र फलफूल, पर्याप्त झोलिलो खानेकुरा खाँदा मिर्गौला स्वस्थ हुन्छ ।

त्यस विपरीत खराब खानपानले मिर्गौलालाई हानि गर्छ । प्याकेटबन्द एवं प्रशोधित खानेकुरा, मदिरा, चुरोट राम्रो मानिंदैन । अध्ययन नभएका र नाम पहिचान नभएका औषधि, जडिबुटीहरु खाँदा पनि मिर्गौलामा क्षति पुग्न सक्छ । एन्टिबायोटिक, पेनकिलरजस्तो औषधिले मिर्गौलालाई नराम्रो असर गर्छ ।

मिर्गौलालाई असर गर्ने भनेको उच्च रक्तचाप, मधुमेहजस्ता दीर्घरोग हुन् । यस्ता रोग लाग्ने वा अनियन्त्रित हुने खानेकुरा खान भएन ।

कस्तो आनीबानीले मिर्गौलालाई हानि गर्छ ?

खानपान पनि आनीबानीभित्रै पर्ने कुरा हो । त्यसबाहेक हामीले अपनाउने दिनचर्या वा गतिविधि यसमा समेटिन्छन् । जस्तो निष्क्रिय बस्नु, तनावग्रस्त रहनु, सुत्ने-उठ्ने तालिका नमिलाउनु, पिसाब च्यापेर बस्नुजस्ता आनीबानी खराब हुन्, जसको प्रत्यक्ष असर मिर्गौलामा पर्छ ।

मानसिक स्थितिको असर मिर्गौलामा

डा. अनन्त आचार्य

हाम्रो मानसिक स्थितिले प्रत्यक्ष–परोक्ष शरीरका अंगहरुलाई असर गर्छ । किनभने शरीर र मन एकअर्कासँग अभिन्न रुपमा जोडिएको हुन्छ । जस्तो हामी चिन्ता लिन्छौं, पिर गर्छौं भने त्यसले मुटुलगायतमा असर गर्छ । मुटुमा समस्या भएमा कारण मिर्गौला खराब हुने जोखिम हुन्छ ।

यदि मानसिक रोग वा डिप्रेसन छ भने उनीहरुले यसको नियन्त्रण गर्ने औषधि खाइरहेका हुनसक्छन् । त्यस्ता औषधि उच्च मात्रामा खाँदा पनि समस्या हुन्छ ।

मिर्गौला सुरक्षित राख्ने काइदा

मिर्गौला स्वस्थ राख्न स्वस्थ जीवनपायन जरुरी हुन्छ । यसको लागि सही खानपान, सही दिनचर्या, सही मानसिक स्थिति । तपाईंले ताजा, पोषिलो र सन्तुलिन खाना खानुपर्ने हुन्छ । सकेसम्म आफ्नै भान्सामा पाकेको खानेकुरा खानु उचित हो । खानामा झोल, सागपात, सलाद अनिवार्य हुनुपर्छ । त्यसैगरी पर्याप्त मात्रामा पानी पिउनुपर्छ ।

बिहान उठ्ने र राति सुत्ने समय निश्चित हुनुपर्छ । किनभने गहिरो र पर्याप्त निद्रा पनि औषधि बराबर हो । बिहान उठेपछि व्यायाम गर्ने, योग गर्नेजस्ता गतिविधि एकदमै राम्रो हुन्छ । दिनमा पनि सक्रिय रहने गर्नुपर्छ । तनाव हुने काम–कुरा एवं व्यवहार त्याग्नुपर्छ । तपार्ईं स्वस्थ खानुहुन्छ, सही मात्रामा खानुहुन्छ, सही समयमा सुत्ने र उठ्ने गर्नुहुन्छ भने तपाईंको मानसिक स्थिती पनि सही रहन्छ । यसले गर्दा मिर्गौला सुरक्षित र स्वस्थ हुन्छ ।

