२०८२ असार १५ आईतवार

पूर्वराष्ट्रपति भण्डारी एमालेमै सक्रिय

केशवराज पौडेल

काठमाडौँ, असार १५ गते । जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीको सन्दर्भमा शनिवार आयोजित विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललगायतले स्व.भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) नै राष्ट्रिय राजनीतिको आधार भएको बताउनुभएको छ ।

उक्त समारोहलाई संवोधन गदै प्रधानमत्रन्त्री ओलीले एमालेमा अझै बलियो एकता कायम गरेर अघि बढ्ने उद्घोष गर्नुभयो । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्वको कुनै समस्या नरहेको प्रस्ट पार्नुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा आफू र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच ‘बम पड्काएर’ भ्रम फिँजाइएको तर एमाले ध्वस्त हुन नदिइने उल्लेख गर्दै एमालेको आन्तरिक एकतामा कुनै सङ्कट नरहेको प्रस्ट पार्नुभयो ।

उहाँले जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीकै सन्दर्भमा एमालेभित्र अप्ठ्यारो पर्छ भनेर प्रचार गर्नेहरूमाथि कटाक्ष गर्नुभयो । उहाँले भन्नुभयो, “हुन त कतिपयले यस्तो सपना देखेर बसेका होलान । कुनै बम, बन्दुक, बारुद गोला पड्किनेवाला छैन । आस नगरे हुन्छ । एमाले एक छ, एक रहन्छ, एकजुट भएर अघि बढ्छ । हामी भ्रममा पर्नु हुँदैन ।”

प्रधानमन्त्री ओलीले एमाले रक्तबीजझैँ भएको बताउँदै एउटामाथि हमला गरे अरु धेरै राम्रा मान्छे एमालेमा जन्मिने दाबी गर्नुभयो ।

उहाँले एमालेले जबज जपेर मात्रै नबसेको प्रस्ट पार्दै कार्यान्वयन गरिरहेको उल्लेख गर्नुभयो । साथै उहाँले पार्टीले दिएको सुविधा लिएर पार्टी फुटाउने स्वार्थीहरूले लाज मान्नुपर्ने बताउनुभयो । उहाँले एमालेसँग सबै गलत प्रवृत्तिलाई पहिचान गर्ने तिनलाई पराजित गर्ने र सही विचार अघि बढाउने सामथ्र्य रहेको बताउनुभयो ।

कुनै महत्वाकाङ्क्षा छैन

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एकदशकपछि सक्रिय राजनीतिमा फर्किनुभएको छ । उहाँले एमालेको सङ्गठित सदस्यता नवीकरण गर्दै सक्रिय राजनीतिमा फर्किएको घोषणा सोही समारोहमा गर्नुभयो । उहाँले एमालेमै रहेर जीवनभर देश र जनतामा समर्पित हुँदै पार्टीको काम गर्ने अठोट व्यक्त गर्नुभयो ।

उहाँले आफ्नो कुनै विशिष्ट महत्वाकाङ्क्षा नरहेको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेकी छु । म एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएकी छु । र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्वाकाङ्क्षा छैन ।”

पूर्वराष्ट्रपति भण्डारीले जननेता मदन भण्डारीको अवसानबाट पार्टी र आफूसमेत सिङ्गो राष्ट्र शोकमा डुबेको अवस्थामा पार्टीले काठमाडौँको संसदीय उपनिर्वाचनमा प्रतिपस्पर्धी बनाएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “यस राजनीतिक घटनाले मेरो पहिलो जन्म आमाबुबाले दिनुभएको र दोस्रो जन्म विद्या भण्डारीको रूपमा काठमाडौँका जनताले दिए भन्ने अनुभूति त्यसबेलै मैले गरेको थिएँ । जनताको माया र विश्वास तथा पार्टीको भरोसाले गर्दा मैले निर्वाचन समेत जितेँ । जनताको छोरीको रूपमा मैले सोही बेलादेखि नै आफ्नो सम्पूर्ण जीवन राष्ट्रलाई दिनेछु भन्ने संकल्प गरिसकेको थिएँ ।”

उहाँले देशभक्त, राष्ट्रवादी र प्रगतिशील पार्टी भएकाले नै विद्यालयतहको विद्यार्थी हुँदादेखि नै पहिलेको माले र अहिलेको नेकपा (एमाले) मा आबद्ध भएर सामाजिक–आर्थिक रूपान्तरण अभियानमा आबद्ध भएको प्रस्ट पार्नुभयो । उहाँले त्यसबेलै पार्टीमा आबद्ध भएर जीवनभर राष्ट्र र जनताको सेवा गर्ने अठोट गरिसकेको प्रस्ट पार्दै देश र जनताको हित नै ध्येय र लक्ष्य रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जननेताले भन्ने गर्नुहुन्थ्यो– जनता भनेका भगवान् हुन् । साथै उहाँले भन्नुभएको थियो– राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन । आज तपाईंहरूका बिचमा हुँदा मदनका यी भनाइहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु । व्यवहारका कसीबाट खारिएका यी भनाइलाई आदर्श मानेर म समर्पित बनिरहनेछु । राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा मलाई राजनीतिक उतारचढावले धेरै कुरा सिकाएका छन्, बुझाएका छन् र थप परिपक्व समेत बनाएका छन् ।”

‘सल्लाह गरेर जिम्मेवारी’

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीभित्र जिम्मेवारी दिने सन्दर्भमा सल्लाह हुने जानकारी दिनुभयो ।

उहाँले पूर्वराष्ट्रपति भण्डारी दललाई नै प्रतिनिधित्व गरेर राष्ट्रपतिमा जानुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्वराष्ट्रपति राजनीतिक मान्छे हो, राजनीतिमा रुचि हुन्छ । कुनै अनौठो कुरा होइन । अचम्मित हुनुपर्दैन ।”गोरखापत्र दैनिकमा खबर छ ।

२०८२ असार १५, आईतवार प्रकाशित 0 Minutes 11 Views

ताजा समाचार