मिर्गौला खराब भएको संकेत

मिर्गौला खराब हुँदा वाकवाक लाग्ने, श्वासप्रश्वासमा अहसज हुने, पेट दुख्ने, निद्रा नलाग्ने, हातगोडा सुन्निने र झम्झमाउने, श्वास गनाउने, जिब्रोको स्वाद बदिलएमा, शरीरको ऊर्जा नभएको महसुस हुने, ढाड दुख्ने, मुख सुनिन्ने, खानेकुरामा रुचि घट्दै जाने जस्ता संकेत देखिन्छ ।

जब शरीरमा भएको विषाक्त तत्व मिर्गौलाले छान्न सक्दैन तब यस्ता संकेत देखिन्छ । यी संकेत मिर्गौला खराब भैसकेपछि तेस्रो चरणमा देखिन्छ । कसैमा विना लक्षण भित्रभित्रै असर गरिरहेको पनि हुनसक्छ । चाडो पहिचान गर्न सकिएन भने मिर्गौला उपचार ढिलो हुन्छ ।

मिर्गौला खराब हुने मुख्य कारण

मिर्गौला खराब हुने मूल कारण उच्च रक्तचाप, मिर्गौलामा हुने नेफ्राइटिस, मिर्गौलामा संक्रमण र पत्थरी भएमा, प्रोस्टेटको समस्या भएर पिसाब रोकिने समस्या भएमा र जथाभावी रुपमा औषधि सेवन गर्दा मिर्गौला बिग्रिने समस्या हुनसक्छ ।

मिर्गौला खराब भएपछि कस्तो उपचार ?

मिर्गौला खराब भएपछि सुरुमा अस्पताल गएर परीक्षण गराएर कुन स्टेजको हो भन्ने पत्ता लाग्छ । नेपालमा दीर्घकालीन मिर्गौला रोगको अन्तिम अवस्थामै अधिकांश व्यक्ति चिकित्सकसमक्ष पुग्ने गरेका छन् ।

मिर्गौला खराब हुँदा पाँचवटा चरण हुन्छन् । पाँचौं चरण अन्तिम चरण हो । चौथो चरणसम्मका बिरामीलाई औषधि सेवनले नै ठीक पार्छ । चारवटा चरणमा भने औषधि खाएर नै ठीक हुन्छ । पहिलो चरणमा छ भने दोस्रोमा जान नदिने दोस्रोमा भए तेस्रोमा जान नदिने गर्दै औषधिले रोक्दै रोक्दै जान्छौं । त्यसपछि औषधि नियमित खानुपर्छ ।

तर अन्तिम अर्थात् पाँचौं चरणमा बिरामी पुगेको छ भने डायलाइसिस मात्र एउटा विकल्प हुन्छ । डायलाइसिस गराउनेहरुले औषधि नियमित खानुका साथै खानपानमा ध्यान दिनुपर्ने हुन्छ । उनीहरुले पानी त्यसपछि खान हुँदैन । मिर्गौलाले काम गर्न छाडिसकेपछि पिसाब छान्निएर नजाने हुँदा पानी नखानु भनिएको हो । खानैपर्ने भए बढीमा एक लिटरसम्म मात्रै पानी खानुपर्छ ।

डायलाइसिसको विधि र अवधि

डायलाइसिस भनेको रगत सफा गर्ने विधि हो । यसलाई कृत्रिम मिर्गौला वा मेसिनरी किड्नी पनि भनिन्छ । डायलाइसिस गराउनु भन्नुको अर्थ मिर्गौलालाई बाह्य सहयोग चाहिन्छ भनिएको हो ।

मिर्गौला खराब भइसकेपछि पिसाब बनाउने र छान्ने काम डायलाइसिसले गर्छ । डायलाइसिसमा हुने डाइलाइजर (फिल्टरिङ मेम्ब्रेन) बिरामीको रगत हालेर छान्ने र पानी फाल्ने र सफा गरेर पुनः बिरामीमा फर्काउने काम हुन्छ ।

यो साताको दुईपटक गर्ने गरिन्छ । चार घण्टाको अवधिमा गरिसकिन्छ । यो धेरै लामो समयसम्म गर्नुपर्छ । डायलाइसिस रोकिएपछि उपचार अघि बढ्दैन । प्रत्यारोपण नगर्ने अवधिसम्म र गर्न नमिल्नेमा गराउनुपर्ने हुन्छ । डायलाइसिस १५–१६ वर्षसम्म पनि गराइरहेका बिरामीहरु दैनिक कामकाज सजिलै गरिरहेका छन् ।

डायलाइसिस दुई प्रकारको हुन्छ, हेमोडायलाइसिस र पेरिटोनियल ।

हेमोडायलाइसिसमा रगतलाई नलीको माध्यमबाट कृत्रिम मिर्गौला मेसिनमा पठाइन्छ र शुद्धीकरण गरेर पुनः नलीका माध्यमबाट शरीरमै फिर्ता गरिन्छ । पेरिटोनियल डायलाइसिसमा आफ्नै पेटको भित्री सतहको सहायतामा रगतलाई डायलाइसेट नामक तरल पदार्थको माध्यमबाट शुद्ध पारिन्छ । दुवै नेपालमा उपलब्ध छ ।

पेटबाट गर्ने डायलाइसिसलाई घरबाट पनि गर्न सकिन्छ । पहिला अस्पतालमा गएर बिरामीलाई सिकाइन्छ । पछि उनीहरुले घरमै बसेर गर्न सक्छन् । डायलाइसिस गर्नेले दैनिक जीवनमा पनि काम गरिरहेका छन् ।

मिर्गौला प्रत्यारोपण गरेपछि मान्छे पूर्ण स्वस्थ हुन्छ ?

मिर्गौला प्रत्यारोपण गरेपछि मान्छे पूर्णतया स्वस्थ हुन्छन् । गुणस्तरयुक्त जीवन पनि बिताएका छन् । प्रत्यारोपणपछि १० वर्षको अवधि राम्रो भनिएको हुन्छ । यो मान्यता मात्र हो १० वर्षपछि पनि राम्रो जीवन बिताएका छन्् । आजीवन औषधि खानुपर्छ । त्यो औषधि पनि छुटाउन हुँदैन ।

तर मिर्गौला प्रत्यारोपण सबैमा रिजेक्सन नहुने भन्ने हुँदैन । कसैमा मिर्गौलामा पछि कम्लिकेसन आयो भने चाहिं अर्को प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।  प्रत्यारोपण छिटो हुन्छ र चाँडै अस्पतालबाट डिस्चार्ज हुन्छन् । दाता सबैभन्दा छिटो ठीक हुन्छन् ।

कस्तो व्यक्तिमा प्रत्यारोपण गर्न सकिंदैन ?

बिरामीमा मिर्गौला प्रत्यारोपण गरेर फाइदा छैन, गरे पनि फाइदा नगर्ने केस छ भने प्रत्यारोपण गरिंदैन । कतिपयको रगत नलीहरुमा अरुमा नमिल्ने हुँदा पनि हुँदा प्रत्यारोपण गर्न सक्दैनौं । कसैको दाता नभेटिने, कसैको प्रत्यारोपणको इच्छा नराख्ने डायलसिस मात्र गराउने हुन्छन् । पहिला रगतको समूह नमिलेर पनि प्रत्यारोपण सम्भव थिएन । अहिले भने फरक समूहको रगत हुँदा पनि प्रत्यारोपण गर्न मिल्ने प्रविधि भित्रिसकेको छ ।

हरेक मिर्गौला प्रत्यारोपण सफल हुन्छ ?

मिर्गौला प्रत्यारोपण सफल हुने संख्या उच्च छ । प्रत्यारोपण रगत नाताभित्रमा गर्नुपर्ने मान्यता छ । १२ वर्षदेखि नेपालमा यसको अभ्यास भइरहेको छ । विरलै मात्रामा मात्र विफल भएको घटना छ ।

(मिर्गौलारोग विशेषज्ञ डा. आचार्यसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)

२०७९ पुष ४, सोमबार प्रकाशित 1 Minute 90 Views

ताजा समाचार